
हाल नेपाली राजनीतिक बहसमा बारम्बार दोहोरिने एउटा भनाइ छ, ‘नेपाली कम्युनिष्ट पार्टी पनि पुरानै हो ।’ सतहमा सामान्य देखिने यो भनाइभित्र गहिरो भ्रम लुकेको छ । राजनीतिमा ‘पुरानो’ र ‘नयाँ’ को मूल्यांकन नाम, झण्डा वा इतिहासको मितिले होइन, विचारको ताजगी, कार्यक्रमको समसामयिकता र जनतासँगको सम्बन्धले गरिनुपर्छ । यही बिन्दुमा नेपाली कम्युनिष्ट पार्टीप्रति गरिने आलोचना तथ्यभन्दा बढी पूर्वाग्रहमा आधारित देखिन्छ ।
यदि कुनै राजनीतिक विचार पुरानै भएकै कारण असान्दर्भिक ठहरिने हो भने लोकतन्त्र, गणतन्त्र र समाजवादजस्ता अवधारणाहरू पनि आजको युगका लागि अमान्य ठहरिनुपर्ने हुन्छ । तर यथार्थ के हो भने राजनीतिक विचारहरू मर्दैनन्, ती समय र परिस्थितिअनुसार रूपान्तरण हुन्छन् । नेपाली कम्युनिष्ट पार्टी यही रूपान्तरणको परिणाम हो । यो पार्टी विगतको स्मृतिमा बाँचेको संगठन होइन, आजको समाजले जन्माएको राजनीतिक विकल्प हो ।
आजको नेपाल गम्भीर सामाजिक, आर्थिक र राजनीतिक सङ्कटको चरणमा उभिएको छ । शिक्षित तर बेरोजगार युवा, सीप र क्षमता हुँदाहुँदै अवसरबाट वञ्चित पुस्ता, वैदेशिक रोजगारीमा जीवन साट्न बाध्य लाखौँ श्रमिक, उत्पादनभन्दा उपभोगमा निर्भर अर्थतन्त्र, दलाल पुँजीवाद र नीतिगत भ्रष्टाचारले कमजोर बनेको राज्य संरचना-यी सबै यथार्थले एउटा मौलिक प्रश्न उठाएको छ : के यही प्रणाली, यही राजनीतिक संस्कार र यही शैलीले देशको भविष्य सुरक्षित गर्न सक्छ ? नेपाली कम्युनिष्ट पार्टी यही प्रश्नको संगठित, वैचारिक र राजनीतिक उत्तरका रूपमा अघि आएको हो ।
यो पार्टी गठन हुनुको अर्थ विगतका कमजोरी दोहोर्याउनु होइन, बरु ती कमजोरीबाट पाठ सिकेर नयाँ राजनीतिक अभ्यास सुरु गर्नु हो । व्यक्तिवाद, शक्ति केन्द्रीकरण, अपारदर्शी निर्णय प्रक्रिया र नारा धेरै तर परिणाम थोरै हुने संस्कृतिको अन्त्य गर्दै संस्थागत नेतृत्व, नीतिगत स्पष्टता, जवाफदेहिता र आत्मसमालोचनाको संस्कार विकास गर्नु यसको मूल उद्देश्य हो । त्यसैले नेपाली कम्युनिष्ट पार्टीलाई पुरानो संरचनाको निरन्तरता होइन, राजनीतिक सुधारको सचेत प्रयासका रूपमा बुझ्नुपर्छ ।
नेपाली कम्युनिष्ट पार्टीसँग आजको परिवर्तन प्रत्यक्ष रूपमा जोडिएको छ। संविधानले स्थापित गरेका धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायका मूल्यहरूलाई व्यवहारमा उतार्ने मुख्य जिम्मेवारी आज यही पार्टीको काँधमा आएको छ । महिलाका अधिकार, दलितका अधिकार, पिछडिएका वर्ग र समुदायको समान सहभागिता र अवसर सुनिश्चित गर्नु केवल संवैधानिक घोषणा मात्र नभई व्यवहारिक कार्यदिशा बन्नुपर्छ भन्ने मान्यताका साथ नेपाली कम्युनिस्ट पार्टी अघि बढिरहेको छ । यी विषयहरूलाई संस्थागत गर्दै सामाजिक, राजनीतिक र आर्थिक संरचनामा वास्तविक परिवर्तन ल्याउने दायित्व आजको सन्दर्भमा यस पार्टीले आत्मसात् गरेको छ । समाजवादको यात्रामा अघि बढ्ने ऐतिहासिक जिम्मेवारी पनि आज नेपाली कम्युनिष्ट पार्टीको काँधमा छ, र यस जिम्मेवारीबाट पन्छिनु होइन, दृढतापूर्वक वहन गर्नु आजको आवश्यकता हो ।
आजको नेपाली राजनीतिमा सबैभन्दा ठूलो तर सबैभन्दा उपेक्षित शक्ति भनेकै युवा पुस्ता हो । यो पुस्ता भावनात्मक भाषण, खोक्रा आश्वासन र पुराना अनुहारको पुनरावृत्तिबाट थाकिसकेको छ । यसले अब विचार, नीति, योजना र परिणाम खोजिरहेको छ। नेपाली कम्युनिस्ट पार्टीमा युवाहरू केवल समर्थक वा कार्यकर्ता मात्र होइनन्, नीति बहस गर्ने, प्रविधिको प्रयोग गर्ने, उद्यमशीलता, उत्पादन र स्थानीय अर्थतन्त्रबारे सोच्ने सक्रिय भूमिकामा छन् । यही कारण लाखौँ युवाको भावना, चाहना र आकांक्षा यस पार्टीसँग जोडिन पुगेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले समाजवादलाई केवल नारा र भाषणको विषय बनाएको छैन । यसले समाजवादलाई व्यवहारिक कार्यक्रमका रूपमा अघि सारेको छ-कृषिमा आत्मनिर्भरता, श्रमको सम्मान, उत्पादनमा राज्यको सक्रिय भूमिका, शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गर्ने नीति, क्षेत्रीय तथा सामाजिक असमानताको अन्त्य गर्ने स्पष्ट दृष्टिकोण । यही दृष्टिकोणलाई व्यवहारमा उतार्ने जिम्मेवारी आज नेपाली कम्युनिस्ट पार्टीको काँधमा छ, र यसबाट पन्छिनु होइन, दृढतापूर्वक अगाडि बढ्नु आवश्यक छ ।
आगामी निर्वाचन यही अर्थमा साधारण राजनीतिक प्रक्रिया मात्र होइन । यो पुरानै शैलीको सत्ता राजनीति र नयाँ सोचमा आधारित वैचारिक राजनीतिबीचको छनोट हो । भाषणमुखी दल र नीति आधारित राजनीतिक शक्तिबीचको निर्णय हो । नेपाली कम्युनिष्ट पार्टी यही निर्वाचनमार्फत आफू पुरानो होइन, समयको मागअनुसार अघि बढेको जिम्मेवार, समावेशी र जनमुखी राजनीतिक शक्ति हो भन्ने कुरा जनतासमक्ष प्रमाणित गर्न मैदानमा उत्रिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीलाई ‘पुरानै’ भन्नु सजिलो छ, तर बुझ्न गहिरो अध्ययन आवश्यक पर्छ । यो पार्टी इतिहासबाट सिकेको छ, वर्तमानलाई चिनेको छ र भविष्यको स्पष्ट खाका कोर्दै अघि बढिरहेको छ। त्यसैले प्रश्न पार्टी कति पुरानो हो भन्ने होइन, प्रश्न राजनीति कति इमानदार, कति जिम्मेवार र कति परिवर्तनमुखी छ भन्ने हो । भ्रमभन्दा माथि उठेर सत्यलाई हेर्ने साहस आजको नेपाली राजनीतिक चेतनाको आवश्यकता हो । अहिले जनसमुदायहरूले कसैको भ्रम, अफवाह वा नियोजित दुष्प्रचारमा नपरी विवेकपूर्ण निर्णय लिन आवश्यक छ । परिवर्तनको स्पष्ट दिशा, समावेशी लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समाजवादतर्फको यात्रालाई व्यवहारमा उतार्ने सामर्थ्य आज नेपाली कम्युनिष्ट पार्टीसँग जोडिएको छ । त्यसैले देशको भविष्य सुरक्षित र जनमुखी बनाउन नेपाली कम्युनिस्ट पार्टीलाई बहुमत दिलाउनु आजको ऐतिहासिक आवश्यकता बनेको छ ।



















































