
इलाम : छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इलाम नगरपालिका ७ को १७औँ साधारण सभा तथा छैटौँ निर्वाचन सिटी हलमा सम्पन्न भएको छ।
सभाको अध्यक्षता संस्थाका अध्यक्ष देवनारायण बराल (दिपेन्द्र) ले गरेका थिए । कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य, इलाम नगरपालिका सहकारी शाखाका प्रमुख मदनकुमार गुरुङ, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सभामा अध्यक्ष बरालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म भएका गतिविधि र आगामी योजना बारे जानकारी दिए। उहाँका अनुसार सहकारीले एक महिनाका लागि ब्याजबिनाको सापटी रकम २ हजार रुपैयाँ पुर्याएको छ भने सदस्यको निधन भएमा दिइने राहत रकम १० हजारबाट बढाएर १५ हजार रुपैयाँ बनाइएको छ।
सहकारीले यस वर्ष सदस्यता प्रवेश शुल्क १०० रुपैयाँ तोकेको छ। हालसम्म ४ करोड ५५ लाख ६६ हजार २९२ रुपैयाँ बराबरको ऋण लगानी गरिएको संस्थाले जनाएको छ। साथै, शेयर सदस्यलाई तीन पाङ्ग्रे सवारी साधन खरिदका लागि लागतको ६० प्रतिशतसम्म ऋण सुविधा दिने निर्णय पनि गरिएको छ।
सभामा विभिन्न क्षेत्रमा योगदान पुर्याएका १८ जनालाई सम्मान गरिएको थियो। एसईई परीक्षामा सफल बाल सदस्यहरूलाई प्रमाणपत्रसहित नगद एक हजार ५०० सय रुपैयाँ प्रदान गरिएको छ।
सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अध्यक्षमा देवनारायण बराल (दिपेन्द्र) चयन भएका छन् । उपाध्यक्षमा टिका प्रसाद फुयाँल, सचिवमा मुकुन्द गुरागाईं, सहसचिवमा कमल कार्की र कोषाध्यक्षमा अनिल रुद्र मैनाली चयन भए ।
सभाले आगामी वर्षका लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसमेत गरेको छ। नयाँ कार्यसमितिले सहकारीलाई अझ प्रभावकारी र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।






















































