
इलाम : सशस्त्र प्रहरी बल नेपाल नं. १ गण हेडक्वाटर श्रीअन्तु इलामको आयोजनामा जिल्लाको माङ्सेबुङमा १८ दिने विपद् स्वयंसेवक आधारभूत तालिम सुरु भएको छ । माङसेबुङ गाउँपालिका-६ स्थित बाँझो स्वास्थ्य चौकीको सभाहलमा आइतबार तालिम सुरु भएको हो । तालिमको औपचारिक उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरे ।
प्राकृतिक विपद्का समयमा समुदायस्तरमै तत्काल उद्धार, राहत तथा प्रारम्भिक व्यवस्थापनमा सक्षम जनशक्ति तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजक सशस्त्र प्रहरी बल नेपाल नं. १ गण हेडक्वाटर श्रीअन्तु इलामका प्रमुख एसपी केशवराज प्याकुरेलले जानकारी दिए । तालिममा माङसेबुङ गाउँपालिका-६ का स्थानीय युवायुवती तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहले समुदायसँग सहकार्य गर्दै पूर्वतयारीलाई प्राथमिकता दिएको बताए । उनले विपद् आउनुभन्दा अगाडि तयारी गर्नु नै सबैभन्दा प्रभावकारी उपाय रहेको उल्लेख गर्दै स्थानीय युवालाई तालिममार्फत दक्ष बनाउन आवश्यक रहेको बताए । अध्यक्ष राईले विपद्का बेला स्थानीय स्वयंसेवक नै पहिलो उद्धारकर्ता बन्ने भएकाले यस्ता कार्यक्रमलाई गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल ले विपद् व्यवस्थापनमा स्थानीय स्वयंसेवकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए । उनले समुदायमा आधारित विपद् पूर्वतयारीले मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने धारणा राखे ।
नेपाल प्रहरी इलामका प्रमुख कुलदिप चन्द ले विपद्का घटनामा सुरक्षा निकायसँगै प्रशिक्षित स्वयंसेवकको सहकार्य प्रभावकारी हुने उल्लेख गरे । उनले विपद्का बेला तत्काल प्रतिक्रिया दिन सक्ने जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ गण हेडक्वाटर श्रीअन्तु इलामका प्रमुख प्याकुरेलले तालिमले समुदायमा विपद् सचेतना अभिवृद्धि गर्नुका साथै उद्धार तथा प्राथमिक उपचार सम्बन्धी सीप विकास गर्ने विश्वास व्यक्त गरे ।
तालिम अवधिभर विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, आगलागी नियन्त्रण, सुरक्षित उद्धार अभ्यास लगायत विषयमा प्रशिक्षण दिइने जनाइएको छ । स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वयलाई थप प्रभावकारी बनाउन तालिम उपयोगी हुने अपेक्षा गरिएको छ ।




















































