सम्पादक योङहाङद्वारा लिखित पुस्तक ‘माङसेबुङका जनप्रतिनिधिहरुको चिनारी’ विमोचन

  नयाँ बुलन्द
21 Shares

माङसेबुङ : इलामका पत्रकार नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘माङसेबुङका जनप्रतिनिधिहरूको चिनारी’ विमोचन  भएको छ । इलामको माङसेबुङ गाउँपालिका क्षेत्रको राजनीतिक इतिहास, लोकतान्त्रिक अभ्यास र विभिन्न कालखण्डका जनप्रतिनिधिहरूको योगदान समेटिएको पुस्तक मङ्गबार एक समारोहबीच विमोचन भएको हो ।

माङसेबुङ गाउँपालिकामा आयोजित लिम्बू भाषा कामकाजको भाषा घोषणा कार्यक्रमको अवसरमा प्रदेश प्रमुख परशुराम खापुङ, जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईलगायतले संयुक्त रुपमा विमोचन गरे ।

माङसेबुङ गाउँपालिकाले प्रकाशन गरेको सो पुस्तकमा वि.सं. २०१५ सालदेखि २०७९ सालसम्म भएका विभिन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको जीवनी एवम् चिनारी समावेश गरिएको छ । १४८ पृष्ठको पुस्तकमा ५४४ जना जनप्रतिनिधिहरुको जीवनी एवम् चिनारी समावेश गरिएको लेखक योङहाङले जानकारी दिए ।

नेपालमा निर्वाचनको इतिहास धेरै पुरानो नभए पनि माङसेबुङ क्षेत्रबाट वि.सं. २०१९ सालदेखि मात्र जनप्रतिनिधि निर्वाचित भएको तथ्य फेला परेकाले सोही समयदेखि हालसम्मका निर्वाचित प्रतिनिधिहरूको विवरण पुस्तकमा समेटिएको लेखक योङहाङले बताए । पुस्तकमा वि.सं. २०१९, २०२८, २०३४, २०३९, २०४३, २०४९, २०५४/०५५, २०७४ र २०७९ सालमा भएका विभिन्न निर्वाचनबाट माङसेबङ क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूलाई समावेश गरिएको लेखक योङहाङले जानकारी दिए । पुस्तकले माङसेबुङको राजनीतिक इतिहास, नेतृत्व विकास, स्थानीय शासन प्रणाली र जनसहभागिताको विकासक्रमलाई चित्रण गरेको लेखक तथा सम्पादक योङहाङको भनाइ छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पुस्तकले स्थानीय इतिहास संरक्षणसँगै भावी पुस्तालाई लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासबारे जानकारी दिने विश्वास व्यक्त गरेका छन् । ‘स्थानीय तहको इतिहास, जनप्रतिनिधिहरूको भूमिका र राजनीतिक यात्रालाई दस्तावेजीकरण गर्नु महत्वपूर्ण काम हो,’ अध्यक्षले राईले भने, ‘यसले माङसेबुङको राजनीतिक तथा सामाजिक इतिहासलाई संस्थागत गर्न मद्दत पुग्नेछ ।’

गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले यस्ता दस्तावेजले स्थानीय शासन व्यवस्थाको विकासक्रम बुझ्न सहज हुने बताए । ‘विगतदेखि वर्तमानसम्म जनप्रतिनिधिहरूले निर्वाह गरेको भूमिकालाई पुस्तकमार्फत एकै ठाउँमा ल्याइनु सकारात्मक प्रयास हो,’ उनले भने, ‘यसले नयाँ पुस्तालाई नेतृत्व र जनउत्तरदायित्वबारे प्रेरणा दिनेछ ।’

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत दिलशेस राईले पुस्तक केवल जीवनी संग्रह मात्र नभई स्थानीय इतिहासको अभिलेख भएको बताए । ‘स्थानीय सरकारसँग सम्बन्धित इतिहास, निर्णय प्रक्रिया र जनप्रतिनिधिको योगदानलाई दस्तावेजीकरण गर्नु संस्थागत स्मृतिका हिसाबले पनि महत्वपूर्ण विषय हो,’ उनले भने, ‘यस्ता प्रकाशनले स्थानीय तहको अध्ययन अनुसन्धानमा दीर्घकालीन सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’

लेखक योङहाङले सो पुस्तक भविष्यका अनुसन्धानकर्ता, विद्यार्थी, योजनाकार तथा समाजप्रेमीहरूका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार