केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिलको एक बोर्डिङ स्कुलमा आगलागी हुँदा १६ विद्यार्थीको मृत्यु भएको छ भने अन्य ७४ जना घाइते भएका छन् ।
घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले पत्रकारहरूलाई यो जानकारी दिएका हुन् । आगलागीमा परी घाइते भएका ७४ जना विद्यार्थीको अस्पतालमा उपचार भइरहेको ती अधिकारीले बताए ।केन्या रेडक्रस र प्रहरीका अनुसार बिहीबार बिहान उतुमिसी गर्ल्स स्कुलमा विद्यार्थीहरू सुतिरहेको बेला आगलागी भएको थियो ।
प्रहरीले उद्धार र राहत कार्य जारी रहेको बताएको छ । अधिकारीहरूले आगलागीका कारण अझै पत्ता लगाउन नसकेको बताएका छन् ।
‘यो एकदमै दुःखद र पीडादायी अवस्था हो,’ प्रहरी कमाण्डर मसुद म्विनीले विद्यालय बाहिर भेला भएका अभिभावक र मानिसहरूलाई सम्बोधन गर्दै भनेका छन् ।
केन्याली बोर्डिङ स्कुलहरूमा आगलागी असामान्य होइन।
हालैका वर्षहरूमा धेरै घातक घटनाहरू भएका छन् । होस्टलमा विद्यार्थीहरूको उच्च संख्या र सुरक्षा निर्देशिकाहरूको पालनाको अभावलाई प्रायः उच्च संख्यामा मृत्युको कारण मानिन्छ।



















































