
इलाम : इलामको चुलाचुली गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुदृढीकरण गर्ने उद्देश्यले चुलाचुली-१ स्थित जनता माध्यमिक विद्यालयलाई १० लाख रुपैयाँ अनुदान प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विद्यालयमा भर्चुअल शिक्षण, ईलर्निङ, पुस्तकालय तथा विज्ञान प्रयोगशाला व्यवस्थापन गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक विशाल लिम्बूले जानकारी दिए ।
उनका अनुसार सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षण वातावरण विकास तथा शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यका साथ प्राप्त अनुदानलाई प्रभावकारी रूपमा उपयोग गरिनेछ । उनले विनियोजित बजेटको पूर्ण सदुपयोग गर्दै तोकिएको समयभित्रै आवश्यक संरचना तथा व्यवस्थापन कार्य सम्पन्न गरी विद्यालयलाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक-कर्मचारी तथा विद्यार्थीहरूले गाउँपालिकाले देखाएको सहयोग र तदारुकताप्रति गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङ, उपाध्यक्ष दिलु लावती, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, शिक्षा अधिकृत टंक खरेल तथा शिक्षा शाखाका प्रतिनिधि लगायत जनप्रतिनिधि र कर्मचारीहरूलाई आभार व्यक्त गरेका छन् ।
यस कार्यमा विद्यालयले आगामी दिनमा पनि स्थानीय तहबाट यस्तै अभिभावकीय सहयोग र सहकार्यको अपेक्षा राखेको जनाएको छ ।























































