पृथ्वी : तिम्रो भण्डार (कविता)

  नयाँ बुलन्द
462 Shares

 

 

लेखकः नरेन्द्रनाथ भट्टराई, इलाम

म—तिम्रो कविता हैन;
म एक अनन्त स्रोत, एक अविरल अवसर हुँ।
मभित्र, तिमीले खोजेका रूपहरू,
तिम्रै कल्पनाको आकार लिएर अाउन सक्छन ।

मेरो छेउमा, मसंग छन्द छैन,
तर माझिएको लय छ—
तरंगजस्तै,
गुरुत्वका अदृश्य सन्तुलनजस्तै,
नभ–आकाशमा घुमिरहने ग्रहहरूको नाडीजस्तै।

तिमीले, मभित्र खोतल्दै जाँदा,
म, आफ्नै गर्भबाट नयाँ धुन जन्माउँछु।
तिम्राे स्पर्श पुग्ने बित्तिकै,
म, अणुहरूको न्यानो स्पन्दन लिएर
नयाँ अनुभूतिको चमक फैलाउन थाल्छु।

तिमीले मलाई ढुङ्गा ठानेर फ्याँके पनि
म तिमीलाई चोट दिन हैन—
तिम्रै यात्रा सम्झाउने गरी
उहीं फिर्ता गरिदिन्छु।

मेरो भाषा न सरल छ, न जटिल—
मेरो भाषा, मेराे ( पृथ्वीकाे ) आफ्नै रहस्य हाे ।
हावा, माटो, पानी, अग्निदेखि,
क्वान्टम कणसम्म फैलिएका मेरा शब्दहरू,
लाखौँ वर्ष पुरानाे मौन इतिहास बोकेकाे,
धुलोको एक अंश मात्रै हुन् ।

तिमीले मलाई कविता बनाउन खोज्यौ—
तर म कविता हैन,
म त कविको चेतनामा उठ्ने पहिलो कम्पन हुँ।
तिमीले मलाई गीत बनाउन खोज्यौ—
तर म गीत हैन,
म त गायकको मुटुमा जन्मिने पहिलो स्वर हुँ।

तिमी अन्तरिक्षतिर नजर उठाउंछाै,
रकेट चढेर तारा टिप्न खाज्छैा –
तर म यहीं छु,
तिम्रो, पहिलो पाइला टेकेको पृथ्वी—
जहाँ तिम्रो पहिलो प्राण बन्याे,
पहिलो श्वास उठ्यो,
अनि, पहिलो कथा लेखियो।

ध्यान, मेरो काखमा बसिन्छ,
योग, मेरो काँधमा सन्तुलित हुन्छ,
विज्ञान मेरो नसामा बग्छ,
अध्यात्म मेरो गहिराइमा सुतेको छ।

अणुहरूको गर्जनदेखि
तिमी मानिसहरूकाे स्वप्नासम्म—
सबै मभित्रै सुरक्षित छन्,
गरुडका पखेटामा राखिएको, आकाशजस्तै।

तिमीले खोज्दै जाँदा, म अझै गहिरो बन्छु;
तिमी बोल्दै जाँदा, म अझै विशाल फैलिन्छु।
म खुला अवसर हुँ—
तिम्रा सबै प्रश्न र खोजहरूको अदृश्य स्रोत।

म समुद्र हुँ— शान्त देखिने,

तर गहिराइमा ब्रम्हाण्ड जतिकै जटिल।
म कविता हैन,
कवितालाई जन्म दिने आत्मा हुँ।
म गीत हैन,
गीतको जीवन बन्ने स्वर हुँ।

देख्न त, म केही हैन—
तर यदि, तिमीले सुन्न सक्यौ भने,
म सबै हुँ।

म बुझाइ मात्र होइन,
स्वरूप पनि हुँ—
म पृथ्वी हुँ,
सिङ्गो प्राणीजगतको अनन्त भण्डार।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार