
इलाम : इलामको माङसेबुङ गाउँपालिकामा एकैदिन तीन वटा स्वास्थ्य संस्थाको नवनिर्मित भवन उद्घाटन भएको छ । मङ्गलबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा नवनिर्मित चतुरे आधारभूत स्वास्थ्य केन्द्र, सोही वडाको मनिपुरमा निर्मित आत्मानन्द आधारभूत स्वास्थ्य केन्द्र र माङसेबुङ-५ मा निर्मित लारुम्बा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन भएको हो ।
गाउँपालिका अध्यक्ष हेमन्त राईले तीनवटै स्वास्थ्य संस्थाको भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा अध्यक्ष राईसहित उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत दिलसेर राई, ३ नं. वडा अध्यक्ष लक्षुमन राई जनम, स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार राई, इन्जिनियर (अधिकृत छैठौं) युवराज दाहाललगायत वडाबासी सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
चतुरेमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को ३० लाख र उपभोक्ताको तीन लाख ३३ हजार ३०२ रुपैयाँको लागत साझेदारी गरी ३३ लाख ३३ हजार ३०२ रुपैयाँको लागतमा चतुरे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो । नवनिर्मित भवन एकतले पक्की संरचनाको रहेको छ, जसमा ४ वटा कोठा रहेका छन् ।
स्वास्थ्य केन्द्र सञ्चालनका लागि हाल गाउँपालिकाको स्वास्थ्य शाखाबाट २ जना कर्मचारी खटाइने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए । थप जनशक्ति व्यवस्थापनका लागि दरखास्त आह्वान गरिएको उनले जानकारी दिए ।
पूर्ण सञ्चालनमा आएपछि स्वास्थ्य केन्द्रमा ५ जना कर्मचारी रहने योजना रहेको गाउँपालिकाले जनाएको छ । केन्द्रमा चौथो तहका अहेवको नेतृत्वमा सेवा प्रवाह हुने छ भने अन्य कर्मचारीमा अनमी र सहायक स्वास्थ्यकर्मी रहने बताइएको छ ।

त्यस्तै सोही वडाको मनिपुरमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को ४८ लाख ९४ हजार २६७ को लागतमा आत्मानन्द आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो । एक तले पक्की संरचनाको भवनमा पाँच वटा कोठा रहेका छन् । ४९ लाख ९२ लाख ५७७ को लागत स्टिमेट तयार सो भवन ठेक्का मार्फत ४८ लाख ९४ हजार २६७ मा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए । सो भवन निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख अनुदान प्राप्त भएको थियो ।
सो केन्द्रमा हेल्थ असिस्टेण्डको दरबन्दी भएपनि जनशक्तिको अभावमा अहिले अहेवको नेतृत्वमा स्वास्थ्य सेवा प्रवाह भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए ।
त्यसैगरी माङसेबुङ-५ मा नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को ३१ लाख १४ हजार ५७१ रुपैयाँको लागतमा लारुम्बा सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण भएको हो । एक तले चार कोठे पक्की भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए । सो भवन निर्माणका लागि नेपाल सरकारबाट ३९ लाख प्राप्त भएको थियो । गाउँपालिकाले ३७ लाख ८७ हजार २४८ लागत अनुमान गरेको थियो । ठेक्कामा ३१ लाख १४ हजार ५७१ को लागतमा निर्माण भएको प्रप्रअ राईले बताए ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हेमन्त राईले भवन निर्माणपछि सेवा प्रवाहमा कार्यालय र सेवाग्राही दुवैलाई सहजता मिल्ने अपेक्षा गरिएको बताए । उनले गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संस्था स्थापना गरेको बताए । उनले सेवाग्राहीको माग र अपेक्षा अनुसार काम गर्न आफूहरु सधैँ तत्पर रहेको प्रतिवद्धता जनाए ।
स्वास्थ्य संस्था सञ्चालनमा आएपछि माङसेबुङ-३ र ५ क्षेत्रका स्थानीय बासिन्दाले आधारभूत स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास लिइएको छ । माङसेबुङको एकै वडामा ३ वटा स्वास्थ्य संस्था सञ्चालन भएको एकमात्र वडा ३ नं. वडा बनेको छ ।
माङसेबुङ गाउँपालिकामा पाँचवटा स्वास्थ्य चौकी, दुईवटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा सामुदायिक स्वास्थ्य इकाइमार्फत स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।






































































