नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव, पत्रकार पौडेल पुरस्कृत

इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले आफ्नो दशौं वार्षिक उत्सव कार्यक्रम बिहीबार विभिन्न कार्यक्रम गरी मनाएको छ । जिल्ला समन्वय समिति इलामको सभाहलमा वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर)-२०८३ सार्वजनिक भएको छ । नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ,  जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईसहित, प्रमुख जिल्ला अधिकारी ढकाल, प्रहरी प्रमुख (एसपी) कुलदिप चन्द, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बुद्धमाया सोङ्मी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय सदस्य अति योङहाङ, नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष भीम चापागाईं, निवर्तमान अध्यक्ष विप्लव भट्टराई एवम् जिल्लाका संचारकर्मीहरुले संयुक्त रुपमा सार्वजनिक गरे ।

यस्तै नयाँ बुलन्द डटकमको वार्षिक उत्सवको अवसरमा बर्सेनि एक जना इलामका पत्रकारलाई पुरस्कृत गर्ने गरी स्थापना गरेको १० हजार राशीको ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’ बाट चुलाचुलीका क्रियाशील युवा पत्रकार देवेन्द्र पोडेल पुरस्कृत भएका छन् । उनलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख  राईले राईले दोसल्ला र सम्मानपत्र सहित १० हजारको चेक हस्तान्तरण गरे ।

२०७५ सालदेखि दक्षिणी इलामको चुलाचुली गाउँपालिकाबाट पत्रकारितामा क्रियाशील पौडेल स्थानीय इलाम टाइम्स डटकम र झापाबाट सञ्चालित हिमशिखर टेलिभिजनमा आवद्ध छन् ।

ग्रामीण पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा पुर्याएको योगदानको कदर गर्दै नेपाललाई सम्मान सहित पुरस्कृत गरिएको नयाँ बुलन्द डटकमका सम्पादक योङहाङले बताए । ‘नागरिकलाई सूचनाको हक प्रत्याभूति गराउन पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान सहित पुरस्कृत गरिएको हो’ सम्पादक योङहाङले भने, ‘वार्षिक रूपमा एकजना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्नेछौँ ।’

कार्यक्रममा वक्ताहरूले लोकतान्त्रिक समाज निर्माण, विकास र समृद्धिका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारितालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिसस प्रमुख राई, प्रजिअ ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य सोङ्मी, फोनिज केन्द्रीय सदस्य योङहाङ, नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष चापागाईं र पुरस्कृत पत्रकार पोडेलले मन्तव्य राखेका थिए ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालक उपसम्पादक प्रकाश नेपालले गरेका थिए ।

सूचना तथा प्रशारण विभागमा दर्ता गरी २०७४ वैशाखदेखि संचालित नयाँ बुलन्दले युट्युब च्यानल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ । नयाँ बुलन्द  प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्डमा समेत सूचिकृत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार