
इलामः फाकफोकथुम गाउँपालिकालाई चालु आर्थिक वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालको अध्यक्षता तथा जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईको प्रमुख आतिथ्यतामा आइतवारआमचोकस्थित गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी, आमा समूहका सदस्यहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

पूर्णखोप सुनिश्चितता निर्देशिका २०७९ (संशोधन सहित) बमोजिम गाउँपालिकाले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी घोषणा गरेको हो । पालिकाभित्र रहेका १५ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि पालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै वक्ताहरूले ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने मूल नारालाई व्यवहारमा उतार्दै बालबालिकाको स्वास्थ्य सुरक्षामा खोपको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनीहरूले आगामी दिनमा कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले नियमित अनुगमन, प्रभावकारी समन्वय तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका क्रममा गाउँपालिकाले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई दिगो बनाइराख्न दीर्घकालीन योजना अघि बढाउने, छुटेका तथा जोखिममा रहेका बालबालिकाको पहिचान गरी खोप पहुँच सुनिश्चित गर्ने, तथा जनचेतनामूलक कार्यक्रमहरूलाई थप सशक्त बनाउने रणनीतिमा जोड दिएको जानकारी दिइयो। यस अभियानलाई सफल बनाउन खोप समन्वय समितिका पदाधिकारी, सबै वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी, सञ्चारमाध्यम, आमा समूह, स्थानीय संघ-संस्था र सम्पूर्ण पालिकाबासीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरिएको छ।

यसै अवसरमा फाकफोकथुम गाउँपालिका ३ नम्बर वडालाई पनि पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ। उक्त वडामा पनि १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गरिएको छ। वडा स्तरबाट सुरु गरिएको अभियान पालिका स्तरसम्म विस्तार भई समग्र पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको हो।
कार्यक्रम फाकफोकथुम गाउँपालिका खोप समन्वय समितिको सचिवालय आमचोक, इलामको आयोजनामा सम्पन्न भएको हो।कार्यक्रमको अन्त्यमा उपस्थित सबै सरोकारवालाहरूले हस्ताक्षरसहित सामूहिक प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने सुनिश्चित गर्ने अठोट व्यक्त गरेका थिए। यसै क्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख याम बस्नेले कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रममा प्रमुख आतिथि राई, पालिका अध्यक्ष खनाल, जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक,उपाध्यक्ष कल्पना राई,विभिन्न पार्टीका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानस्वरूप प्रमाणपत्र समेत प्रदान गरिएको थियो।



















































