
इलाम : इलामको माङसेबुङ गाउँपालिका–३ स्थित चतुरे बजारमा आयोजित प्रथम चतुरे बजार कृषि तथा पर्यटन महोत्सवमा चर्चित गायक प्रमोद खरेलले दर्शकश्रोतालाई झुमाएका छन् ।
नयाँ वर्ष २०८३ को अवसर पारेर वैशाख १ गते साँझ आयोजित सांगीतिक कार्यक्रममा खरेलले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा महोत्सवस्थल उत्साहले भरिएको थियो । उनले ‘फूल भए माया’, ‘म बिना कसै कसैलाई’, ‘म त तिम्रै हुँ’, ‘तिम्रो यादमा’ लगायतका गीतहरू गाएर दर्शकलाई झुमाएका थिए । गीतसँगै दर्शकहरूले स्वर मिलाउँदै नाचगान गरेका थिए भने महोत्सवस्थल ताली र हुटिङले गुञ्जिएको थियो ।

कार्यक्रममा बोल्दै गायक प्रमोद खरेलले नयाँ वर्षको अवसरमा दर्शकमाझ प्रस्तुत हुन पाउँदा खुशी लागेको बताए ।
‘नयाँ वर्षको सुरुवातमा नेपालमा पहिले सूर्योदय हुने इालमको मायालु दर्शकमाझ गीत सुनाउने अवसर पाउनु मेरो लागि निकै खुशीको कुरा हो,’ उनले भने, ‘यहाँको माया र उत्साह देख्दा साँच्चै ऊर्जा मिलेको छ । यस्ता कार्यक्रमले स्थानीय कला, संस्कृति र पर्यटनलाई अघि बढाउन ठूलो सहयोग गर्छ ।’
कार्यक्रमस्थलमा उपस्थित दर्शकहरूले पनि खरेलका गीतहरूमा भरपूर साथ दिएका थिए । स्थानीय युवा तथा दर्शकहरूले मोबाइलको फ्ल्यास बाल्दै गीतमा झुमेका थिए भने धेरैले कलाकारसँगै गीत गाएर मनोरञ्जन लिएका थिए ।
चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समिति, माङसेबुङ-३ को आयोजनामा सञ्चालन भएको महोत्सवले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्नुका साथै क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्य राखेको आयोजक समिति अध्यक्ष रोशन राईले बताए । उनले महोत्सवले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘चतुरे क्षेत्र प्राकृतिक रूपमा सुन्दर र सम्भावनायुक्त ठाउँ हो,’ उनले भने, ‘महोत्सवमार्फत यहाँका कृषि उत्पादन, स्थानीय परिकार र सांस्कृतिक पहिचानलाई बाहिरसम्म चिनाउने प्रयास गरेका छौं ।’

महोत्सवमा स्थानीय कृषि उत्पादनका स्टल, परिकार, खेलकुद प्रतियोगिता, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन भएका थिए । नयाँ वर्षको अवसरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
आयोजकका अनुसार महोत्सवले स्थानीय किसान, उद्यमी तथा पर्यटन व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै चतुरे बजार क्षेत्रको प्रचारप्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा गायक पदम राई, सिद्धान्त खड्का, सम्झना योङहाङ, शंकर योङहाङलगायतको समेत साँगीतिक प्रस्तुति रहेको थियो ।



















































