इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा जारी ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव प्रथम खुला नकआउट फुटबल प्रतियोगिता’ मा बिहीबार गैरीगाउँ एफसी र चिबुवा एफसी विजयी भएका छन् । पहिलो खेलमाहिलो खेलमा फ्युचरस्टार एफसीलाई १-० गोल अन्तरमा पराजित गर्दै गैरीगाउँ एफसी विजयी बन्यो । गैरीगाउँको जितका लागि एकमात्र निर्णायक गोल सुन्दर लिम्बूले गरे । दोस्रो खेलका लागि निर्धारित समयमा दशमी युवाक्लब उपस्थित नभएपछि चिबुवा एफसी स्वत विजेता घोषित हुँदै अघिल्लो चरण प्रवेश गर्यो । प्रतियोगिता अन्तर्गत शु्क्रबार पनि दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा मान्द्रे एफसी र आयोजक चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समिति एवम् दोस्रो खेलमा माङसेबुङ गाउँपालिका र लालीगुराँस एफसी जापाबिच प्रतिष्पर्धा हुने मुख्य आयोजक समिति सचिव अनिस सुनुवारले जानकारी दिए । फुटबल प्रतियोगितामा झापा, इलाम र पाँचथरका १६ टिमको सहभागिता रहेको छ । फुटबलका विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको फाइनल वैशाख १ गते हुनेछ । चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा चतुरे बजार कृषि तथा पर्यटन महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।



















































