
नेपालले भर्खरै सम्पन्न गरेको प्रतिनिधि सभाको निर्वाचन सामान्य राजनीतिक प्रक्रियाभन्दा निकै फरक परिवेशमा सम्पन्न भएको निर्वाचनका रूपमा इतिहासमा अंकित हुने देखिन्छ । पछिल्ला वर्षहरूमा विकसित भएको पुस्तान्तरणको चेतना, विशेषतः जेनजी पुस्ताले उठाएको वैचारिक बहस, सामाजिक असन्तुष्टि र व्यवस्थाप्रतिको नयाँ प्रश्नहरूले देशलाई नयाँ राजनीतिक मोडमा पुर्याएको थियो । सोही जनदबाब र आन्दोलनको पृष्ठभूमिमा तत्कालीन सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारले राजीनामा दिएपछि नेपालको इतिहासमै पहिलो पटक सम्माननीय शुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भयो ।
उक्त सरकारको प्रमुख उद्देश्य देशलाई संवैधानिक तथा लोकतान्त्रिक निकासतर्फ अग्रसर गराउनु थियो । त्यसअनुसार सरकारले फाल्गुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्यो । निर्वाचन शान्तिपूर्ण र सफल रूपमा सम्पन्न हुनु आफैंमा लोकतान्त्रिक अभ्यासको सकारात्मक संकेत थियो । यस निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल नयाँ राजनीतिक शक्तिका रूपमा उदायो र प्रतिनिधि सभामा झण्डै बहुमत नजिकको जनमत प्राप्त गर्न सफल भयो ।
राजनीतिक परिवर्तनसँगै राज्यका विभिन्न निकायहरूमा संरचनागत पुनर्संयोजनको प्रक्रिया पनि अघि बढ्यो । सोही क्रममा सरकारले विभिन्न प्रतिष्ठान तथा संस्थाहरूमा रहेका नियुक्तिहरू अध्यादेशमार्फत खारेज गर्ने निर्णय गर्यो । यस निर्णयको प्रभाव नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा समेत परेको देखिन्छ । हाल प्रतिष्ठान पदाधिकारीविहीन अवस्थामा रहेको छ, जसले संस्थाको प्रशासनिक, प्राज्ञिक तथा कार्यक्रमगत गतिविधिमा अन्योल सिर्जना गरेको अनुभूति कला क्षेत्रभित्र व्यापक रूपमा सुनिन थालेको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान केवल एउटा सरकारी संस्था मात्र होइन, यो नेपाली कला चेतना, सिर्जनात्मक अभिव्यक्ति र सांस्कृतिक इतिहासको संस्थागत प्रतिनिधित्व गर्ने साझा मञ्च हो । नेपालको चित्रकला, मूर्तिकला, वास्तुकला, लोककला, हस्तकला, समकालीन दृश्य–कला लगायत सम्पूर्ण ललितकला विधाको संरक्षण, प्रवर्द्धन, अभिलेखीकरण तथा अन्तर्राष्ट्रिय विस्तार गर्ने उद्देश्यले स्थापित यस प्रतिष्ठानले दशकौँदेखि कलाकार र राज्यबीच सेतुको भूमिका निर्वाह गर्दै आएको छ ।
प्रतिष्ठानले नियमित रूपमा राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्दै आएको इतिहास नेपाली कला आन्दोलनकै एउटा महत्वपूर्ण अध्याय हो । यस प्रदर्शनीले देशभरका कलाकारहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने साझा राष्ट्रिय मञ्च उपलब्ध गराउँदै आएको छ । युवा कलाकारलाई पहिचान दिने, परम्परागत र समकालीन कलाबीच संवाद गराउने तथा नेपाली कला अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित गराउने काममा यसको भूमिका उल्लेखनीय रहँदै आएको छ ।

विशेषतः राष्ट्रिय ललितकला प्रदर्शनी केवल एउटा कार्यक्रम मात्र होइन, कलाकारहरूको वार्षिक सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै आएको छ । यसले कला क्षेत्रभित्र सिर्जनात्मक प्रतिस्पर्धा, विमर्श, सम्मान र भविष्यप्रतिको आशा जगाउने कार्य गर्दै आएको छ । तर यस वर्ष भने उक्त प्रदर्शनी अन्योलमा परेको चर्चा कला वृत्तमा व्यापक रूपमा भइरहेको देखिन्छ ।
हाल प्रतिष्ठानभित्र देखिएको अन्योलका केही मुख्य कारणहरू निम्न रूपमा देखिएका छन् :
पहिलो, प्रतिष्ठानको भावी संरचना, नेतृत्व तथा कार्यदिशाका विषयमा सरकारले औपचारिक धारणा सार्वजनिक नगर्दा कर्मचारी तथा कलाकार समुदाय दुवै अन्योलमा रहेका छन् ।
दोस्रो, सरकारले आंशिक तलब तथा संरचनागत पुनर्समायोजनको अवधारणा अघि सारेको सन्दर्भमा प्रतिष्ठानका कर्मचारीहरूको तलब व्यवस्थापन तथा लेखा प्रणालीमा व्यावहारिक समस्या देखिन थालेको छ ।
तेस्रो, पदाधिकारीविहीन अवस्थाले संस्थागत नेतृत्वको अभाव सिर्जना गरेको छ । नयाँ योजना निर्माण, कार्यक्रम सञ्चालन तथा नीति–निर्णयका विषयमा कर्मचारीहरू अभिभावकविहीन महसुस गरिरहेका छन् ।
चौथो, राष्ट्रिय ललितकला प्रदर्शनीजस्तो दीर्घकालीन महत्वको कार्यक्रमबारे स्पष्ट निर्णय नआउँदा कलाकार समुदायमा निराशा र प्रतीक्षाको मनोविज्ञान विकसित हुँदै गएको देखिन्छ ।
यी परिस्थितिहरूले प्रतिष्ठानभित्र कार्यरत कर्मचारीहरूको मनोबलमा प्रत्यक्ष असर पारेको अनुभूति गर्न सकिन्छ । कला सिर्जना स्वतन्त्र चेतनासँग सम्बन्धित विषय भए पनि त्यसको संस्थागत वातावरण स्थिर, विश्वसनीय र प्रेरणामूलक हुनु आवश्यक हुन्छ ।
यद्यपि, परिवर्तनको प्रत्येक चरण आफैंमा संक्रमणकालीन हुन्छ । नयाँ सरकारले आफ्नो प्राथमिकता, नीतिगत दिशा र संस्थागत संरचनाका विषयमा क्रमशः स्पष्टता ल्याउने विश्वास गर्न सकिन्छ । विशेषतः कला, साहित्य र संस्कृतिजस्ता संवेदनशील क्षेत्रहरूमा राज्यले दीर्घकालीन दृष्टिकोणसहित निर्णय लिनु आवश्यक हुन्छ, किनकि कला कुनै सरकारको मात्र सम्पत्ति होइन; यो राष्ट्रको चेतना, सभ्यता र भविष्यसँग जोडिएको विषय हो ।
यस सन्दर्भमा सम्बन्धित निकायहरूले सकेसम्म छिटो आवश्यक निर्णय तथा निर्देशन जारी गरी कलाकार समुदाय, कर्मचारी र सांस्कृतिक क्षेत्रको अन्योल अन्त्य गर्नेछन् भन्ने अपेक्षा राखिएको छ । साथै सम्पूर्ण कलाकार, स्रष्टा तथा कला–प्रेमी महानुभावहरूलाई धैर्यतापूर्वक प्रतीक्षा गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछु ।
अन्ततः, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान कुनै व्यक्ति वा समूहको संस्था होइन । यो सम्पूर्ण कलाकारहरूको साझा घर हो, जहाँ सिर्जना बोल्छ, विचार रंगिन्छन् र राष्ट्रको सांस्कृतिक आत्मा जीवित रहन्छ ।
















































