इलाम : इलामको माङसेबुङ गाउँपालिका-५ स्थित लारुम्बामा निर्माण भएको लारुम्बा सामुदायिक स्वास्थ्य इकाईको भवन मङ्गलबार उद्घाटन भएको छ ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले भवन उद्घाटन गरे । उद्घाटन कार्यक्रममा अध्यक्ष राईसहित प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईलगायत वडाबासी सरोकारवालाहरुको सहभागित रहेको थियो ।
नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को ३१ लाख १४ हजार ५७१ रुपैयाँको लागतमा एक तले चार कोठे पक्की भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए । सो भवन निर्माणका लागि नेपाल सरकारबाट ३९ लाख प्राप्त भएको थियो । गाउँपालिकाले ३७ लाख ८७ हजार २४८ लागत अनुमान गरेको थियो । ठेक्कामा ३१ लाख १४ हजार ५७१ को लागतमा निर्माण भएको प्रप्रअ राईले बताए ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हेमन्त राईले भवन निर्माणपछि सेवा प्रवाहमा कार्यालय र सेवाग्राही दुवैलाई सहजता मिल्ने अपेक्षा गरिएको बताए । उनले सेवाग्राहीको माग र अपेक्षा अनुसार काम गर्न आफूहरु सधैँ तत्पर रहेको बताए ।
माङसेबुङ गाउँपालिकामा पाँचवटा स्वास्थ्य चौकी, दुईवटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा सामुदायिक स्वास्थ्य इकाइमार्फत स्वास्थ्य सेवा प्रवाह भइरहेको प्रप्रअ राईले जानकारी दिए ।





































































