
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, भदौ १६ गतेदेखि मसान्तसम्म पालिका तहका अधिवेशनहरू हुनेछन् भने असोज मसान्तभित्र जिल्ला तहका र कात्तिक १५ गतेसम्म प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरिने कार्यसूची तय गरिएको छ ।
यी सबै प्रक्रिया पूरा भएपछि मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा भव्य रूपमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने ज्वालाले जानकारी दिए ।
पार्टीले महाधिवेशनमार्फत वैचारिक, राजनीतिक र सांगठनिक स्पष्टता कायम गर्ने र सबै तहका कमिटीहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने योजना बनाएको छ । महाधिवेशनका लागि आवश्यक दस्ताबेज, प्रतिवेदन र कार्यविधिहरू केन्द्रीय कार्यसमिति बैठकले तयार पार्ने निर्णय समेत भएको छ ।




















































