माङसेबुङ-३ स्थित चतुरे आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा नवनिर्मित चतुरे आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले मङ्गलबार आयोजित कार्यक्रममा स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।

कोशी प्रदेश सररको आर्थिक वर्ष २०८१/०८२ को ३० लाख र उपभोक्ताको तीन लाख ३३ हजार ३०२ रुपैयाँको लागत साझेदारी गरी ३३ लाख ३३ हजार ३०२ रुपैयाँको लागतमा भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए । नवनिर्मित भवन एकतले पक्की संरचनाको रहेको छ, जसमा ४ वटा कोठा रहेका छन् ।

कार्यक्रममा अध्यक्ष राईसहित उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत दिलसेर राई, वडा अध्यक्ष लक्षुमन राई जनम, स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार राई, इन्जिनियर (अधिकृत छैठौं) युवराज दाहालसहित वडाबासी सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हेमन्त राईले भवन निर्माणपछि सेवा प्रवाहमा कार्यालय र सेवाग्राही दुवैलाई सहजता मिल्ने अपेक्षा गरिएको बताए । उनले सेवाग्राहीको माग र अपेक्षा अनुसार काम गर्न आफूहरु सधैँ तत्पर रहेको बताए ।

स्वास्थ्य केन्द्र सञ्चालनका लागि हाल गाउँपालिकाको स्वास्थ्य शाखाबाट २ जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ भने थप जनशक्ति व्यवस्थापनका लागि दरखास्त आह्वान गरिएको छ । पूर्ण सञ्चालनमा आएपछि स्वास्थ्य केन्द्रमा ५ जना कर्मचारी रहने योजना रहेको गाउँपालिकाले जनाएको छ । केन्द्रमा चौथो तहका अहेवको नेतृत्वमा सेवा प्रवाह हुने छ भने अन्य कर्मचारीमा अनमी र सहायक स्वास्थ्यकर्मी रहने बताइएको छ ।

स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि माङसेबुङ-३ क्षेत्रका स्थानीय बासिन्दाले आधारभूत स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास लिइएको छ । गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले उक्त स्वास्थ्य केन्द्र स्थापना गरेको जनाएको छ ।

यो सँगै सो वडामा ३ वटा स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । माङसेबुङको एकै वडामा ३ वटा स्वास्थ्य संस्था सञ्चालन भएको एकमात्र वडा ३ नं. वडा बनेको छ ।

माङसेबुङ गाउँपालिकामा पाँचवटा स्वास्थ्य चौकी, दुईवटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा सामुदायिक स्वास्थ्य इकाइमार्फत स्वास्थ्य सेवा प्रवाह भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार