
इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखीधाम शनिबार च्याब्रुङमय बन्यो । किरात याक्थुङ चुम्लुङ माङसेबुङले आयोजना गरेको च्याब्रुङ महोत्सव (के:लाङ प्रदर्शन) ले गाउँ नै सांस्कृतिक रंगमञ्च बन्यो । महोत्सवमा प्रस्तुत गरिएको च्याब्रुङ नाच (के:लाङ) ले गजुरमुखीधाम परिसर दिनभर गुञ्जयमान बन्यो । गजुरमुखीधाम किरात लिम्बू संस्कृति, मौलिकता र सामूहिक उत्साहले भरिएको सांस्कृतिक केन्द्रको रुपम रुपान्तरण भयो ।
करिब पाँच सय हाराहारीको च्याब्रुङ र एक हजार हाराहारीको बाधक (च्याब्रुङे) सहित कलाकारहरुले च्याब्रुङ नाच प्रस्तत गरेका थिए । प्रत्यक्ष च्याब्रुङ नाच हेर्न उत्तिकै दर्शकहरु झुम्मिएका देखिन्थे ।
गजुरमुखीधाम प्रवेशद्वारबाट च्याब्रुङ बजाउँदै निस्केको कोशी प्रदेश प्रमुखी परशुराम खापुङ, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालसहितको समूह गजुरमुखी बजार परिक्रमा गर्दा त्यसको पछि लाग्ने युवा र युवातीहरुको सङ्ख्या बराबरजस्तै थियो । महोत्सवमा इलामका १० वटा पालिकासहित पाँचथरको किरात याक्थुङ चुम्लुङको सहभागी थिए ।
महोत्सवमा साँस्कृतिक झाँकीसहित च्याब्रुङ नाच (के:लाङ), धाननाच (या:लाङ), पालाम, हाक्पारे, ख्यालीलगायत साँस्कृतिक कला प्रस्तुति गरिएको आयोजक किरात याक्थुङ चुम्लुङ माङसेबुङ अध्यक्ष मनरस लिम्बू (विपन)ले जानकारी दिए । त्यस्तै, लिम्बू समुदायको पोसाक तागा (पुरुषले लगाउने साँस्कृतिक पोसाक) र मेख्ली (महिलाले लागाउने साँस्कृतिक पोसाक) र लिम्बू साँस्कृतिक खानपान (परिकार) समेत प्रदर्शन गरिएको थियो ।
आधुनिकता र पुस्तान्तरणको अभावमा संकटमा पर्न थालेको मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण लागि यस्ता महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको अध्यक्ष लिम्बूले बताए । ‘के:लाङ केवल नाच वा बाजा मात्र होइन, यो लिम्बू समुदायको इतिहास, सभ्याता र सांस्कृतिक पहिचानसँग जोडिएको अमुल्य सम्पदा हो,’ अध्यक्ष लिम्बूले भने, ‘युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण र पुस्तान्तरण गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ ।’
कार्यक्रमलाई सम्बोधन गर्नहुँदै प्रदेश प्रमुख खापुङले भूगोल, जाति, भाषा, लिपि, धर्म र संस्कृतिको विविधता देशको अमुल्य सम्पत्ति रहेको उल्लेख गरे । उनले नेपाल विविधताले भरिएको सुन्दर बगैँचा जस्तै भएको उल्लेख गर्दै सबैको संस्कार, संस्कृति र पहिचानलाई समान दृष्टिले हेरिनुपर्नेमा जोड दिए । ‘हिमाल, पहाड र तराईमा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, संस्कृति र धर्म मान्ने समुदायलाई समान अवसर, सहभागिता र सम्मान सुनिश्चित गर्न सकेमात्र देश सुन्दर बन्नसक्छ,’ उनले भने, ‘त्यसैले सबै समुदायबीच सद्भाव, मेलमिलाप, प्रेम र धार्मिक सहिष्णता नै आजको आवश्यकता हो ।’ उनले पहिचान बलियो भए राष्ट्रिय पहिचान अझ मजबुत हुने र त्यसले राष्ट्रिय एकता तथा सार्वभौमिकता सुदृढ बन्ने बताउँदै विविधताबीचको एकता नै समाज र राष्ट्रको वास्तविक शक्ति भएको उल्लेख गरे ।
महोत्सवका लागि माङसेबुङ गाउँपालिकाले रु सात लाख सहयोग गरेको थियो । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले स्थानीय कला, संस्कृति र मौलिक पहिचान संरक्षका लागि गाउँपालिका आर्थिक सहयोग गरेको बताए । ‘कुनैपनि जातजातिको मौलिक संस्कृतिको संरक्षण केवल एक समुदायको विषय होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो,’ अध्यक्ष राईले भने, ‘यस्ता कार्यक्रमले समुदायमा सांस्कृतिक जागरण ल्याउनुका साथै सांस्कृतिक पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वास छ ।’
परम्परागत लोकबाजा च्याब्रुङ
च्याब्रुङ पूर्वी पहाडमा बस्ने लिम्बू समुदायको परम्परागत लोकबाजा हो । मादलजस्तै काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङमा खरीको प्रयोग भने हुँदैन । यसमा प्रायः गोरु, गाई र बाख्राको छाला प्रयोग हुन्छ । लिम्बू समुदायमा विवाह, भोजभतेर तथा शुभ कार्यमा च्याब्रुङ बजाएर नाच्ने गरिन्छ । झ्याम्टाको साथमा पनि च्याब्रुङ नाच नाचिने प्रचलन छ ।
च्याब्रङ नाचको आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकारहरु बताउँछन् । च्याब्रङ नाच विभिन्न जनावर र पशुपंक्षीको अभिनय गर्दै समेत नाच्ने गरिन्छ । च्याब्रङ नाचमा परिवेश अनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ ।
लिम्बू जातिले शताब्दीऔं अघिदेखि नाच्दै आएको च्याब्रुङ नाचलाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय संघसंस्थाहरुले प्रयास गर्दै आएका छन् । पछिल्लो समय लिम्बूले मात्र नभई राई, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल आदिले पनि उधौली तथा उभौली पर्वमा यो बाजा बजाएर विशेष नाच नाच्ने गर्छन् ।



















































