सुनको शिलाम-साक्मासहित निवर्तमान प्रअ अधिकारीलाई भब्य बिदाइ, बुबाआमाको स्मृतिमा १ लाख बढीको अक्षयकोष सहयोग

  युद्धबहादुर बोहोरा
126 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिका-५ स्थित घुर्विसे पञ्चमी माध्यमिक विद्यालयको आँगन शुक्रबार सामान्य जस्तो थिएन। लामो समय एउटै विद्यालयमा सेवा गरेका एक शिक्षकलाई बिदाइ गर्ने दिन भएकाले वातावरण स्वाभाविक रूपमा भावनात्मक बनेको थियो। उनै शिक्षक हुन्, नरेन्द्र प्रसाद अधिकारी। करिब ४० वर्ष शिक्षण पेशामा बिताएका अधिकारीले घुर्विसे पञ्चमी माविमा मात्रै २२ वर्ष १ महिना १२ दिन सेवा गरेका थिए । वि.सं. २०६० साल फागुन १४ गते माध्यमिक विद्यालयको अंग्रेजी विषयको स्थायी शिक्षकका रूपमा विद्यालयमा प्रवेश गरेका उनले २०७५ वैशाख १५ देखि २०८२ चैत २७ गतेसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए। विद्यालयको पढाइ, व्यवस्थापन र समुदायसँगको सम्बन्ध सुधारमा उनको लामो योगदान रहेको सहभागीहरूले बताएका छन्।

बिदाइ तथा सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगनविक्रम चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो भने पालिका शिक्षा शाखाका बाबुराम राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सहायक प्रधानाध्यापक भीमबहादुर चेम्जोङले स्वागत तथा शुभकामना मन्तव्य राख्दै अधिकारीको इमानदार सेवा, सरल स्वभाव र विद्यालयप्रतिको समर्पणको प्रशंसा गरे। साथै शिक्षक-अभिभावक संघ अध्यक्ष केहेरसिंह चेम्जोङ, समाजसेवी पञ्चबहादुर चेम्जोङ, घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समिति अध्यक्ष जितेन  चेम्जोङ, पूर्व विद्यार्थी, शिक्षक तथा अभिभावक समाज अक्षयकोषका अध्यक्ष राकेश नेम्वाङ, ५ नम्बर वडा कार्यबाहक वडाध्यक्ष गंगा थेवे चेम्जोङ, शिक्षक विर नरसिंह चेम्जोङ, खोमा देवी सुवेदीलगायतले अधिकारीको योगदानको प्रशंसा गर्दै उनको सेवानिवृत्त जीवन सुखमय र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।

उक्त कार्यक्रममा प्रधानाध्यापक शेरबहादुर चेम्जोङले अधिकारीको कुशल अभिभावकत्व सदैव खड्किरहने बताउँदै विद्यालयको विकासमा उनको नेतृत्व, अनुशासन र समर्पणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। विदाइ समारोहको विशेष क्षणमा अधिकारी र उनकी धर्मपत्नी मेनुका देवी ढकाल अधिकारीलाई सुनको शिलाम-साक्मा, दोसल्ला, मायाको चिनो, खदा, माला र सम्मानपत्र प्रदान गरिएको थियो। त्यसै अवसरमा निवर्तमान प्रधानाध्यापक अधिकारीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगनविक्रम चेम्जोङ, अक्षयकोष अध्यक्ष राकेश नेम्वाङ र प्रधानाध्यापक चेम्जोङलाई संयुक्त रूपमा १ लाख ७ हजार २५ रुपैयाँ हस्तान्तरण गरेका थिए। यो रकम उनका स्वर्गीय बुबाआमा गंगाराम अधिकारी र नरमाया अधिकारीको स्मृतिमा स्थापना गरिएको शिक्षक-अभिभावक समाज अक्षयकोषमा प्रदान गरिएको हो। विद्यालयले यस अक्षयकोषमार्फत हाल कक्षा ३ सम्म पूर्ण अंग्रेजी माध्यम सञ्चालन तथा शैक्षिक सुधारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ भने आगामी दिनमा क्रमशः ५ कक्षासम्म अंग्रेजी माध्यम सञ्चालन गरिने कार्यक्रम संचालक शिक्षक सुरेन्द्र प्रसाद लामिछानेले जानकारी दिए ।

विदाइ कार्यक्रममा बोल्दै निवर्तमान प्रधानाध्यापक अधिकारीले सबैको साथ, सहयोग र सहकार्यका कारण विद्यालयलाई जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन सफल भएको बताउँदै आफ्नो कार्यकालमा अधुरा रहेका कामहरूमा पनि आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा वडासदस्य घनेन्द्रकुमार चेम्जोङ, विद्यालय व्यवस्थापन समिति सदस्य, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।अन्त्यमा विव्यस अध्यक्ष चेम्जोङले धन्यवाद ज्ञापन गर्दै अधिकारीको सेवा र योगदान विद्यालयको इतिहासमा सधैं सम्झनायोग्य रहने बताए। विद्यालयको आँगनमा गुञ्जिएको ताली केवल बिदाइको औपचारिकता थिएन । उनको चार दशक लामो शिक्षण यात्राप्रति गरिएको सम्मान र कृतज्ञताको अभिव्यक्ति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार