इलामः इलाम र पाँचथरको सिमानाबाट सुरु हुने राँके-रवि-भेडेटार सडक पछिल्लो समय पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय र आर्थिक मार्गका रूपमा विकास हुने निश्चित छ। हरियाली पहाड, चिया बगान, प्राकृतिक सौन्दर्य र सहज बन्दै गएको सडक पूर्वाधारका कारण यो क्षेत्र कन्यामको झल्को दिने आकर्षक गन्तव्यका रूपमा स्थापित हुनेमा दुई मत छैन । दुई जिल्लाको सीमाक्षेत्रबाट सुरु हुने यो सडक आसपासको क्षेत्र अहिले चिया-पर्यटनको केन्द्र बन्दै गएको छ। फाकफोकथुम गाउँपालिका-१ स्थित सिद्धदेवी टि-स्टेट र सिद्धि विनायक टि-स्टेट यसै मार्गसँग जोडिएर पर्यटक आकर्षण बढाउने मुख्य आधार बनेका छन्। हरियाली चिया बगान, स्वच्छ हावा, शान्त वातावरण र हिमाली दृश्यले यहाँ पुग्ने पर्यटकलाई मनमोहक अनुभव दिने गरेको स्थानीय बताउँछन्।
निर्माणाधीन राँके-रवि-भेडेटार सडक विस्तारसँगै दमक, धरान, इटहरी, धनकुटा, भेडेटार तथा इलाम-पाँचथर क्षेत्रबाट पर्यटकको आवागमन बढ्ने प्रवल संभावना रहेको छ । सडक स्तरोन्नति भएपछि यो मार्ग केवल यातायातको माध्यम मात्र नभई पर्यटन प्रवर्द्धनको प्रमुख आधार बन्दै जाने छ । यसै सडकखण्डसँग जोडिएको सिद्धदेवी टि-स्टेट प्रालिले करिब डेढ दशकदेखि अर्गानिक चिया उत्पादन गर्दै अन्तर्राष्ट्रिय बजारसम्म आफ्नो पहिचान विस्तार गरेको छ। आधुनिक कृषि अभ्यास, जैविक मलको प्रयोग र स्थानीय श्रमशक्तिको उपयोगमार्फत उत्पादन गरिएको चिया विश्व बजारमा समेत निर्यात हुँदै आएको उद्योगले जनाएको छ। सन् २०२४ मा उत्कृष्ट अर्गानिक चिया उत्पादनबापत प्राप्त अन्तर्राष्ट्रिय सम्मानले उद्योगको पहिचान थप मजबुत बनाएको छ।टि-स्टेट प्रालिले चिया प्रशोधन कार्य सुरु गरेपछि स्थानीय किसानलाई ठूलो राहत मिलेको छ। किसानले उत्पादन गरेको हरियो चियापत्ती नजिकै प्रशोधन तथा बिक्री हुने भएकाले बजार खोज्नुपर्ने झन्झट घटेको छ। यसले बिचौलियाको प्रभाव घटाउने र किसानले उचित मूल्य पाउने अपेक्षा गरिएको छ। त्यस्तै, हालै सञ्चालनमा आएको सिद्धि विनायक टि-स्टेट प्रालिले पनि चिया प्रशोधन कार्य सुरु गरेको छ । सडकसँगै चिया उद्योग विस्तार भएपछि यस क्षेत्रमा रोजगारीका अवसर पनि बढ्दै गएका छन्। दैनिक मजदुरीदेखि प्राविधिक, प्रशोधन, प्याकेजिङ र व्यवस्थापनसम्मका क्षेत्रमा स्थानीय युवाले रोजगारी पाउन थालेका छन्। यसले गाउँमै रोजगारी सिर्जना भई वैदेशिक तथा आन्तरिक पलायन कम गर्न सहयोग पुगेको स्थानीयको भनाइ छ।
राँके-रवि-भेडेटार सडक आसपासको क्षेत्रमा चिया-पर्यटनको सम्भावना पनि तीव्र रूपमा विस्तार हुँदै गएको छ। हरिया चिया बगानबीच घुम्ने, फोटो खिच्ने, चिया चाख्ने र स्थानीय संस्कृति अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै जाने र विशेषगरी सप्ताहन्तमा कन्याम इलाम जस्तै आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढ्ने स्थानीयको बुझाइ छ ।स्थानीय होमस्टे, होटल, यातायात सेवा तथा स्थानीय उत्पादन बिक्री केन्द्रहरू विस्तार गर्न भने जरुरी छ । यसले स्थानीय व्यवसायलाई प्रत्यक्ष आर्थिक लाभ पुर्याउने छ। चिया-पर्यटनले केवल उद्योग मात्र होइन, समग्र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाइरहेको स्थानीय बताउँछन्। स्थानीय तह र सरोकारवालाहरूले यस क्षेत्रलाई व्यवस्थित चिया-पर्यटन गन्तव्यका रूपमा विकास गर्न सके इलाम-पाँचथर सीमाक्षेत्र पूर्वी नेपालको प्रमुख पर्यटकीय केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। सडक स्तरोन्नति, विश्रामस्थल निर्माण, साइनबोर्ड व्यवस्थापन र प्रभावकारी प्रचार-प्रसारमा ध्यान दिन सके यो क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण बन्न सक्ने उनीहरूको भनाइ छ।
फाल्गुनन्द गाउँपालिका-५ का अगुवा किसान इच्छ बहादुर चेम्जोङका अनुसार सडकको दुवै किनारमा योजनाबद्ध रूपमा चिया बगान विस्तार गर्न सके यस क्षेत्रको सौन्दर्य र पर्यटकीय आकर्षण अझ बढ्नेछ। यसले पर्यटनसँगै कृषि अर्थतन्त्र, रोजगारी र आयआर्जनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। निर्माण सम्पन्नतर्फ उन्मुख राँके-रवि-भेडेटार सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि यो क्षेत्र इलामको कन्यामजस्तै प्रमुख चिया-पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ। साथै राँके, देउराली, पुरानो पञ्चमी, घुर्बिसे पञ्चमी, दशमी, उत्तरे सप्तमी, रवि बजार, चिसोपानी पञ्चमी हुँदै धनकुटासम्मका बजार क्षेत्रको व्यापार-व्यवसाय विस्तार हुनुका साथै आर्थिक चहलपहलसमेत बढ्ने अपेक्षा गरिएको छ।

































































