
सानै छँदा गाउँमा तीर्थयात्राबाट फर्किएका हजुरबुवा हजुरआमा र अग्रजहरुले “हरिद्वार” पुगेको कुरा सुनाउँदा मेरो मनमा कौतुहल जाग्थ्यो । हरिद्वार कस्तो ठाउँ होला ? कति टाढा होला ? त्यहाँ पुग्न कस्तो बाटो पार गर्नुपर्ला ? बाल्यकालको त्यो कल्पना समयसँगै मनको कुनामा बसिरह्यो । कहिलेकाहीँ लाग्थ्यो सायद जीवनमा कहिल्यै पुग्न नपाइने ठाउँ हो कि ? तर समयले कहिलेकाहीँ यस्ता सपनालाई पनि विपनामा परिणत गरिदिँदो रहेछ ।
२०८२ साल फागुन २८ गते बिहान त्यो पुरानो जिज्ञासाले यात्राको रूप लियो । पतञ्जली योग पिठको आयोजनामा भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा रहेको समृद्ध ग्राममा सात दिने मुख्य योग शिक्षक प्रशिक्षण शिविरमा सहभागी हुन हामी यात्रा तय गर्दै थियौं । म आफु पनि योग अभ्याससँग जोडिएको साधक भएकाले यो अवसर केवल यात्रा मात्र होइन, सिकाइ र अनुभवको ठूलो अवसर पनि थियो । त्यसैले मनमा धेरै उत्साह र थोरै कौतुहल पनि । त्यो बिहान फिदिमबाट हामी ट्याक्सी चढेर निस्कियौं । हाम्रो गाडी तमोर करिडोरको बाटो हुँदै अघि बढ्दै गयो।
पहाडका काखमा फैलिएको हरियाली, खोलाको आवाज र घुम्तीदार बाटोले यात्रालाई सुरुबाटै रमाइलो बनाइरहेको थियो। गाडीभित्र भने गीत, कुराकानी र हाँसोको माहोल चल्दै थियो। यात्रामा यस्ता क्षणहरू निकै रमाइला हुन्छन।
हामी पाँचथरबाट १४ र तेह्रथुमबाट १ जना गरी १५ जनाको सानो टोली थियौं । तर जोगवनी पुग्दा हाम्रो समूह अझ ठूलो भयो । ताप्लेजुङ, झापा र ओखलढुंगाबाट आएका योग साधकहरू पनि त्यही गन्तव्यतर्फ लाग्नु भएको थियो । यसरी विभिन्न जिल्लाबाट आएका साथीहरू जोडिँदै जाँदा हाम्रो टोली ४१ जनाको भयो । फरक फरक ठाउँका भए पनि उद्देश्य एउटै थियो योग सिक्ने र हरिद्वार पुग्ने ।
जोगवनीमा पुगेपछि यात्राका लागि आवश्यक सामान किनमेल गर्यौ । भारतमा इन्टरनेट प्रयोग गर्न भारतीय सिमकार्ड नै चाहिन्थ्यो । हामीले ल्याएका केही सिम चल्न छोडेका रहेछन् भने केही अझै सक्रिय थिए । अन्ततः चलिरहेका सिमकै सहारामा सम्पर्क व्यवस्थापन गर्ने निर्णय भयो । यात्रामा यस्ता साना–साना समस्याहरू आउँछन्, तर मिलेर समाधान गर्दा त्यो पनि एउटा अनुभव नै बन्दो रहेछ ।
त्यो साँझ हामी रेल चढ्ने तयारीमा थियौं । राति ८ बजेको रेलको टिकट थियो । रेल्वे स्टेशनमा पुग्दा यात्राको अर्को चरण सुरु हुँदै थियो । त्यही बेला पतञ्जली योग समिति पाँचथरका जिल्ला अध्यक्ष हरि प्रकाश सुवेदी हामीलाई बिदाइ गर्न आउनुभयो । उहाँले शुभकामना दिँदै हाम्रो टोलीलाई ताप्लेजुङ जिल्ला अध्यक्ष सुष्मा शाक्य र कोशी प्रदेश सदस्य शान्ति मादेनको साथ लगाएर फर्कनुभयो ।
रेल चढेपछि यात्राले नयाँ अनुभव दिन थाल्यो । धेरैका लागि यो पहिलो रेल यात्रा थियो । रेलका तीन तहका सिट माथि, बीच र तल हामीलाई सुरुमा अलि अनौठा लागे । कोही सिट मिलाउने , कोही सामान राख्ने । केही समयपछि सबैजना आ–आफ्नो ठाउँमा व्यवस्थित भयौं त्यसपछि सुरु भयो यात्राको रमाइलो पाटो—गीत, अन्ताक्षरी, हाँसो र कुराकानी ।
साँझ ८ वजे जोगवनीबाट सुरु भएको थियो हाम्रो रेल यात्रा । हामी सबै पाँचथर, ताप्लेजुङ, तेह्रथुम,ओखलढुङ्गा र झापाका सहयात्रीहरू । पाँचथरबाट म राधा सँग बिमला बाँस्कोटा, रीता बराल, चिन्ता पोख्रेल, बिना काफ्ले, कविता रिजाल, द्रौपदा अधिकारी, जानुका गौतम, सीता बोहोरा, पुष्पा सुवेदी, बिमला श्रेष्ठ, कौशल्या श्रेष्ठ, चन्द्रकला थापा र जानकीमाया दाहाल यी १४ जना हुनुहुन्थ्यो । तेह्रथुमबाट पद्मा थपलिया पनि हाम्रै टोलिमा ।
ताप्लेजुङबाट जिल्ला अध्यक्ष शुष्मा शाक्यसँगै कोशी प्रदेश सभा सदस्य शान्ती मादेन, भिमा ओझा, मुना राई, सजिना शाक्य, सविता गौतम, राधा न्यौपाने, लिला बराल, चन्द्रा पालुङवा, शुसीला मादेन, तिलरुपा विक, लालुमाया सार्की, पार्वता निरौला, हिमकला अधिकारी र सीता विष्ट गरी १७ जनाको समूह ।
झापाबाट निर्मला रामदाम, सम्झना अधिकारी, दुर्गा चौहान, कल्पना शेर्पा, पिंकी अग्रवाल र गोमा तिम्सिना हामां साथमा हुनुहुन्थ्यो। नाम फरक भए पनि उद्देश्य एउटै थियो यात्रा र अनुभव ।
रेलको यात्रा हामी मध्ये धेरैका लागि पहिलो अनुभव थियो । हामीले बाटोका लागि घरबाटै खाना बोकेका थियौं । रेल गुडिरहँदा कहिले झ्यालबाहिरका दृश्य हेथ्र्यौँ, कहिले साथीहरूसँग गफिन्थ्यौँ । पटना, कानपुर हुँदै करिब २६ घण्टाको यात्रापछि हामी दिल्लीको आनन्द विहार स्टेशन पुग्यौं । लामो यात्रा भएकाले शरीर थाकेको थियो, तर नयाँ ठाउँ पुगेको उत्साहले थकानलाई हल्का बनाइरहेको थियो ।
दिल्लीमा हामीलाई रिसिभ गर्न पर्यटन व्यवसायी होमनाथ दाहाल दम्पती आउनु भएको थियो । उहाँहरूको बसमा चढेर हामी पहाडगञ्जतर्फ लाग्यौं । त्यो रात पहाडगञ्जकै होटलमा आराम गरियो । हाम्रो योजना दिल्लीमा दुई दिन घुम्ने थियो, त्यसैले भोलिपल्ट बिहानैबाट भ्रमण सुरु भयो ।
सबैभन्दा पहिले हामी वृन्दावनको प्रेम मन्दिर पुग्यौं, मन्दिरको विशालता र सौन्दर्य देख्दा केही क्षण हामी सबै पुलकित भयौं । उज्यालो सेतो संरचना, सुन्दर बगैँचा र कलात्मक मूर्तिहरूले त्यो स्थानलाई अत्यन्त आकर्षक बनाएको रहेछ ।
श्रीकृष्णका बाललीलाका कथा केवल सुन्ने कुरा होइनन्, अनुभव गर्ने कुरा रहेछन् । साँझतिर यमुना किनारमा भजन किर्तन हुन्छ रे । जहाँ बसेर भजन सुन्दा मन आफैँ हलुका हुँदै जान्छ भनेर अग्रजहरु अनुभव सुनाउदै हुनुहुन्थ्यो ।
उज्यालो सेतो संरचना, सुन्दर बगैँचा र कलात्मक मूर्तिहरूले त्यो स्थानलाई अत्यन्त अलौकिक अनुभुति दिलायो ।
बृन्द्राबन वास्तवमै अदभुत रहेछ । यहाँ त केवल एउटा जङ्गल मात्रै होला भन्ने हामीलाई लागिरहेको थियो । तर भारतका प्रशिद्ध चार धामको प्रतिकका रुपमा विभिन्न धार्मिक स्थलहरु अलौकिक र अद्भुत संरचना निर्माण गरिएका रहेछन । असंख्य ताल तलाउ,गुफा मन्दिर र देवस्थल अनि अद्भुत मुर्तीहरु यहाँ हामीले देख्यौं ।
यो क्रममा हामीलाइ वृन्दावनका चारधाम घुमेर त्यहाँका रमणीय दृश्यलाइ नियाल्ने अवसर मिल्यो । हामीले त्यहाँ समूहमा फोटो खिच्यौँ, दृश्यहरू क्यामेरामा कैद गर्यौं र केही समय शान्त वातावरणमा घुम्यौँ ।
मधुरा हुदै त्यसपछि हाम्रो यात्रा बरसानेतर्फ अघि बढ्यो राधाको जन्मस्थलतर्फ । बसबाट ओर्लिए पछि केही दूरी पैदल हिँड्नु पर्दो रहेछ । उकालो बाटो र भीडका बीच पनि सबैजना एकअर्कालाई साथ दिँदै अघि बढिरहेका थियौं । दर्शनपछि फर्कँदा साँझ पर्दै थियो। यात्राको थकान भए पनि मनमा सन्तोष थियो ।
त्यो दिन पुनः दिल्लीको पहाडगञ्ज फर्किएर अघिल्लो दिनकै होटमा बस्यौं । भोलिपल्ट दिल्लीका अन्य ऐतिहासिक स्थलहरू अवलोकन गर्ने अवसर मिल्यो । इन्डिया गेट पुग्दा त्यहाँको विशालता र व्यवस्थित वातावरणले ध्यान खिच्यो । यहाँका विभिन्न पर्यटकीय गन्तव्यहरु घुम्दै मोहित भयौं । ठाउँ ठाउँमा विदेशी पर्यटक पनि भेटिए । हामी नेपाली गीत गाउदै नाच्यौं र पर्यटकलाई पनि सँगै नचायौं । महात्मा गान्धीको समाधि स्थलमा पुग्दा वातावरण निकै शान्त थियो । त्यहाँ घुम्दै गर्दा पुनः विदेशी पर्यटकले हामीसँग फोटो खिच्न आग्रह गरे । हामीले हाँस्दै “रेसम फिरिरी” गीत गाइदियौँ । उनीहरु हाम्रो गीतका तालमा रमाइ रमाइ नाचे ।
महात्मा गान्धिको समाधी स्थललाई राजघाट पनि भनिदो रहेछ यो केवल समाधि स्थल मात्र नभई विश्वभरका मानिसहरूका लागि श्रद्धा र सम्मान व्यक्त गर्ने महत्वपूर्ण स्थान बनेको छ, जहाँ देश–विदेशका राजनेता र पर्यटकहरू पुगेर गान्धीजीप्रति श्रद्धा अर्पण गर्छन ।
यहाँ गान्धीजीको स्मृतिमा “हे राम” लेखिएको छ, जसलाई उहाँको अन्तिम शब्द मानिन्छ ।
अब हामी लाग्यौं लालकिल्ला तर्फ भारतको लाल किल्ला ऐतिहासिक, सांस्कृतिक र वास्तुकलात्मक रूपमा अत्यन्त महत्वपूर्ण स्थल हो । यस्को ऐतिहासिक महत््व रहेछ । यस्को निर्माण १६४८ मा भएको रहेछ । जहाँको अद्वितीय वास्तुकलाले हाम्रो मन अझ पुलकित बनायो । यो किल्ला रातो बलुवा ढुंगाबाट बनेको भएकाले “लाल किल्ला” भनिएको रहेछ । जहाँ इस्लामिक, फारसी र भारतीय शैलीको मिश्रण यसको वास्तुकलामा देखिन्छ । जुन अत्यन्तै विशाल छ ।
लालकिल्ला घुम्दा घुम्दै हामीमा लोटस टेम्पल जाने इच्छा जागिसकेको थियो । हाम्रा पथ प्रदर्शकले लोटस टेम्पल बन्द हुने कुरा सुनाउदै हुनुहुन्थ्यो । तैपनी हामी गएरै छाड्यौं ।
अर्को दिन हाम्रो यात्रा हरिद्वारतर्फ मोडियो । बाटैमा थियो हड्की पौडी । जस्लाई ब्रह्म कुण्ड पनि भनिदो रहेछ । यहाँ गंगा स्नान गर्ने अवसर मिल्यो। गंगाको पानी चिसो थियो, तर त्यहाँ स्नान गरेपछि शरीर र मन दुवैलाई ताजगी दिए जस्तो । चिसो पानीमा पहिलो स्पर्श गर्दा झसङ्ग भयो, तर त्यसपछि एक किसिमको शान्ति फैलिँदै गयो । गङ्गा स्नान केवल शरीरको मैलो मात्रै पखाल्ने क्रिया नभएर भित्रका थकान, चिन्ता र अनिश्चितताको विदाइ र पाप मोचन हुने विश्वासको संगम रहेछ ।
गङ्गाको त्यो स्पर्श पछि हामी हरिद्वारको समृद्धग्राम तिर लाग्यौ हाम्रो मुख्य तालिम स्थल यहि थियो । यहाँको हावा नै फरक थियो अलि गहिरो, अलि ध्यानमग्न ।
हामी समृद्ध ग्राम पुग्यौं । ठूलो परिसर, हरियाली चौर र व्यवस्थित भवनहरूले त्यो स्थानलाई विशेष बनाइरहेको रहेछ । हामीलाई तीन–चार जनाको समूह बनाएर कोठामा बस्ने व्यवस्था गरिएको थियो । केही समय आराम गरेपछि मुख्य योग प्रशिक्षक प्रशिक्षण शिविरको औपचारिक प्रक्रिया सुरु भयो ।
योग प्राचीन भारतमा विकसित भएको एक आध्यात्मिक र शारीरिक अभ्यास हो, जसले शरीर, मन र आत्मालाई सन्तुलित राख्न मद्दत गर्छ । यसमा आसन, प्राणायाम र ध्यानका माध्यमबाट स्वास्थ्य सुधार र मानसिक शान्ति प्राप्त गर्ने उद्देश्य हुन्छ । बाबा रामदेव भारतका प्रसिद्ध योग गुरु तथा सामाजिक अभियन्ता हुनुहुन्छ ।
उहाँले योग र प्राणायामलाई सरल तरिकाले सिकाएर आम मानिस सम्म पु¥याउन ठूलो भूमिका खेल्न ुभएको छ । उहाँ पतञ्जलि योगपीठका प्रमुख व्यक्तित्व हुनुहुन्छ र आयुर्वेदको प्रवद्र्धनमा सक्रिय रहनुहुन्छ । उहाँका कार्यक्रमहरू मार्फत धेरै मानिसले स्वास्थ्य प्रति सचेतना र योग अभ्यास अपनाउन थालेका छन ।
चैत ३ गते हाम्रो सप्ताहव्यापी तालिम सुरु भयो । विहान ४ देखि साँझ ८ बजेसम्म तालिकामा चल्ने शिविरको दिनचर्या निकै महत्वपूर्ण थिए । बिहान ४ः३० बजे योग अभ्यास सुरु हुन्थ्यो । त्यसपछि विभिन्न गुरुहरूबाट योग विज्ञान, आध्यात्मिक जीवन, स्वास्थ्यकर जीवनशैली र सामाजिक जिम्मेवारीका विषयमा प्रशिक्षण दिइन्थ्यो । सात दिनको त्यो सिकाइ केवल योग अभ्यास मात्र थिएन त्यो जीवनलाई नयाँ दृष्टिले बुझ्ने अवसर पनि थियो ।
यहाँ गुरुहरु पूज्य साध्वी देवादिती, डाक्टर करुणा साध्वी देवप्रिया, डा. अश्विनी कुमार, स्वाती आर्या लगायत गुरुहरूको शिक्षाले जीवनलाई नयाँ दृष्टिले बुझ्ने अवसर दियो ।
शिविरका क्रममा सयौँ सहभागीहरू एकै ठाउँमा बसेर सिकिरहेका थियौं जहाँ कोशी,गण्डकी र मधेश प्रदेशका ५सय अधिक हामी सहभागी थियौं । यत्तिका सहभागीलाई खाने बस्ने व्यवस्थापन गर्न आयोजकका लागि चानचुने कुरो थिएन । त्यहि बेला मध्यपुर्वमा अमेरिका इराक र इरान विचको युद्ध चर्कदै थियो । ग्यास अभाव भइसकेको अवस्थामा हाम्रा लागि खानेकुरा पकाउन दाउराको बाल्न आयोजकका लागि बाध्यता बन्यो । त्यही बेला नव रात्र सुरु भएकाले हामी पनि उपवासमा सामेल भयौं ।
विभिन्न प्रदेश र जिल्लाबाट आएका महिलाहरूको सहभागिता देख्दा योगप्रति बढ्दो चासो स्पष्ट देखिन्थ्यो । कहिलेकाहीँ मौसम परिवर्तनका कारण केही साथीहरूलाई रुघाखोकी वा ज्वरो पनि आयो, तर उत्साह कम भएन ।पाचौं दिन गुरुधाम जाने मौका मिल्यो जहाँ पुज्य गुरु स्वामी रामदेव सँग साक्षात्कार गर्ने अवसर मिल्यो । उहाँको आशिर्वादले त्यो क्षण झन् अविस्मरणीय बनायो ।
पतञ्जलि योगपीठ अन्तर्गतको गुरुधाम पुग्दा शान्त महशुस भयो आखिर यहि थियो हाम्रो गन्तव्य । गुरुधाम पहिले विचारसँग भेट, त्यसपछि भावनासँग, र अन्त्यमा आत्मासँग । अन्त्यतिर हामीले गुरु स्वामी जी महाराजबाट दिक्षित हुने अवसर पायौं । त्यो क्षण धेरैका लागि विशेष थियो ।
किन भने टेलिभिजनमा मात्र देखेका गुरुलाई प्रत्यक्ष भेट्दा अद्भुत उर्जा प्राप्त भएको अनुभुति भयो । उहाँले हामीलाइ शिरमा हात राखेर आशिर्वाद सहित दिक्षा प्रदान गर्दाको अनुभुती यहाँ शव्दमा व्यक्त गर्नै सकिन्न । बाबाजीसँगको साक्षातकार पछि हामीले बाल्मीकी आश्रम,गौशाला, योग ग्राम, लगायतका स्थानहरूको अवलोकन पनि गर्यौँ । त्यहाँको व्यवस्थित वातावरण र प्रकृतिसँग नजिकको जीवनशैली देख्दा धेरै कुरा सिक्न पाइयो ।
योग ग्राम भारतको हरिद्वार मा रहेको एक विशेष योग तथा प्राकृतिक उपचार केन्द्र हो, जसको सञ्चालन पतञ्जलि योगपीठ ले गर्छ । यहाँ योग, ध्यान, आयुर्वेद र प्राकृतिक चिकित्सा मार्फत मानिसहरूको शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्ने कार्यक्रम सञ्चालन गरिन्छ । योग ग्राम शान्त वातावरणमा रहेकोले स्वास्थ्य उपचार र जीवनशैली सुधारका लागि उपयुक्त स्थान मानिन्छ, जहाँ देश–विदेशबाट मानिसहरू योग अभ्यास र उपचारका लागि आउने गर्छन ।
यहि मौकामा हामी गौशाला र वाल्मिकी आश्रम जस्ता दर्जन बढि स्थान पुग्दा फुलैफुलका बगैंचामा सजिएका स्वर्ग झैं लाग्यो ।
शिविरको अन्तिमतिर परीक्षा भयो । केहीका लागि त्यो सजिलो थियो, केहीका लागि अलि गाह्रो। तर सबैले आ–आफ्नो प्रयास गरे। अन्तिम दिन प्रमाणपत्र वितरण भयो र सात दिनको शिविर औपचारिक रूपमा सम्पन्न भयो।
परिक्षाको अघिल्लो साँझ किनमेलका लागि वेलनेस सेन्टर गयौं । जहाँ पतञ्जलीले उत्पादन गरेका आयुर्वेदका सामग्री पाइन्छन ।
शिविर सकिएपछि हामीले मन्सादेवी मन्दिरको दर्शन गर्ने योजना बनायौं । केवलकार चढेर माथि पुग्दा तल फैलिएको हरिद्वार शहर निकै सुन्दर देखिन्थ्यो । साँझतिर हामी फेरि हड्की पौडी पुगेका थियौँ जहाँ गंगा आरती भइरहेको थियो । दीपको उज्यालो, मन्त्रको ध्वनि र नदीको बहावले त्यो दृश्यलाई अत्यन्त आध्यात्मिक बनाएको थियो ।
अन्ततः फर्कने समय आयो । राति बस चढेर हामी दिल्लीतर्फ लाग्यौँ । त्यहाँबाट फेरि रेल चढेर जोगवनी फर्कियौँ । रेलको यात्रामा फेरि उही गीत, गफ र सम्झनाहरू दोहोरिए। हामीले गुरुधाममा असङख्य पुस्तक र ज्ञानका ठेलीहरु प्राप्त गर्यौं ।
अब गुरुधाममा प्राप्त ज्ञानलाइ व्यवहारमा उतार्ने अभिभारा हामीसँग छ । साथै त्यहाँ प्राप्त पुस्तकका ठेली अध्यन गर्दै जीवनलाइ योग ध्यान अध्यात्म र आयुर्वेदको सार बनाउनु छ ।
जोगवनीबाट गाडी चढेर जब हामी पाँचथर तर्फ फर्कियौं । १५ दिनको यात्रा सकिँदै थियो। बाटो उही थियो, पहाड उही थिए, तर मन भने अलि फरक भइसकेको थियो । यात्राले हामीलाई नयाँ साथी, नयाँ अनुभव र नयाँ ऊर्जा दिइसकेको थियो ।
घरको आँगनमा पाइला टेक्दा पुन बाल्यकालमा सुनेको हरिद्वार शव्दको स्मरण भयो । हरिद्धार अब केवल कल्पना मात्र रहेन त्यो मेरो आफ्नै यात्राको सम्झना बनेर मनमा बसिसकेको छ । हरिद्वारवाट फर्केपछि म अहिले हाम्रो योग यात्राको अनुभव परिवार आफन्त र साथीभाइलाइ सुनाइरहेकी छु । ताकि म सानै छँदै सो पुण्यधामका बारे अग्रज र अविभावकले चर्चा गर्दा मलाइ त्यहाँ पुग्ने इरादा जागेको थियो । आखिर पुरा भएरै छाड्यो । हरिद्धार गुरुधाम सम्मको यात्राका क्रममा बृन्दावन र दिल्ली हुँदै गङ्गा स्नान र आरतीको दर्शन गर्ने मौका मिल्यो ।
अन्त्यमा जादा जादा जादै यो अवसर प्रदान गर्नु हुने पतञ्जली योग समिति र महिला पतञ्जली योग समिति पाँचथरसँगै आयोजक परिवार,हरिद्धारमा खट्नुहुने आदरणीय गुरुजनहरु, खाना खुवाउनु हुने र खानामा खट्नु हुने महानुभावहरु संगै घरपरिवार,जीवनसाथी लक्ष्मी, छोरी समृद्धी, हामीले सञ्चालन गरको रेडियो मितेरीमा मेरो समेत जिम्वेवारी खप्टेर यात्रा सार्थक पार्न सहयोग गर्ने भाइ कृष ढुङ्गाना र सहकर्मीहरु साथै यात्राका क्रममा हर कदम साथ सहयोग र सकरात्मक उर्जा प्रवाह गर्नुहुने सहयात्रीहरुमा फेरि पनि एक पटक आभार । यहाँहरुले लगाउनु भएको गुन जीवनभर ताजा रहनेछ ।समाप्त !


















































