
विराटनगर : माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको छ ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा आगामी जेठ २ र ३ गते विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा मेला सञ्चालन हुन लागेको हो
‘सीप आजको आवश्यकता, भविष्यको सुनिश्चितता’ भन्ने मूल नारासहित आयोजना हुने मेलाले विशेषगरी एसइइ दिएका विद्यार्थीहरूलाई अध्ययन, करिअर छनोट तथा सीपमूलक शिक्षाबारे व्यवहारिक जानकारी दिने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
मेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहअन्तर्गतका विद्यालयबाट शिक्षक, विद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । विद्यार्थीहरूले प्राविधिक तथा व्यावसायिक शिक्षाका विभिन्न क्षेत्रबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नुका साथै आफ्नो रुचिअनुसार विषय छनोट गर्न सहज हुने विश्वास गरिएको छ ।
मेलाका मुख्य आकर्षणअन्तर्गत स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि, हस्पिटालिटीलगायत विषयमा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक कार्य, परियोजना तथा नवीन प्रविधिको प्रत्यक्ष प्रदर्शन गर्नेछन् । यसबाट एसइइ दिएका विद्यार्थीहरूले सीप सिकेर रोजगारी तथा स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने विषय व्यवहारिक रूपमा बुझ्न सक्ने आयोजकको भनाइ छ ।
यस्तै, मेलामा ४० वटा शैक्षिक स्टल रहनेछन् । सीटीइभीटी अन्तर्गतका आङ्गिक शिक्षालय, टेक्स विद्यालय, साझेदारी शिक्षालय, सम्बन्धन प्राप्त निजी शिक्षण संस्था तथा विभिन्न तालिम प्रदायक निकायहरूले आफ्ना कार्यक्रम, अध्ययन अवसर तथा प्रयोगात्मक गतिविधि प्रस्तुत गर्नेछन् ।
विद्यार्थीहरूलाई करिअर काउन्सेलिङ तथा मार्गदर्शनसमेत प्रदान गरिनेछ । विशेषज्ञ तथा प्रशिक्षकहरूले कुन विषय अध्ययन गर्दा भविष्यमा कस्ता अवसर प्राप्त हुन्छन्, कुन क्षेत्रमा रोजगारीको सम्भावना बढी छ तथा स्वदेशविदेशमा उपलब्ध अवसरबारे जानकारी दिनेछन् ।
आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीका लागि उपलब्ध छात्रवृत्ति, निःशुल्क अध्ययन अवसर, भर्ना प्रक्रिया तथा आवश्यक योग्यताबारे समेत जानकारी दिइने आयोजकले जनाएको छ । साथै, सीपमूलक शिक्षा अध्ययनपछि रोजगारी तथा उद्यमशीलताका अवसरबारे पनि जानकारी गराइनेछ ।
मेलामा विद्यार्थीहरूले विभिन्न क्षेत्रमा अध्ययनरत विद्यार्थी, प्रशिक्षक तथा उद्योग क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउने व्यवस्था गरिएको छ ।
सीटीइभीटी कोशी प्रदेश कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत शिशिर सुब्बाका अनुसार मेलामा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतो, मन्त्रालयका सचिव, रोजगारदाता संस्था, स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
‘आजको प्रतिस्पर्धात्मक समयमा केवल प्रमाणपत्र मात्र नभई व्यवहारिक सीप अत्यन्त आवश्यक भएकाले विद्यार्थीहरूलाई समयमै सही करिअर मार्गदर्शन प्रदान गर्न यो मेला महत्वपूर्ण अवसर बन्नेछ,’ सुब्बाले बताए ।
एसइइ उत्तीर्ण गरेका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्दै उनीहरूलाई श्रम बजारको मागअनुसार समयसापेक्ष सीप सिकाई आत्मनिर्भर बनाउन तथा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममार्फत युवालाई सीपयुक्त बनाउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलाको औपचारिक उद्घाटन जेठ २ गते बिहान ९ बजे हुने छ । दुई दिनसम्म सञ्चालन हुने मेलामा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रका व्यक्तित्व, कर्मचारी तथा जनप्रतिनिधिसहित हजारौँको सहभागिता रहने अपेक्षा गरिएको छ ।



















































