यो समय ऋतुराजको हो । यस वर्ष अत्याधिक आवृष्टि भएको हुनाले सधैँभन्दा छिट्टै पालुवा फेरिएका छन् वनस्पतिहरु । केही जङ्गली भूइँफूलहरु तरुनी पुगेर उन्मुक्त फुलिसकेका छन् । फुलको मोहक सुगन्ध बोकेर रनवन डुलिरहेको छ वसन्ती हवा । माथि आकाश बाक्ला तुवाँलोको पछ्यौरीले छोपिएको छ । आज कुन कुहिरीमण्डलको अनन्त कुनामा लुकेको छ तेजपुञ्ज । आकाशजल चुहिएला जस्तै भएको थियो ।
आज मिति २०८३ बैशाख ११ गते शुक्रबार । पान्थरको फेदेनदेखि झापासम्मको यात्रा आरम्भ गर्न लागेको छु । किरात याक्थुङ् चुम्लुङ् इलाम माइ नगरपालिकाको कार्यक्रममा प्रमुख अतिथिको निमन्त्रणा छ मलाई । इलामको सुखानीमा सिलामसाक्मा राखिएको बोर्डको उद्घाटन र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । केही दिनअगाडि नै जितेन पन्धाक ‘साङ्सेन’ र टुपेन्द्र एक्तेनलाई वचन दिइसकेको छु । कियाचु झापा जिल्लाकी सचिव भीममाया नेम्बाङ् (कन्दङ्वा) र कल्पना फागोलाई पनि आश्वास्त पारिसकेको छु । जसोतसो आफ्नो झोलीतुम्बी कसेर निलकण्ठ डाँडादेखि शनिबारे बसस्टेनतिर लाग्छु । केहीक्षण गाडीको प्रतिक्षामा बस्नुपर्ने हुन्छ । कालकटनी गर्न शनिबारेको एउटा होटलमा बसेर आफ्नो गन्तव्य र कार्यक्रमको बारेमा सोच्न थाल्छु । मलाई अकस्मात् स्मृतिदंश हुन्छ र मेरो स्मृतिपटमा त्यो घटना परिभ्रमण गर्छ-
केही वर्ष अघि म काठमाडौ गएको थिएँ । कियाचु झापा जिल्लाको अधिवेशनको लागि आयोजकले मरिहत्ते गरेर प्रमुख अतिथिको हैसियतमा आमन्त्रण ग¥यो मलाई । आफू अतिव्यस्त रहेको र नभ्याउने कुरा जाहेर गर्दागर्दे पनि जबरजस्त चिठी पठायो र मेरो फोटो सहितको व्यानर प्रचार÷प्रसार ग¥यो आयोजकले । यतिसम्म गरिसकेसकेपछि मलाई पनि जानैपर्ने विवशता आइलाग्यो र दशकाम थाती राखेर हत्तपत्त रात्रीकालीन बसमा विर्तामोड पुगेको थिएँ । विर्तामोडको एउटा होटलमा बिसाउँदै गर्दा आयोजकहरु आइपुगेर मसँग माफि मागे । हामी तपाइँलाई प्रमुख अतिथि बनाउन नसक्ने भयौँ । केन्द्रीय समितिको मान्छेलाई बनाउनुपर्ने दबाब आयो । यस कार्यक्रमका लागि केन्द्रीय सचिव अभिषेक एक्तेन (चक्र) बोलाउनुपर्ने भयो । हामी दुखी छौँ भनेर नियाउरो मुख लगाए । मैले आयोजकलाई विनम्रतापूर्वक सम्झाउने दृष्टता गरेँ । अतिथिको कुनै लोभलालच छैन मलाई । तर लिम्बुवान प्रदेश समितिप्रति केन्द्रीय समिति असाध्यै नकरात्मक र पूर्वाग्राही छ । उनीहरु केन्द्रिकृत मानसिकताभन्दा बाहिर निस्कन सकेका छैनन् । यसमा सुधार गर्न आवश्यक हुन्छ भनेर भोलि विहानै म काडमाडौ फिर्तीसवार भएको थिएँ । तर पछाडि मेरै बदख्वाइँ गरे । प्रमुख अतिथिको मोहले आयोजकलाई धम्क्याएर झापामा पुगेको रे भनियो । लाजको पसारो हुन्छ भनेर यस विषयमा मैले केही प्रतिक्रिया जनाइनँ । खण्डन मण्डन गर्नुको दरकार नै ठानिनँ । किनभने यसको गुत्थी कुरा कि मलाई थाहा छ, कि सेसेहाङ फियाकलाई थाहा छ । यदि छ भने तागेरा निङ्वाभुमाङलाई मात्रै थाहा छ ।
आफ्नो अतीत सम्झेर केहीबेर नोस्टाल्जियामा हराएँ । बल्लतल्ल ट्याक्सी आइपुग्यो । म पनि गाडीमा सवार भएँ । हामी थाङ्साङ् खोला, साहाम्देन् कोक्मा र भण्डारी धारा नाघेर लालीखर्क उकालो उक्लियौँ । मौसम ठन्डा भएको हुनाले बेलाबेला चिसो स्याँठ चल्थ्यो । जाँडोले ऐँसेलुका दानाहरु लुकलुक कामिरहेका देखिन्थे । रुखका हाँगाहाँगामा भूइँकुहिरो नाचिरहेको देखिन्थ्यो । सुम्निमा चोक, कान्छीदोकान र स्कुलडाँडातिर बाटाका दायाँबायाँ कालीझार सेताम्मे फुलेका देखिन्थे । मानिसका जिब्राजस्ता देखिने अम्लिसोका पातहरु हलक्कै बढेछन् । घरका अट्टालिकाभरी फूलेका रङ्गिविरङ्गी फूलहरुलाई आँखाभरी कैद गर्दे एकैछिनमा राँके पुगियो ।
गाडि चालक तन्नेरी भएको हुनाले हामी तीव्र गतिमा हुइँकिरहेका थियौँ । मैले यात्रा गर्दा जहिले पनि उपेन्द्र सुब्बाको ‘ना ४ ख ४३८५’ शीर्षकको कविता र श्यामप्रसाद शर्माको ‘शूरवीरहरुको नरक यात्रा’ निबन्धको अतिसय स्मृति हुुन्छ । राँके बजारदेखि अलिक परतिर पुगेपछि हाम्रो गाडी एक्कासि बिरामी भयो । एउटा ग्यारेजमा उपचार गर्न थालियो । म दृश्यावलोकन गर्दे वरपर टहलिएँ । क्षणक्षणमा आउने कामुक कुहिरोले हामीलाई प्रेमील स्पर्श गर्दे भागिरहेको थियो । माथि निर्वस्त्र भित्तातिर हेरें । कठै ! कुइरी खन्नेहरुले पहाडको वक्षस्थलमा निर्मम प्रहार गरेका रहेछन् । घायल भित्ता अश्रुधारा चुहाउँदै रोइरहेको जस्तो आभास भयो । साँच्चै अहिले दिनानुदिन कथित विकासको नाममा प्रकृतिलाई ध्वस्त पार्दे गइरहेका छौँ हामी । खोलानाला, वनजङ्गल, पहाडपर्वतका भर्जिनिटी तोड्न आशक्त भइसकेका छौँ । यति सुन्दर प्रकृतिलाई यति धेरै विद्रुप बनाइरहेका छौँ कि एकदिन मानिसले यसको भयावह परिणाम भोग्न अभिसप्त हुनेछौँ । त्यो भित्ताबाट जुनैबेला पनि पहिरो लड्न सक्छ । पहिरो खस्यो भने सिधै तलको ग्यारेज र सानो घुम्ती पसल बाँकी रहने देखिंदैन ।
गाडीमा केही लिम्बू–लिम्बुनी साथीहरु पनि छन् । उनीहरु पनि गफास्टक र तुक्काबाज छन् । बेलाबेलामा मजाक गर्छोँ आफ्नै मातृभाषामा । अन्य यात्रीहरुले आश्चार्यबोधक आँखाले हेर्छन् हामीलाई । बाटो काटिएको पत्तै हुँदैन । बादलुले छोपिएको अँध्यारो जङ्गललाई पछाडि पारेर रक्सिे पुग्छौँ । रक्सेको एउटा होटलमा साथीहरु खाना खान लाग्छन् । मलाई चाही रक्सेमा घटेको एउटा अविश्मरणीय क्षणको सम्झना मनमा ताजा भएर आउँछ–झण्डै दश वर्षअघि झापा जाँदाको घटना हो । रक्सेको एउटा होटलमा खाना खान गाडिलो ओराल्यो मलाई । चिसो ठाउँमा खाना असाध्यै मीठो हुने । खाना मीठो भयो कि अजीर्ण हुनेगरि दनक दिने नराम्रो बानी छ मेरो । इलामको अकबरे खुर्सानीमा पल्केको मान्छे म । तीनचारवटा अकबरे खुर्सानीसँग भात मुछेर ग्वामकि ग्वाम खाएँ । खाना खाइसकेर गाडि चढ्न लाग्दा अचानक पेटमा बन्दुक पढ्किन थाल्यो । हत्तपत्त कुदेर चर्पी पुगेँ । त्यतिञ्जेल सम्ममा रबरको ढोकाले थाम्नै सकेन । भित्र लाउने वस्त्र खतम भइसकेको थियो । बिस्तारै फुकालेर फालें र आफ्नो डब्लु राम्रोसँग सफा गरेर पेन्टी नै बेगर झापा पुगेर फर्केको अविश्मरणीय क्षण सम्झेर रोमाञ्चित भएँ । अहो ! मानिसको जीवनमा कस्ता कस्ता घटनाहरु घटेका हुन्छन् । तर सबै कुरा बखानेर सम्भव नै हुन्न रहेछ ।
हाम्रो गाडी हिंड्ने बेलामा मुस्कान तावाहाङ नानीको विनम्रतापूर्वकको अनुरोधमा एक प्लेट च्वाँचेको मासु र एउटा पुन्टेले घाँटी शीतल बनाएँ । नागबेली बाटाहरु नाघेर इलामको धोबीधारमा पुग्दा दिनको २ ः ५२ भइसकेको थियो । मलाई इलाम सम्झनेसाथ मेरो प्रिय लेखक तारानाथ शर्मा मस्तिष्कमा आइहाल्छन् । नेपाली समालोचनाको आलोकमा ताना शर्मा जत्तिको निर्भिक र तार्किक समालोचक अरु लाग्दैनन् मलाई । उनी निःसङ्कोच रुपमा कलमको तरवार चलाउन सक्छन् । फटाहाहरुलाई लाटो पारुञ्जेल शब्दको सिस्नुले पोल्न सक्छन् । अन्य थुप्रै विशिष्ट लेखक समालोचकहरु इलामले जन्माएको छ । पान्थरमा मूल घर भई इलाममा जन्मिन पुगेका विशिष्ट स्रष्टा जनकलाल शर्मा, विष्णु नवीन, युवराज नयाँघरे, विष्णुविभु र यता पान्थर याङ्नामबाट बसाइँ सरेर इलाम पुगेका डरलाग्दा लेखक तथा चिन्तक हाङ्युग अज्ञातलाई पनि स्मरण गरें । यसैपाल मात्र उनको ‘हाङ्युग अज्ञातका कविताहरु’ नामक कविता सङ्ग्रह प्रकाशित भएको छ । त्यो कविता सङ्ग्रह नेपाली इथ्निक पोइम र पहिचान लेखनको गतिलो दस्ताबेज बनेको छ । प्रकाश थाम्सुहाङ पनि उत्तिकै शक्तिशाली लेखक लाग्छ मलाई । अन्य थुप्रै लेखकहरु ः डा. देवी क्षेत्री दुलाल, बालिका थपलिया, विमल वैद्य, प्राज्ञ रविमान लम्जेल लगायतका सर्जकहरुले यहीँ बसेर साहित्य साधना गरिरहेका छन् ।
हामी एकैछिनमा गोलाखर्क पुग्यौँ । यसपटक नयाँ मार्ग समातेर जाँदै थियौँ । इलामको सोमबारे, दानाबारी हुँदै विर्तामोड पुग्नु थियो । बाटो कच्ची भएकाले यात्रा असाध्यै कष्टकर भयो । साँघुरो तर हजार फन्को मार्दे जानुपर्ने । झन् ओरालो झर्दे गयो झन् झन् उखर्मोलो गर्मी हुन थाल्यो । धुलाम्मे बाटो भएकोले झ्यालढोका सबै बन्द गरेर बस्नुपर्ने । कहिकतैबाट एक झोक्का बतास नछिर्ने भयो । औलको उष्णताले हामी उसेनेको आलुजस्तै भयौँ । श्र्रद्घातर्पण गर्न नपाएर हाम्रो मुत्रथैली झन्डै झन्डै विस्फोट हुन पुग्यो । बाटाका दायाँबायाँ रुपखहरु नचिनिने गरी धुलोको पौडर दलेर बसेका देखिन्थे । छेउछाउमा चर्ने गाइबस्तु र बाख्राहरु पनि कुन कलरका हुन् धुलोले चिन्नै नसकिने । बाटाका छेउछाउमा फुलेका फूलहरु पनि कुन रङ्गका हुन खुट्याउनै नसकिने । नारकीय यात्रा जस्तो असाध्यै गाह्रो भयो हामीलाई । धेरै घुम्ती र कुइनेटाहरु काटेर इलाम दानाबारी पुगियो । एउटा घुम्ती पसलमा एकजना आधाबैसेनी महिला रहेछिन् । पिसाब फेर्न चर्पी सोधें । हाँस्दै चोर औंलाले चियाबारी देखाइन् र लाजले गाला पाकेको स्याउजस्तै बनाइन् । त्यहीँ चियाबारीमा मैले….। पुरै स्फुर्ती र आनन्द आयो ।
आधाबाटो नपुग्दैदेखि नातिनी भीमा कन्दङ्वाले निरन्तर फोन सम्पर्क गरिरहेकि थिइ । हामी धुलोले सेताम्मे पुरिएर विर्तामोड बसपार्क ओर्लियौँ । हिरासतबाट मुक्त भएजस्तो ठूलो सास आयो । अरु साथीहरु आआफ्नै पोकापन्तुरा बोकेर गन्तव्यतिर लागे । म नजिकैको सुनिता सुहाङ् भाउजूकोमा गएँ । निकै लामो गफगाफ भयो । अन्ततः आजको रात भद्रपुर संगम सुहाङ्को निवासमा जानुपर्ने टुङ्गो लाग्यो । लामो समयान्तरपछि संगमसँग भेट हुने पक्का भयो । साथीलाई भेटेर गफगाफ गर्ने मेरो कत्रो धोको पुरा हुने भयो । म मनमनै हर्षविभोर भएँ ।
संगम सुहाङ पान्थरको सुभाङ्मा उम्रिएको असमान्य मानिस हो । उनी पृथक र विराट प्रतिभा भएका सर्जक हुन् । उनको लवाइखवाई, वोलीवचन, सोच्ने तरिका र जीवनशैली नै भिन्न छ । उनले साठीको दशकतिर पान्थरदेखि नेपाली गजलको क्षेत्रमा घोषणापत्र सहित सवाल–जवाफ गजल सङ्ग्रह प्रकाशन गरेर हलचल नै मच्चाएका थिए । लामो समयसम्म गुपचुप बसेर ‘कुकुर कविता आन्दोल’ चलाए । केही वर्ष यतादेखि अहिले फेरि सुषुप्त भएर बसेका छन् । उनीसँग आधारातसम्म नेपाली साहित्यको बारेमा गरमागरम बहस चल्यो । उनी अलिक हठी छन् । तर्कमा हार्न मान्दैनन् । हारे पनि विजयी भएको स्वघोषणा गरेरै जित्छन् । फेरि तर्क गर्दे गएपछि सुङ्गुर घोच्ने मै हानेर छाड्छन् । राती पटक्कै निद्रा लागेन मलाई । आकाशले बन्दुक पढ्काएको पढ्काएकै ग¥यो । घरि आफ्नै निधारमा चट्याङ् झरेको जस्तै लाग्ने । झिलिक्क झिलिक्कआकाशले रातभरी फोटो खिचिरह्यो । आकाशको घाइटो फुटेर सबै पानी धर्तीमा खन्याए जस्तै लाग्यो ।
विहान सबेरै उठेर तातोपानी पिउँदै गर्दा भीमाको फोन आयो । एकैछिनमा गाडी लिएर ज्वाइँ हिमाल कन्दङ्वा लिन आइपुगे । सिधै उनीहरुको घरमा पु¥याए मलाई । घरमा पुग्दा भीमाले सबै चिया चमेनाको व्यवस्थापन गरिसकेकी थिइ । भिमा नानी साँच्चै अजीवको पात्र लाग्छन् मलाई । अग्लीडाली जिउ परेकी, निडर र हक्कि स्वभाव, आफ्ना आफन्तलाई कलेजो नै खिपेर पनि दिन तयार हुने, हदैसम्मकी मनकारी छन् । शायद लिम्बुनीमा हुनुपर्ने असली गुण हो जस्तो लाग्छ मलाई ।
कार्यक्रमस्थलमा पुग्दा दिनको १०ः४४ भइसकेको थियो । कार्यक्रम सुरु हुने कुनै सुरसार थिएन । आयोजकहरु ः टुपेन्द्र एक्तेन, तीर्थ सावदेन, शेरबहादुर थेगीम, कृष्ण एक्तेन, कल्पना फागो र राम लिङ्दमहरु उपस्थित भइसकेका थिए । मनमनै मलाई असाध्यै खुसी लागेको थियो । किनकि यस कार्यक्रम सम्पन्न हुने ठाउँ नेपाली राजनैतिक इतिहासमा अघट घटना घटेको रातो भूगोल हो । निरङ्कुश पञ्चायतकालको विरुद्धमा सङ्र्घष गर्दा नेत्रलाल अधिकारी, कृष्ण कुइकेल, नारायण श्र्रेष्ठ, रामनाथ दाहाल र विरेनसिंह राजवंशीले सहादत प्राप्त गरेको शहीद भूमि हो । उनीहरुको प्रतीमा हेरेर मनमनै श्र्रद्धाञ्जली अर्पण गरें । बल्लतल्ल पालाम् बिटमा कार्यक्रम २ः२० मा सुरुआत भयो । इलाम माई नगरपालिकाका सबैभन्दा बृद्धा आइन्द्रविक्रम शेर्माको हस्तबाहुलीबाट सिलामसाक्मा अंकित बोर्डको उद्घाटन भयो । मैले बोर्डमा लेखिएको व्योहोरा वाचन गरें । हामीले संयुक्त रुपमा कार्यक्रमको समुद्घाटन ग¥यौँ । कियाचुमा अतुलनीय योगदान पु¥याउने थुप्रै जना चुम्लुङ्कर्मीहरु सम्मानित भए । थुप्रैजना अतिथिका मन्तव्यहरु श्र्रवण गरियो । पुराना गायक किरण एक्तेनदेखि नव गायिकाहरु दूर्गा तुम्सा, गीता नेम्बाङ, कर्मीला आङदेम्बे लगायतले मीठो भाकामा पालाम् र हाक्पारे गाए । कार्यक्रमका सहजकर्ता टुपेन्द्र एक्तेनले विचविचमा मिठो मसला फिटे । कार्यक्रमको रौनकता झन् बढ्दै गयो । हप्पहप्प गर्मीमा पनि लिम्बुनीहरुसँग मज्जाले धाननाच्दै पालाम गाइयो । सारै रमाइलो भयो । सबैखाले तनावबाट एकैछिन भएपनि मुक्ति पाइयो ।
कार्यक्रमको आखिरी चरणमा मैले आफ्नो मन्तव्य राख्नुपर्ने बेला भयो । मुन्धुममा सिलामसाक्माको अर्थ, महत्त्व र उत्पत्ति बारे कुरा राखें । सिः भनेको लिम्बू भाषामा मर्नु, लाम्ः भनेको बाटो र साक्मा भनेको छेक्नु हो । अर्थात् मृत्युको बाटो छेक्नु भन्ने अर्थ लाग्छ । आदिवासी लिम्बू भूमिपुत्रहरुको उत्पत्ति ढुङ्गा र माटोबाट भयो । उनीहरु बाख्राका बड्क्यौलामा भारी बिसाउने, जुम्राको मासु काट्ने, पिडालुका पातमा घाम ताप्ने, खुर्सानीका बोटमा झटारो हान्ने लिलिपुटेहरु थिए । उनीहरु क्रमशः विकसित हुँदै गए । फक्ताङलुङ् हिमालको आसपासमा भूमिपुत्रहरुको बस्ति थियो । त्यहाँनेर केत्तिनहाङ्बा र केत्तिन्नामा नाम गरेका दाम्पत्ति बस्थे । उनीहरुका असङ्ख्य छोराछोरीहरु भए । एकाएक ती परिवारलाई हैजाले आक्रान्त पा¥यो । केत्तिनहाङ्बा र केत्तिन्नामाका छोराछोरीहरु बिहान आठजना र राती आठ जनाका दरले मृत्युवरण गर्न थाले । यस्तो घटनाले भूमिपुत्रहरुको गाउँमा ठूलो हलचल मच्चायो । यसको निदानका लागि भूमिपुत्रहरु तागेरा फुक्कुमा चुम्लुङ् बसेर तागेरा निङ्वाभुमाङलाई यसको कायाकैरन सुनाए र समस्याको निदानका लागि विन्ति विसाए । तागेरा निङ्वाभुमाङ्ले मैले त ज्ञान, बुद्धि र विवेक मात्रै दिने हो यसको समाधानका लागि सोधुङ् लेप्मुहाङलाई सोध्नु भन्नुभयो । त्यसपछि लेप्मुहाङ् कहाँ गएर विन्ति विसाए । लेप्मुहाङले मुगप्लुङ खागप्लुङ साम्बालाई यसको जिम्मेवारी सुम्पिए । मुगप्लुङ् खागप्लुङ् साम्बा आफ्नो सामग्री सहित बिरामी गाउँमा आउँदा । उसलाई मानमनितो गरेर पारिश्र्रमिक सहित सम्मान् गर्छन् गाउँलेहरुले । साम्बाले घुङ्रिङ्को सिलामसाक्मा बनाउँछ र आफ्नो मुन्धुम मन्त्रले जून, घाम, आकाश, पताल चारैदिशा अनिष्ट आत्महरुलाई छेकिदिन्छ र मुन्धुमले वाचा गरेर केत्तिनहाङ्बा र केत्तिन्नहाङ्माको घरको सराङ्मा राखिदिन्छ । त्यसपछि अकालमा मृत्युवरण गर्नु परेन । त्यस यता आदिवासी लिम्बू समुदायमा सिलामसाक्माको प्रचलन सुरु भएको हो भनेर मुन्धुममा वर्णन गरिन्छ ।
आज राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपले सिलामसाक्माको प्रयोगमा बढावा आएको देखिन्छ । ठुलठूला समारोहहरुमा समेत विशिष्ट व्यक्तिहरुले सिलामसाक्मा लगाउन थालेका छन् । सिलामसाक्मा केवल कार्यक्रम सिङ्गार्ने भौतिक संस्कृति मात्रै होइन । यसले मानिसलाई दिने आन्तरिक आत्मबल अदम्य साहस पनि हो । सिलामसाक्मा लगाइदिएर आज तिमीलाई केही हुँदैन भनेर विश्वास जोगाइदिंदा मनोवैज्ञानिक रुपले कत्रो आँट र साहस दिन्छ सिलामसाक्माले । स्थानीक उत्पादन भएको हुँदा आयआर्जनको समेत गतिलो माध्यम बनेको छ । यसलाई ‘पेटेन्टराइड’ लिएर ‘ब्रान्डिङ’ गर्न आवश्यक छ भनेर आफ्नो मन्तव्य राखें । आफ्नो मातृभाषामा बढी बोल्नुु परेकोले धेरैजसो युवायुवतिहरुले कुरा बुझेजस्तो लागेन । तर बृद्धबृद्धाहरुले भने अति नै चाख मानेर एकाग्र भई सुने ।
कार्यक्रको बिट मार्ने समय भयो । तरेमाहरुसँग अझै धेरै धाननाचौँ जस्तो लागेको थियो । रातरातभरी हाक्पारे गाउँ जस्तै लागेको थियो । तोङ्बा तान्दै ख्याली खेलौँ लागेको थियो । बुढापाकहरुसँग मुन्धुम वाचन गरौँ लागेकै थियो तर के गर्नु ! पश्चिम आकाशमा घाम सुनको डल्लो भइसकेको थियो । हामी त्यहाँबाट बिदावारी भर्याैँ । सरासर विर्तामोड फिर्ता भयौँ















































