
पाँचथरः जिल्लाको फाल्गुनन्द गाउँपालिका आजभोलि पूर्वी नेपालको धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदा र आधुनिक पूर्वाधार विकासलाई सँगसँगै अघि बढाइरहेको उदीयमान क्षेत्रका रूपमा चिनिन थालेको छ। कुनै समय दुर्गम भूगोल र सीमित पहुँचका कारण ओझेलमा परेको यो भूमि अहिले योजनाबद्ध विकास, सडक सञ्जाल विस्तार, स्वास्थ्य सेवाको पहुँच, पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक पुनर्जागरणका कारण नयाँ पहिचान निर्माणको चरणमा पुगेको छ।मुन्धुम, मिथक, लोककथा र प्रकृतिको अनुपम संगम भएको फाल्गुनन्दले आफ्नो मौलिकता जोगाउँदै विकासको बाटो रोजेको छ। यही सन्तुलनले यसलाई केवल विकासोन्मुख गाउँपालिका मात्र होइन, सम्भावनाको केन्द्रका रूपमा स्थापित गरेको छ।
मुन्धुम, मिथक र आस्थाको गहिरो जरा
मिक्लाजुङ, कुम्मायक र फाल्गुनन्द गाउँपालिकाको संगम क्षेत्रमा अवस्थित सेहोनाम्लाङ (छाला सुकुवा) यस क्षेत्रको सांस्कृतिक आत्मा नै हो। मुन्धुम परम्परामा आधारित यो स्थल केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, इतिहास, दर्शन र सांस्कृतिक चेतनाको जीवित अभिलेख हो। यहाँ ‘सेहोनाम्लाङ सांस्कृतिक पर्यटन संस्था’ स्थापना भई विगत केही वर्षदेखि नियमित रूपमा महोत्सव आयोजना हुँदै आएको छ, जसले यस स्थललाई थप परिचित बनाएको छ।सेहानाम्लाङसँग जोडिएको नामसामी-केशामी कथा लिम्बू मुन्धुमको गहिरो दार्शनिक आयाम बोकेको छ।


फाल्गुनन्द-४ चिलिङदिन, पुच्छारमा निबु खोलाको नजिकै रहेको यस कथाअनुसार एक महिलाले ढुङ्गाका दुई फरक खोपिल्टोमा रहेको पानी पिएपछि दुई सन्तान नामसामी र केशामी जन्मिएका थिए। यी दुई पात्र मानव र प्रकृतिबीचको सम्बन्धका प्रतीक मानिन्छन्। केसामी मानव र नामसामी बाघ जस्तो स्वभावका थिए । मानव र बाघको पिसाब उक्त ढुङ्गाका दुई फरक खोपिल्टोमा रहेको र त्यही पिएपछि महिलाको पेटमा गर्भ रहन गएको कथन छ । समयक्रममा सिकारका क्रममा उत्पन्न विवादले दाजुभाइबीचको सम्बन्ध टुट्दा केशामीबाट नामसामीको मृत्यु भएको भनिन्छ। त्यसपछि नामसामीको छाला सुकाइएको स्थानलाई ‘छाला सुकुवा’ भनियो। आज पनि यहाँका ढुंगाका अनौठा बनोट, घाँस नउम्रिने जमिन र रहस्यमय वातावरणले कथाको जीवित साक्षी जस्तै अनुभूति गराउँछ।यो कथा केवल एउटा घटना होइन मानवभित्रको द्वन्द्व, लोभ, क्रोध र त्यसको परिणामको गहिरो शिक्षा दिने मुन्धुमी दर्शन हो। यसैगरी फाल्गुनन्द-२ इम्बुङको पुच्छारमा रहेको साप्सु क्षेत्र पनि धार्मिक दृष्टिले महत्वपूर्ण छ। यहाँ ढुंगाको चेपबाट निस्कने पानीलाई पवित्र मानिन्छ र रामनवमीका अवसरमा ठूलो मेला लाग्ने परम्परा रहँदै आएको छ।

योसँगै रहेको निबु खोला गाउँपालिकाको जीवनरेखा हो। यसको पानीले यहाँको कृषि प्रणालीलाई टेवा पुर्याउँदै धान र अलैंची खेतीलाई मजबुत बनाएको छ। खोलाको वरिपरि फैलिएका बस्तीहरूले ग्रामीण जीवनलाई उत्पादनमुखी र जीवन्त बनाएका छन्। यस पालिकामा हरेक वर्ष धेरै धान उत्पादन गर्ने किसानलाई सम्मान गरिन्दै आएको छ । कृषक सम्मान कार्यक्रमले यो पालिका नेपालकै चर्तित बनेको छ ।

आध्यात्मिक उचाइ , सिलौटी र पुधामलुङ
समुद्र सतहदेखि करिब १० हजार फिट उचाइमा, फिदिम नगरपालिकासँग जोडिएको सिलौटी धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम हो। महागुरु फाल्गुनन्दले यहाँ ध्यान, तपस्या, साधना गरेको ठाउँ र समाधि स्थल पनि हो । शान्त वातावरण, गुफा, प्राकृतिक ढुंगाका आकृति र हिमश्रृङ्खलाको मनोरम दृश्यले यो स्थललाई आध्यात्मिक ऊर्जा प्राप्त गर्ने केन्द्र बनाएको छ। त्यस्तै फाल्गुनन्द-४ र फाकफोकथुम-१ (इलाम) सिमानामा, राँके-रवि-भेडेटार सडक खण्डअन्तर्गत पर्ने पुधामलुङ (सिद्धदेवी) क्षेत्र पनि धार्मिक आस्थाको केन्द्रका रूपमा विस्तार हुँदै गएको छ। यहाँ हुने पूजा र धार्मिक गतिविधिहरूले स्थानीयसँगै दैनिक ओहोर-दोहोर गर्ने बाह्य पर्यटकलाई पनि आकर्षित गर्न थालेको छ। यस्तै फाल्गुनन्द ५ को डाडाँगाउँमा रहेको साक्षत युमाको मन्दिर पनि यस पालिकाको प्रख्यात स्थान हो । यहाँ भारतको सिक्किमदेखि पनि आगन्तुक हुने आुने गरेका छन् । यस ठाउँमा रहेको युमा सुतेको खाट अति महत्वपूर्ण र ऐतिहाँसिक सम्पदाको रुपमा मानिन्छ । हाल निर्माणाधीन मन्दिर छिटो सम्पन्न गरिदिन स्थानीयले माग गरेका छन् ।




प्रकृतिको काखमा फैलिँदो पर्यटन
फाल्गुनन्द गाउँपालिकाभित्रका प्राकृतिक गन्तव्यहरूले पर्यटन विकासको नयाँ क्षितिज खोलेका छन्। मेची राजमार्ग अन्तर्गत निबु खोला नजिकै फाल्गुनन्द- ३ मा अवस्थित बत्तिसे झरना निरन्तर बग्ने पानी, हरियाली जंगल र चट्टानी संरचनाले सुसज्जित आकर्षक स्थल हो। यहाँ नजिकै निजी लगानीमा सञ्चालनमा आएको बत्तिसे रिसोर्टले पर्यटकलाई बसोबासमा सहजता प्रदान गरेको छ, जसले पर्यटन प्रवर्द्धनलाई थप गति दिएको छ।


फाल्गुनन्द ५ को घुर्बिसे पञ्चमी नजिकै रहेको नेब्चोक-नाम्तोक डाँडा (एउटै क्षेत्र) बाट देखिने सूर्योदय, हिमश्रृङ्खला र तराईको विस्तृत दृश्य अद्वितीय मानिन्छ। यहाँ आयोजना हुने पर्यटन महोत्सव, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादन प्रदर्शनले यसलाई उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित गरिरहेको छ। वडा नम्बर १ नवमीडाँडामा रहेको तिजोक डाँडा धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिको केन्द्र हो। यहाँ निर्माणाधीन बहुसाँस्कृतिक पार्कले भविष्यमा यस क्षेत्रलाई संगठित सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।त्यसैगरी पालिकाको शिरमा रहेको पर्यटकीय क्षेत्र सुकेपोखरी र लोहाकिल क्षेत्र प्राकृतिक सौन्दर्य, शान्त वातावरण र गुराँस फुल्ने मौसममा देखिने मनमोहक दृश्यका कारण पर्यटक आकर्षणको केन्द्र बन्दै गएका छन्। गुराँस फुल्ने बेला र नयाँ वर्षलगायत विभिन्न समयमा यहाँ उल्लेखनीय भीड लाग्ने गर्दछ।



संस्कृति, साहित्य र संस्थागत पहल
फाल्गुनन्दमा सांस्कृतिक संरक्षणलाई विकाससँग जोडेर अघि बढाइएको छ। तिजोक बहुसाँस्कृतिक पार्कमा सम्पन्न साहित्य महोत्सवले स्थानीय पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ। यसै उद्देश्यलाई संस्थागत रूपमा अघि बढाउन फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान गठन भई भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रूपमा काम गरिरहेको छ। उक्त महोत्सवमा पालिकाका दुई श्रष्टालाई सम्मान गरेको थियो ।

यस पालिकामा व्यापारिक सम्भावना र बजार विस्तार क्रमसमेत बृद्धि हुन थालेका छन् । फाल्गुनन्द गाउँपालिकाको आर्थिक पक्षलाई सुदृढ बनाउन बजार क्षेत्रहरूको पनि महत्वपूर्ण भूमिका देखिन्छ। इलामसँग सिमाना जोडिएको राँके बजार कृषि सामग्री संकलन तथा विक्री केन्द्रका रूपमा विकसित हुँदै गएको छ। त्यस्तै घुर्विसे पञ्चमी बजार पाँचथरकै तेस्रो ठूलो बजारका रूपमा परिचित छ, जहाँ प्रत्येको महिनाको १३ र २९ गते लाग्ने हटियाले स्थानीय उत्पादनको कारोबारलाई तीव्र बनाएको छ। यसले कृषक र व्यवसायीलाई प्रत्यक्ष आर्थिक लाभ पुर्याउँदै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ। नवमीडाँडा, पात्लेभञ्ज्याङ, गुम्बाडाडाँ, देउराली, पुरानो पञ्चमी, दशमी, उत्तरे, सुलुम्फि, वाँसागु, मेहेलबोटे, ज्योति जस्ता बजार निरन्तर विस्तार हुँदा पालिकाको सौन्दर्यता बढेको छ ।

गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे भन्छन्,’धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई आधार बनाएर फाल्गुनन्दलाई समृद्ध पर्यटन गन्तव्य बनाउने हाम्रो लक्ष्य हो। विकास र पहिचानलाई सँगसँगै अघि बढाइरहेका छौँ।’ हाल फाक्तेपमा निर्माण भएको पालिका स्तरीय पाँच शैयाको आधारभूत अस्पताल सञ्चालनमा आउनु गाउँपालिकाको ऐतिहासिक उपलब्धि हो। ओपिडी, आकस्मिक, प्रसूति, ल्याब र एक्स–रे सेवा गाउँमै उपलब्ध भएपछि नागरिकको दैनिक जीवन सहज भएको छ।पालिकाले स्वास्थ्य र पूर्वाधार, जीवनस्तरमा फड्को मारेको अध्यक्ष आङ्देम्बे बताउँछन् ।त्यसैगरी, गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ।


सञ्चालनमा आएपछि एकै स्थानबाट सेवा उपलब्ध हुने भएकाले प्रशासनिक कार्य छिटो, सहज र पारदर्शी हुने अपेक्षा गरिएको पालिका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङले बताए ।उनका अनुसार, ‘सडक, स्वास्थ्य र पर्यटन पूर्वाधारको विस्तारले नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन आएको छ। यसले स्थानीय तहप्रतिको विश्वास अझ बलियो बनाएको छ।’यस पालिकाका स्थानीयबासी भने सबैतिर अलवेदर सडक जरुरी रहको र कृषि, स्वास्थ्य शिक्षालाई प्रथामिकतामा राख्नु पर्नेमा जोड दिएका छन् ।
फाल्गुनन्द गाउँपालिका आज मिथक, मुन्धुम र सांस्कृतिक आस्थाबाट आधुनिक विकासको यात्रामा आत्मविश्वासका साथ अघि बढिरहेको छ। यहाँको इतिहासले जरा दिएको छ, संस्कृतिले पहिचान दिएको छ, र विकासले भविष्यको स्पष्ट दिशा देखाएको छ। जुन कुरा पहिचान जोगाउँदै समृद्धितर्फ उन्मुख भएको देखिन्छ ।यदि, यही सन्तुलन-संरक्षण र विकासलाई निरन्तरता दिइयो भने, फाल्गुनन्द गाउँपालिका निकट भविष्यमा पूर्वी नेपालको एक नमुना समृद्धि मोडेलका रूपमा स्थापित हुने निश्चित देखिन्छ।





















































