बरबोटेमा जेष्ठ नागरिक-विद्यार्थी संवाद कार्यक्रम सम्पन्न

इलाम: कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा तथा कोशी प्रदेश जेष्ठ नागरिक महासङ्घ विराटनगरको सहजीकरणमा ‘जेष्ठ नागरिक ज्ञान, सीप र अनुभव पुस्तान्तरण’ कार्यक्रम सम्पन्न भएको छ। अमर माध्यमिक विद्यालय बरबोटे, इलाममा आयोजना गरिएको कार्यक्रमको संयोजन जेष्ठ नागरिक जिल्ला संघ इलामले गरेको थियो।

जेष्ठ नागरिक जिल्ला सङ्घ इलामका अध्यक्ष देवी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक इलामका उपाध्यक्ष तथा प्रदेश महासङ्घका सदस्य प्राज्ञ कोमल निरौला, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष राजेन्द्र चौहान, विद्यालयका प्रधानाध्यापक रोमनाथ शर्मा, प्रदेश महासङ्घका सदस्य देवी बास्कोटा, सल्लाहकार शिव अधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा ९१ वर्षीय जेष्ठ सदस्य राधाकृष्ण श्रेष्ठसहित  ६० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन सचिव जयनारायण भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य कोमल निरौलाले व्यक्त गरेका थिए। अभिमुखीकरण सत्रमा देवी बास्कोटाले पुस्ता के हो, यसको निर्धारण कसरी हुन्छ, पुस्ता वर्गीकरण, सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक तथा ऐतिहासिक परिवेशका आधारमा पुस्ताको पहिचानबारे सहजीकरण गरेका थिए।

प्राज्ञ कोमल निरौलाले आफ्नो जीवनका दुःख–सुखका अनुभव सुनाउँदै पहिलेको र अहिलेको जीवनशैलीबीचको अन्तरबारे चर्चा गरे। कार्यक्रममा जेष्ठ नागरिक र विद्यार्थीबीच अनुभव आदानप्रदान गरिएको थियो। जेष्ठ नागरिकहरूले नैतिक शिक्षा, अनुशासन, व्यवहारिक ज्ञान र जीवन अनुभव विद्यार्थीसँग साझा गरेका थिए।

सहभागी विद्यार्थीहरूले आफूहरूले नसुनेका धेरै ज्ञान सिक्न पाएको बताउँदै यसलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले जेष्ठ नागरिकप्रति गर्नुपर्ने सम्मानजनक व्यवहार र यस्ता कार्यक्रमले क्षमता विकासमा सहयोग पुग्ने धारणा राखेका थिए।

कार्यक्रममा जेष्ठ नागरिकहरूले पुस्ताबीच ज्ञान हस्तान्तरणलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै आगामी दिनमा यस्ता कार्यक्रम अझ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार