
इलाम : इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा बाल विवाह, बालश्रम र बाल दुर्व्यसन विरुद्धको अभिमुखीकरण मङ्गलबार कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा वडा कार्यालय भवनमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बालसञ्जाल, बालक्लब, शिक्षक, विद्यार्थी, स्वयम् सेविका तथा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता रुद्र थेवेले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख दीपा लिम्बूले गरेकी थिइन् ।
सन्दकपुर–५ लाई बालमैत्री वडा घोषणाको लागि तयारी गरिएको छ । सन्दकपुर गाउँपालिकाले बाल अधिकार संरक्षण र बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्दै सम्पूर्ण पालिकालाई बालमैत्री पालिका बनाउने अभियान सञ्चालन गरिरहेको जनाएको छ ।




















































