
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-६ हस्टे शनिबार किरात संस्कृति, मौलिकता र सामूहिक उत्साहले भरिएको सांस्कृतिक केन्द्रका रूपमा रुपान्तरण भयो । किरातीहरुको महान् चाड उभौलीको अवसरमा आयोजित साकेला सिली प्रदर्शनले गाउँ नै सांस्कृतिक रंगमञ्च बनेको थियो । ढोल-झ्याम्टाको ताल र सिलीका लयबद्ध पाइला सँगै हस्टे क्षेत्र दिनभर गुञ्जायमान बनेको थियो ।
कार्यक्रममा सहभागी टोलीहरूले प्रकृति, खेतीपाती, पशुपन्छी र मानव जीवनसँग सम्बन्धित परम्परागत सिलीहरू प्रस्तुत गरेका थिए । गोलाकार घेरामा प्रस्तुत गरिने सिलीले सामूहिकता, प्रकृतिप्रतिको सम्मान र पुर्खाको जीवनशैलीलाई जीवन्त बनाएको दर्शकहरूको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले साकेला सिली किरात समुदायको अमूल्य सांस्कृतिक सम्पत्ति भएको बताए । ‘संस्कृति भनेको समुदायको पहिचान हो,’ उनले भने, ‘साकेला सिलीले हाम्रो इतिहास, सभ्यता र सामूहिक अस्तित्वलाई जीवित राख्ने काम गरेको छ ।’ उनले यस्ता सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँपालिकाले संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेको बताए । ‘साकेला सिली हाम्रो पहिचानसँग जोडिएको जीवन्त संस्कृति हो,’ उनले भने, ‘माङसेबुङ गाउँपालिकाले यस्ता मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर साथ दिनेछ ।’
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विविध संस्कृतिले नै नेपाललाई समृद्ध बनाएको उल्लेख गर्दै मौलिक संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको बताए । ‘सांस्कृतिक सम्पदाको संरक्षणले सामाजिक सद्भाव र एकता मजबुत हुन्छ,’ उनले भने, ‘यस्ता कार्यक्रमले समाजलाई सकारात्मक ऊर्जा दिन्छन् ।’
गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङले साकेला सिली प्रदर्शनले समुदायबीच आपसी सम्बन्ध र सामाजिक एकता बलियो बनाएको बताए । ‘संस्कृति पुस्तान्तरणको माध्यम पनि हो,’ उनले भने, ‘युवापुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न यस्ता कार्यक्रम आवश्यक छन् ।’
आयोजक साकेला सिली व्यवस्थापन समितिका सचिव ध्रुव राईले पूर्वका तीन जिल्लाबाट आएका टोलीहरूको सहभागिताले कार्यक्रमलाई भव्य बनाएको बताए । ‘विभिन्न ठाउँबाट आएका कलाकारहरूले यहाँको वातावरणलाई साँच्चिकै सांस्कृतिक उत्सवमा बदलिदिनुभयो,’ उनले भने, ‘हाम्रो उद्देश्य साकेला संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो ।’
कार्यक्रम हेर्न स्थानीयवासी, संस्कृतिकर्मी तथा विभिन्न स्थानबाट आएका दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सिलीको तालमा दर्शक पनि झुमिरहेका देखिन्थे भने वृद्धवृद्धाहरूले पुर्खाको संस्कृति संरक्षण हुँदै गएको देखेर खुसी व्यक्त गरेका थिए ।
यस वर्षको साकेला सिली प्रदर्शनले केवल मनोरञ्जन मात्र दिएन, यसले मौलिक संस्कृति संरक्षणको सन्देश पनि प्रवाह गरेको छ । आधुनिकतासँगै हराउँदै गइरहेका परम्परागत संस्कारलाई पुनर्जीवित गर्न यस्ता सांस्कृतिक अभियान महत्वपूर्ण बन्न थालेका छन् ।
कार्यक्रमका लागि माङसेबुङ गाउँपालिकाले पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । गाउँपालिका अध्यक्ष राईले स्थानीय कला, संस्कृति र मौलिक पहिचान संरक्षणका लागि कार्यक्रम आयोजना गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको बताए ।
कार्यक्रममा माङसेबुङ क्षेत्रमा किरात राई यायोक्खाको संस्थागत विकास तथा भवन निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका माङसेबुङ-६ का भक्तबहादुर एवाई लाई विशेष सम्मान गरिएको थियो ।
किरात समुदायले वर्षमा दुई पटक उभौली (धिरिनाम) र उधौली (छिरिनाम) पर्व मनाउने परम्परा रहेको छ । विशेष गरी वैशाखे पूर्णिमामा मनाइने उभौलीलाई बाली लगाउने समयको शुभारम्भका रूपमा लिने गरिन्छ । यस अवसरमा राम्रो वर्षा होस्, प्राकृतिक विपत्ति नआओस्, रोगव्याधि नलागोस् तथा सुख-शान्ति कायम रहोस् भन्ने कामना गरिन्छ ।
त्यसैगरी मंसिरे पूर्णिमामा मनाइने उधौली पर्वमा राम्रो बाली उत्पादन भएको, धनसम्पत्ति प्राप्त भएको तथा आगामी समय पनि सुखद् रहोस् भन्ने कामना गर्दै उत्सव मनाउने गरिन्छ ।
प्रकृति, चराचुरुङ्गी तथा जीवजन्तुको चालढालको नक्कल गर्दै ढोल र झ्याम्टाको तालमा सामूहिक रूपमा नाचिने साकेला सिली पछिल्लो समय नयाँ पुस्तामाझ झन् लोकप्रिय बन्दै गएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुने यो सांस्कृतिक नृत्य किरात समुदायको मौलिक पहिचानका रूपमा स्थापित छ ।
उभौली र उधौली पर्वलाई किरात समुदायअन्तर्गत राई, लिम्बू, याक्खा, थामी र सुनुवार जातिले प्रमुख सांस्कृतिक चाडका रूपमा मनाउँदै आएका छन् ।
तस्बिरहरु :






















































