कविता: भविष्यवादी पद्यात्मक घोषणापत्र

  नरेन्द्र नाथ भट्टराई
329 Shares

हामी घोषणा गर्छौं—
यो आन्दोलन केवल शब्दको विद्रोह होइन,
यो कृत्रिम बुद्धिमत्ताभित्र गुञ्जिने स्वर हो,
डिजिटल नेटवर्कमा फैलिने ज्वाला हो।

हामी समयलाई ड्यासिङ गर्छौं,
परिस्थितिलाई उछाल्छौं,
भविष्यलाई एक फड्को अगाडि पार्छौं।

हामी लेख्छौं—
कविता जसले आभासी संसारमा प्रतिध्वनि गर्छ,
कविता जसले डेटा र एल्गोरिदमलाई चुनौती दिन्छ,
कविता जसले प्रविधिलाई उछिनेर
मानव चेतनाको नयाँ आयाम खोल्छ।

हामी देख्छौं—
सौन्दर्य केवल कागजमा होइन,
सौन्दर्य पिक्सेलमा पनि हुन्छ,
सौन्दर्य कोडमा पनि हुन्छ,
सौन्दर्य भविष्यको आभासी आकाशमा पनि हुन्छ।

हामी सिर्जना गर्छौं—
डिजिटल कविता, दृश्यात्मक पद्य,
नेटवर्कमा फैलिने शब्द,
क्लाउडमा गुञ्जिने स्वर,
भविष्यको कृत्रिम बुद्धिमत्ता संग संवाद गर्ने पद्य।

हामी प्रदर्शन गर्छौं—
कविता-पाठलाई होलोग्राममा,
संगीतलाई आभासी रंगमञ्चमा,
नाटकलाई डिजिटल संसारमा,
सांस्कृतिक विद्रोहलाई भविष्यको उत्सवमा।

हामी लक्ष्य राख्छौं—
नयाँ चेतना निर्माण,
साहित्यिक इतिहासमा मोड,
विश्व साहित्यसँग संवाद,
भविष्यलाई पद्यमा उतार्ने।

हामी घोषणा गर्छौं—
यो आन्दोलन मौलिक छ,
यो दृढ छ,
यो प्रविधिलाई उछिन्ने छ,
यो अग्रगामी छ।

यो नै हाम्रो भविष्यवादी पद्य आन्दोलन हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार