
पाँचथर : इलाम र पाँचथर सिमाना क्षेत्रमा पर्ने घुर्बिसे पञ्चमी आसपास एक शंकास्पद कुकुरमा रेबिज संक्रमण पुष्टि भएपछि स्थानीय तहले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
बुधबार दिउँसो घुर्बिसे पञ्चमी हुँदै मानिसलाई टोकेको कुकुर कुम्मायक गाउँपालिकामा पुगेर मरेको थियो। उक्त कुकुरको भेटेरिनरी अस्पताल पाँचथरका प्राविधिक टोलीले गरेको प्रारम्भिक परीक्षणमा रेबिज पोजेटिभ देखिएको जनाएको छ।
यो जानकारी पशुपंक्षी सेवा शाखा फाल्गुनन्द पाँचथरले सार्वजनिक गरेको हो। शाखाका अनुसार इलाम र पाँचथर सिमाना क्षेत्रको घुर्बिसे पञ्चमी आसपास तथा वडा नं. ५ अन्तर्गत नागेम्वा लगायतका स्थानमा उक्त रातो रंगको कुकुरले ५ देखि ६ जनालाई टोकेको जानकारी प्राप्त भएको छ।
सम्बन्धित निकायले सर्वसाधारणलाई अपरिचित कुकुर वा अन्य जनावर नजिक नजान, बालबालिकालाई एक्लै बाहिर नछोड्न तथा शंकास्पद कुकुर देखिएमा तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ। साथै, कुकुरले टोकेमा तत्काल साबुनपानीले घाउ सफा गरी नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार लिन समेत आग्रह गरिएको छ।
घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिले सबैलाई सचेत रहन र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अपिल गरेको छ।



















































