उपाधिका लागि वरभञ्ज्याङ र पाटीगाउँ भिड्दै

  नयाँ बुलन्द
63 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङमा जारी टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि वरभञ्ज्याङ टोल विकास संस्था र पाटीगाउँ टोल विकास संस्थाबीच प्रतिष्पर्धा हुँदैछ ।

सोमबार हुने फाइनल खेलमाभ वरभञ्ज्याङ र पाटीगाउँबीच प्रतिष्पर्धा हुने आयोजक समिति सचिव लोकेन्द्र लिम्बू (बाजहाङ) ले जानकारी दिए । प्रतियोगिताका विजेता टिमले ३० हजार बराबरको खसी र उपविजेताले २० हजार बराबरको खसी पाउनेछन् ।

यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा घोर्लेभिर टोल विकास संस्थालाई टाइब्रेकरमा पराजित गर्दैं वरभञ्ज्याङले फाइनलको यात्रा तय गरेको थियो । निर्धारित समयमा दुवै टिमबाट बराबरी गोल भएपछि टाइब्रेकरको आधारमा विजेता निर्धारण गरिएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा गजुरमुखी धाम टोल विकास संस्थालाई ४-१ गोल अन्तरमा पराजित गर्दै पाटीगाउँ टोल विकास संस्थाले फाइनलको यात्रा तय गरेको थियो ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १३ वटा टोल विकास संस्थाका १६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता वरभञ्ज्याङ आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ ।

माङसेबुङ गाउँपालिका-१ नं. वडा सिलिङतर्फको खेलकुद शिर्षकमा विनियोजित एक लाख ५० हजार बजेटबाट आयोजक समिति गठन गरी प्रतियोगिता सञ्चालन गरिएको वडा सचिव हिमाल खनालले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार