
पाँचथरः फाल्गुनन्द गाउँपालिकाले नागरिकको स्वास्थ्य सुधार, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा नसर्ने रोग नियन्त्रण गर्ने उद्देश्यले ‘स्वस्थ जीवनशैली कार्यक्रम’ सञ्चालन गरेको छ।
गाउँपालिकाले योग, आयुर्वेद तथा स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञानलाई व्यवहारमा लागू गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा सहभागीहरूलाई दैनिक योग अभ्यास, सन्तुलित आहार, जीवनशैली सुधार र स्थानीय स्तरमा पाइने जडिबुटीहरूको प्रयोगबारे जानकारी गराइएको छ।
यस कार्यक्रमअन्तर्गत गाउँपालिकाका सातवटै वडामा सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रममा वडा नं. १ देखि ७ सम्म गरी २१० जना स्थानीयवासी सहभागी भएका थिए भने वडा नं. ५ स्थित श्री धुर्विसे पञ्चमी माध्यमिक विद्यालयका १०१ जना विद्यार्थीसमेत सहभागी भएका छन्। यसरी कुल ३११ जनाले प्रत्यक्ष लाभ लिएका छन्।
कार्यक्रममार्फत समुदायका मानिसहरूलाई नसर्ने रोगहरू जस्तै उच्च रक्तचाप, मधुमेह आदिबारे जानकारी दिँदै तिनबाट बच्ने उपाय सिकाइएको छ। साथै, तुलसी, गुर्जो, घ्यूकुमारी, असुरो, पुदिना जस्ता जडिबुटीहरूको चिनारी, प्रयोग र मात्रा सम्बन्धी जानकारी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले “एक घर पाँच योग, पाँच जडिबुटी” अभियानसमेत सञ्चालन गर्दै वडा नं. २, ३ र ६ का ९२ जनालाई योग तथा प्राणायाम (अनुलोम–विलोम, भ्रामरी, कपालभाती आदि) को अभ्यास गराएको छ।
आयुर्वेद सेवा विस्तारतर्फ पनि गाउँपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको छ। चालु आर्थिक वर्ष २०८२ साउनदेखि फागुन मसान्तसम्म गाउँघर क्लिनिकमार्फत १२३० जनालाई सेवा दिइएको छ भने विभिन्न आयुर्वेद औषधालयहरूबाट २३८३ जना बिरामीलाई उपचार तथा निःशुल्क औषधी वितरण गरिएको छ। यसैगरी ७८१ जनालाई पञ्चकर्म सेवा प्रदान गरिएको छ।
गाउँपालिकाले दीर्घरोगी तथा विपन्न नागरिकलाई समेत सहयोग गर्दै ४५ जना बिरामीलाई संघीय सरकारबाट प्रति व्यक्ति २ लाख रुपैयाँ अनुदान वितरण गरेको छ भने स्थानीय तहबाट मासिक ५ हजार रुपैयाँका दरले ८ महिनामा १८ लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको छ। स्वास्थ्य क्षेत्रमा अन्य कार्यक्रमहरू पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्। पूर्ण खोप सुनिश्चितता घोषणा, भिटामिन ‘ए’ तथा जुकाको औषधी वितरण, किशोरीहरूलाई आइरन चक्की खुवाउने कार्यक्रम लगायतका गतिविधिहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
कार्यक्रमको समापन चैत ९ गते वडा नं. ४ चिलिङदिनमा गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुर सिंह नेम्वाङ तथा वडाध्यक्षहरूको उपस्थितिमा गरिएको थियो। कार्यक्रममा डा. दिलिप कुमार यादव, राजु पराजुली, रामकृपाल यादव, राज कुमार श्रेष्ठ र प्रमोद यादव लगायतका स्वास्थ्यकर्मीहरूले सहजीकरण गरेका थिए। गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य सेवा विस्तार, जनचेतना अभिवृद्धि तथा सेवा गुणस्तर सुधार गर्ने लक्ष्य लिएको पालिका आयुर्वेद शाखा प्रमुख राजु पराजुलीले जानकारी दिए ।



















































