पोखरीमा खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा कर्मचारी एफसी ११ विजयी

  युद्धबहादुर बोहोरा
252 Shares

इलामः नयाँ वर्ष २०८३ को अवसरमा इलामको फाकफोकथुम ६ स्थित पोखरीमा आयोजित खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। पोखरी युवा क्लबको आयोजनामा जानकी माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको तेस्रो संस्करणको प्रतियोगितामा इलाम र पाँचथरका १६ टोली सहभागी भएका छन्।

“विकास, अनुशासन, गतिशीलता, युवाले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताको उद्घाटन टंकनाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम क्लबका अध्यक्ष उमेश गुरुङको अध्यक्षतामा सुरु भएको हो। आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि स्थानीयबासी, संघ-संस्था, शुभेच्छुक तथा वैदेशिक रोजगारीमा स्थानीय युवाहरु ७४ जनाबाट करिब दुई लाख रुपैयाँ आर्थिक सहयोग जुटाइएको आयोजक क्लबका कोषाध्यक्ष नविन अधिकारीले जानकारी दिए। प्रतियोगिता आगामी वैशाख १ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन खेलमा खान्द्रुङ एफसी र फाकफोकथुम कर्मचारी एफसी ११ बीच प्रतिस्पर्धा भएको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथसम्म पुगेको थियो। अन्ततः कर्मचारी एफसी ११ ले ८–७ गोल अन्तरले खान्द्रुङ एफसीलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो।

खान्द्रुङ एफसीका जर्सी नम्बर १७ का खेलाडी आशिष राईको आठौं प्रहारलाई फाकफोकथुम कर्मचारी एफसी ११ का गोलरक्षक मौसम लिम्बुले उत्कृष्ट बचाउ गरेपछि खेलको निर्णय भएको थियो। खेलमा मुख्य रेफ्री धड्कन राईले भूमिका निर्वाह गरेका थिए।

आजै सम्पन्न दोस्रो खेलमा सिमसारा एफसीले फुङ्मा एफसी लाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। पराजयसँगै फुङ्मा एफसी प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा  फाकफोकथुम कर्मचारी एफसी ११ का गोलरक्षक ओसन लिम्बु र दोस्रो खेलमा सिमसारा एफसीका जुहाङ राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा विजेता टोलीले ७० हजार ७७० रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ४० हजार १४० रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार