नेपालको इतिहासमा दश वर्षे जनयुद्ध केवल एक सशस्त्र संघर्ष मात्र थिएन, त्यो उत्पीडित वर्ग, क्षेत्र र लिङ्गका लाखौँ भुईँमान्छेहरूको चेतनाको विस्फोट थियो । सदियौँदेखि दबाइएका आवाजहरूलाई बोल्ने हिम्मत दिलाउने, अन्याय र अत्याचारविरुद्ध उभिने साहस दिने र मान्छे मान्छेबीच कुनै भेदभाव हुँदैन भन्ने समानताको मूलमन्त्र स्थापित गर्ने त्यो आन्दोलनले देशको राजनीतिक संरचनामा गहिरो परिवर्तन ल्यायो ।
राजतन्त्रजस्तो वंशका आधारमा चल्ने अवैज्ञानिक र अव्यवहारिक व्यवस्थालाई समाप्त पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नु जनयुद्धकै ऐतिहासिक उपलब्धि हो । यो परिवर्तन केवल सत्ता परिवर्तन थिएन–यो चेतनाको परिवर्तन थियो, जहाँ अधिकार मागेर होइन, संघर्ष गरेर हासिल गर्नुपर्छ भन्ने बुझाइ जनमानसमा स्थापित भयो । तर, आजको यथार्थ यस गौरवपूर्ण इतिहाससँग मेल खाँदैन ।
जनयुद्धले अन्त्य गर्न खोजेको वर्गीय विभाजन–धनी र गरिब, शासक र शासितबीचको खाडल झनै नयाँ रूपले पुनः स्थापित भएको छ । विडम्बना के छ भने, यही आन्दोलनको नेतृत्व गर्ने पार्टी र त्यसका नेता–कार्यकर्ताहरू स्वयं दुई ध्रुवमा विभाजित भएका छन् । एउटा वर्ग सत्ताको स्वादसँगै सम्भ्रान्त जीवनशैलीमा रूपान्तरण भएको छ भने अर्को वर्ग अझै पनि संघर्षमै, सुकुम्बासी जीवन बिताउन बाध्य छ । यो मात्र विभाजन होइन, यो आदर्शको पतन हो ।
यसबीच उभिएको छ, अर्को खतरनाक शक्ति–बिचौलिया वर्ग ।
यो वर्ग न त स्पष्ट रूपमा शासक हो, न त शोषित; तर यसको भूमिका शोषकको सेवकको रूपमा देखिन्छ । यिनीहरू सम्भ्रान्त बनेका नेताहरूको गुणगानमा रमाउँछन्, उनीहरूका कमजोरीहरूलाई ढाकछोप गर्छन् र इमान्दार आलोचनालाई दबाउने काम गर्छन् । अझ गम्भीर कुरा त के हो भने, यिनीहरू आफ्नै सहकर्मीहरूलाई हेप्ने, दमन गर्ने र तिरस्कार गर्ने प्रवृत्तिमा संलग्न छन् ।
यो बिचौलिया प्रवृत्ति केवल राजनीतिक विचलन होइन, यो नैतिक पतनको संकेत हो । यसले जनयुद्धले स्थापित गरेका मूल्य, आदर्श र लक्ष्यहरूलाई क्रमशः नष्ट गरिरहेको छ । आजको अवस्थामा आइपुग्दा, हिजोको माओवादी विचार, संगठन र संरचना क्रमशः विलोप हुने स्थितिमा पुगेका छन् । जनमुक्ति सेना, जनसत्ता, जनअदालतजस्ता संरचनाहरू केवल इतिहासका पानामा सीमित हुँदै गएका छन् ।
आन्दोलनले जन्माएका सामाजिक मूल्यहरू समेत कमजोर हुँदै गएका छन् । यसरी, देशको राजनीतिक दिशा त्यहीँतिर मोडिएको देखिन्छ जहाँ साम्राज्यवादी शक्ति केन्द्रहरूको अनुकूलता छ । यो केवल संयोग होइन–यो नेतृत्वको असफलता र विचलनको परिणाम हो । नेपालको समकालीन राजनीतिक यात्रामा एउटा यस्तो वर्ग तीव्र रूपमा उदाउँदै गएको छ, जसले न त प्रत्यक्ष रूपमा सत्ता सम्हालेको छ, न त श्रम र उत्पादनसँग जोडिएको छ– तर प्रभावका हिसाबले अत्यन्तै शक्तिशाली बनेको छ । यो हो बिचौलिया वर्ग ।
यो वर्ग कुनै एक क्षेत्रमा मात्र सीमित छैन–राजनीति, प्रशासन, व्यापार, सामाजिक संगठन, यहाँसम्म कि बौद्धिक वृत्तमा पनि विभिन्न रूप र आवरणमा फैलिएको छ । यिनीहरूको मूल चरित्र भनेको श्रमविहीन समृद्धि र जोखिमविहीन सुखसयलको खोजी हो । बिना परिश्रम, बिना लगानी, बिना संघर्ष नै जीवनका सबै आवश्यकताहरू पूरा हुनुपर्छ भन्ने मनोविज्ञान यिनीहरूको मूल प्रेरणा हो ।
बिचौलियाहरूको सबैभन्दा खतरनाक विशेषता भनेको तिनीहरूको अनुकूलन क्षमता हो । कुन नेतालाई के मनपर्छ, कसरी प्रशन्न पार्न सकिन्छ, कसलाई गाली गर्दा “मालिक” खुसी हुन्छन् । यी सबै सूक्ष्म मनोविज्ञानमा यिनीहरू पारंगत हुन्छन् । यस अर्थमा यिनीहरू केवल अवसरवादी मात्र होइनन्, सत्ता वरिपरि घुम्ने मनोवैज्ञानिक कलाकार पनि हुन् ।
बाहिरबाट हेर्दा यिनीहरूमा केही बौद्धिकता देखिन्छ– भाषण गर्न जान्ने, तर्क गर्न सक्ने, विचारका टुक्राहरू मिलाएर प्रस्तुत गर्न सक्ने । तर त्यो बौद्धिकता स्वतन्त्र र सिर्जनात्मक होइन, बरु परनिर्भर र स्वार्थकेन्द्रित हुन्छ । यिनीहरूको सोच आत्मनिर्भर नभई “मालिक”को स्वार्थअनुसार ढल्ने खालको हुन्छ ।
यही कारणले गर्दा, बिचौलिया वर्गको कुनै स्थायी वर्गीय पहिचान हुँदैन । आज एउटा पक्षमा देखिने यिनीहरू भोलि अर्को पक्षमा सजिलै सरिहाल्छन् । न त यिनीहरूको आफ्नै स्पष्ट विचारधारा हुन्छ, न त स्थिर प्रतिबद्धता । यिनीहरूका लागि सिद्धान्तभन्दा अवसर ठूलो हुन्छ र आन्दोलनभन्दा व्यक्तिगत लाभ प्राथमिक हुन्छन् ।
यिनीहरूको अर्को गम्भीर पक्ष भनेको एकता र आन्दोलनप्रति विरोधी भूमिका हो । जबपनि कुनै इमान्दार बहस उठ्छ, यिनीहरूले त्यसलाई दबाउने प्रयास गर्छन् । जब कुनै सही आलोचना आउँछ, त्यसलाई अवज्ञा वा द्रोहको नाम दिन्छन् । यसरी यिनीहरू आन्दोलनभित्रको स्वस्थ संवादलाई कमजोर बनाउँछन् र नेतृत्वलाई वास्तविकताबाट टाढा राख्छन् । वास्तवमा, बिचौलिया वर्ग आन्दोलनका लागि बाह्य शत्रुभन्दा पनि खतरनाक हुन्छ ।
किनकि बाह्य शत्रु स्पष्ट देखिन्छ, चिनिन्छ र त्यसविरुद्ध लड्न सकिन्छ । तर, बिचौलिया वर्ग भित्रै बसेर, मित्रको आवरणमा, आन्दोलनको आत्मा कमजोर बनाउने काम गर्छ ।
आज आवश्यकता हो–यस्ता प्रवृत्तिहरूको पहिचान गर्ने, इमान्दार र श्रमशील शक्तिहरूलाई संगठित गर्ने, आन्दोलनलाई पुनः मूल्य, आदर्श र जनताको पक्षमा उभ्याउने । किनकि, जबसम्म बिचौलिया मानसिकता हावी रहन्छ, कुनै पनि क्रान्ति आफ्नो लक्ष्यसम्म पुग्न सक्दैन र इतिहास फेरि त्यहीँ दोहोरिन्छ, जहाँबाट संघर्ष शुरु भएको थियो ।
अब प्रश्न उठ्छ–यस अवस्थाको जिम्मेवारी कसले लिने ? को हो साँचो नेता ? नेता त्यो होइन, जो सत्तामा पुगेपछि आफ्ना आदर्श बिर्सन्छ । नेता त्यो होइन, जो जनताको नाममा व्यक्तिगत समृद्धि खोज्छ । साँचो नेता त्यो हो, जसले सत्य बोल्ने साहस राख्छ, आफ्नै कमजोरी स्वीकार गर्ने इमान्दारिता राख्छ र जनताको पक्षमा उभिने दृढता राख्छ ।
आत्मसमिक्षा, इमान्दार बहस र मूल्यमा आधारित पुनःर्निर्माण, चाकडी, चाप्लुसी र बिचौलिया प्रवृत्तिबाट मुक्त राजनीतिक संस्कार आजको आवश्यकता हो । सबैभन्दा महत्वपूर्ण सवाल– जनताको विश्वास पुनः जित्ने प्रतिबद्धता हो । यदि नेतृत्वले अब पनि इमान्दार उत्तर दिन सकेन भने, इतिहासले फेरि नयाँ विकल्प खोज्नेछ । किनकि जनताको चेतना कहिल्यै मर्दैन– त्यो केवल केही समयका लागि मौन हुन्छ ।




















































