घुर्बिसे पञ्चमी माविलाई नेशनल लघुवित्तद्वारा सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण

  युद्धबहादुर बोहोरा
175 Shares

 

पाँचथरः नेशनल लघुवित्त वित्तीय संस्था घुर्बिसे पञ्चमी शाखाको सहयोगमा फाल्गुनन्द गाउँपालिका-५ स्थित घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयलाई सोमबार सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरिएको छ। छात्राहरूको स्वास्थ्य, सरसफाइ तथा महिनावारी व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले करिब ६० हजार रुपैयाँ मूल्य बराबरको मेसिन उपलब्ध गराइएको विद्यालयले जनाएको छ।

मेसिन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष विष्णु कुमार चेम्जोङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगन विक्रम चेम्जोङ, विव्यस सदस्यहरू, संस्थाका केन्द्रीय कार्यालय प्रतिनिधि उन्नती बास्तोला, अनुगमन अधिकृत पृथसिंह खत्री, घुर्बिसे पञ्चमी शाखा प्रबन्धक मधुसुधन खनाल, वडा सदस्य घनेन्द्र कुमार चेम्जोङ लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै वडाध्यक्ष, विव्यस अध्यक्ष तथा प्रधानाध्यापक शेरबहादुर चेम्जोङले संस्थाले उपलब्ध गराएको मेसिनले छात्रा तथा शिक्षिकालाई सहज हुने, विद्यालयको वातावरण सफा राख्न मद्दत पुग्ने बताए। घुर्बिसे पञ्चमी चिसो क्षेत्र भएकाले प्रयोग भएका प्याड व्यवस्थापनमा समस्या हुने गरेको उनीहरूको भनाइ थियो।कार्यक्रमबारे जानकारी शिक्षक सुरेन्द्र प्रसाद लामिछानेले दिएका थिए।

२०३७ सालमा स्थापना भएको घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयमा हाल करिब ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन्। बालविकासदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयमा कक्षा १२ सम्म अध्ययनको व्यवस्था रहेको छ। विद्यालयमा २५ जना शिक्षक र कर्मचारी कार्यरत छन् र यसलाई क्षेत्रकै शैक्षिक हबका रूपमा हेरिने गरिएको छ।

२०७३ साल असार १ गते स्थापना भएको नेशनल लघुवित्तको घुर्बिसे पञ्चमी शाखामा हाल ८७९ सदस्य आबद्ध छन् भने शाखा प्रमुखसहित ४ जना कर्मचारी कार्यरत छन्। पाँचथरका कुम्मायक, मिक्लाजुङ, फाल्गुनन्द तथा इलामको फाकफोकथुम गाउँपालिकाका सेवाग्राहीले यस शाखाबाट सेवा लिँदै आएका छन्।संस्थाले प्रविधिमैत्री सेवा विस्तार गर्दै सदस्यलाई लक्षित व्यवसायिक तथा सचेतनामूलक तालिम सञ्चालन गरिरहेको जनाएको छ। देशभर १८५ शाखामार्फत सातै प्रदेशका ७४ जिल्लामा सेवा विस्तार गरेको संस्थामा हाल २ लाख ५९ हजारभन्दा बढी सदस्य आबद्ध छन् भने १ लाख २५ हजार ऋणी रहेका छन्।संस्थाका अनुसार हाल कुल लगानी २६ अर्ब रुपैयाँ पुगेको छ। बचत, कर्जा, बीमा र रेमिट्यान्स सेवा एकै ठाउँबाट उपलब्ध गराउँदै आएको संस्थाले डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।

हाल संस्थामा बचततर्फ ७.५ देखि ८ प्रतिशतसम्म ब्याजदर तथा कर्जातर्फ १४.३३ प्रतिशत ब्याजदर लागू रहेको शाखा प्रबन्धक मधुसुधन खनालले जानकारी दिए। उनका अनुसार पछिल्लो समय क–ख वर्गका बैंकमा न्यून ब्याजदर हुँदा बचतकर्ताहरू नेशनल लघुवित्ततर्फ आकर्षित भइरहेका छन्।संस्थाले व्यवसाय तथा कारोबारको आधारमा ७ लाख रुपैयाँसम्म बिना धितो र १५ लाख रुपैयाँसम्म धितोमा कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ। साथै सामाजिक उत्तरदायित्वअन्तर्गत सुत्केरी सहयोग, मृत्यु राहत, दैवी प्रकोप सहायता, अस्पताल उपचार सहुलियत तथा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सहयोगसमेत प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार