रोङ गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने

  नयाँ बुलन्द
42 Shares

इलाम : इलामको रोङ गाउँपालिकाले सेवाप्रवाहलाई प्रभावकारी बनाउन आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को अन्त्यतिर कार्यालयहरूमा कामको चाप बढ्दै गएको तथा सातामा दुई दिन सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई समयमा गुणस्तरीय सेवा दिन कठिनाइ भएको भन्दै गाउँपालिकाले नयाँ समय तालिका लागू गरेको हो ।

गाउँ कार्यपालिकाको २०८३ असार ४ गते बसेको बैठकले असार मसान्तसम्मका लागि कार्यालय सञ्चालन हुने बार र समय परिवर्तन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले जानकारी दिए ।

गाउँपालिकाद्वारा जारी सूचनाअनुसार अब आइतबारदेखि शुक्रबारसम्म कार्यालय सञ्चालन हुनेछ । आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म तथा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गरिनेछ । सार्वजनिक बिदाका दिन भने कार्यालय बन्द रहने जनाइएको छ ।

गाउँपालिकाले सेवाग्राहीलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले निर्णय गरिएको अध्यक्ष मणीकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए । यो निर्णय रोङ गाउँपालिकाभित्रका विद्यालय बाहेक अन्य सबै सरकारी कार्यालयमा लागू हुने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार