गाउँ पुग्‍नु अघि (कविता)

  चेतन आङ्थुपो डर
0 Shares

चेतन आङ्थुपो डर

गाउँ पुग्नु अघि
सुरु हुन्छ्
लगाएको
जुत्ता फुकाल्ने
पाइन्ट सुर्किने
जोडि जुत्ता
एक हातले झुण्डाएर
अर्को हातले
पिठ्यूको व्याग सम्हाल्ने
अनि
भारि ज्यानले
ढुङ्घामाथि
टेक्दै–टेक्दै
रतुवा उर्लिएको
बैंश पार गर्न
खुब संघर्ष गर्छ,
कहिले
ढुङ्घासंगै
बग्दै–बग्दै
गह्रौ मन
आफै तैरिन्छ
पारगरेपछि

आन्नदको श्वास फेर्न पुग्छु
एकपटक ।
……
जंगलभित्र समाधीले
कोरेको गल्ली हुँदै
पंञ्चायतले खनेको बाटो हुँदै
केहि माइलको
पैदलपछि
बल्ल मेरो गाउँ चुलाचुली
जोडिन पुग्छु ।
…..
गल्ली छेउको बरपिपल अगाडि
म उभिन्छु
थकाई मार्न पुग्छु आदिम चौतारामा
आँखै अगाडि देख्छु
सदियौं देखि सूर्य अकित झण्डा
पोष्टरसंगै टासिएको
दश औंला जोडिएका
धमिलिदै गएका
पोष्टरको नेता
ठम्याएर हेर्छु,
सुवासचन्द्र नेम्बाङ जस्तै लाग्छ ।
यदि हैन भने पनि
भेटेर सोध्नु छ
चार पुस्ता देखिको गुनासो
आमनागरिकहरुको तर्फबाट ।
…..
कहिले बन्छ ?
नाङ्गे चुलीमा
दुरसञ्चारको टावर
कहिले बन्छ ?
खानेपानीको ट्याङकी
कहिले बल्छ ?
रैथानेको अँध्यारो भविष्यमा उज्यालो
कहिले बन्छ ?
आशा, सपना र संभावना बगाउने रतुवाको पुल
धेर्य गर्ने छु, म जरुर
आउनु त आउँला एक दिन
सवैै विकासका पुर्वाधारहरु
तर
फेरि पनि
नआउन सक्छ
तपाईले प्रतिनिधित्व गरेको
मुलवासी अनुहारको पहिचान
नआउन सक्छ रैथानेहरुको
किपोट सहितको
संघीय राष्ट्रियता
नआउन सक्छ
शिल्पी समानताको संविधान
यतिवेला
फर्किएको छु, म जन्मिएको भूगोलमा ।
……..
जिन्दगीकै अमुल्य सपना र श्रम खाडीमा बेचेर
गाउँमै उद्मोग भइदिए, म फेरि विदेश फर्किनु पर्दैनथ्यो
आफ्नो परिवार र सन्तान सम्झेर पिरोलिनु पर्दैनथ्यो
तपाइले कति बर्ष सम्झिनु भो ?
ग्रामिण क्षेत्रका गुमनाम
पेल्टिमारी, चुलाचुलीलाई
यि नामहरुले यहाँका युवाहरु
कहाँ–कहाँ परिचित होलान ?
कुन–कुन खाडीमा सन्ततीको भविष्य बनाउँदै होलान ?
अझै के भन्छन् होला ?
क्षेत्र नं. २ का
प्रतिनिधिहरु

के ? पाँच दशक सम्म पनि
चुलाचुली
उहि ग्रामिण उहि विकट
भूगोलमा पर्छ ?
यसै भनी हजुरले
सरकारमा योजना पेश गरेको कति भयो ?
अझै
यहाँका गाउँ र गाउँलेहरु
कहिले सम्म
हजुरका निम्ती
भोट बैंक बन्लान ?
यतिवेला
हजुरसंग हाम्रो कुनै तथ्याङ्क नहुन सक्छ
रहोस पनि कसरी
म धूलो भेला गरेर
धूलोकै पिलर उठाएर
बिचमा सिन्के पुलको परिकल्पना
गरेको बाल्यपन सम्झिरहेछु
मसंगै खेल्ने
साथी आइते बुधबार
बनेर मात्रै सम्झनामा आउँछ
कि उसलाई
त्यहि रतुवा खोलाको बाढीले बगाएको थियो ।
उसको अन्धकार बाटो देखाउने पुल्ठो
उसंगै उसको गुजरा चलाउने
दाउराको भारि र एक छाक चामल
ल्याएर घर फर्किने सपना
आइतेहरु सालैपिछे दुःख संगै बगिरहन्छन् ।
…….
हजुरकै त होला नी ?
त्यो खोला किनारमा ठूल–ठूला दाँत भएका भ्यामपरहरु
तिनीहरुले बनाएका डुबल्कीमा मरेका हुन् चुक्साहरु
तिनीहरुले नै उत्खनन् गरेका हुन्
आदिवासी जनजातिका समाधिहरु
तिनीहरुले नै भत्काएका हुन्
सुकुम्बासीका छाप्रोहरु
हेसियार गर्नुहोस् !
तपाईको छातिमा
कुनै दिन कठोर कम्यूनिष्ट भ्याकुहरु चल्ने छन्

कहिले सम्म
सुदुर पुर्वका् चुलाचुली भन्छौ ?
कहिले सम्म गृहजिल्ला भनिरहन्छौ ?
कहिले सम्म भोट बैंक बनाउँछौ ?
गाउँ मतपेटिका बनाएर
मत पत्र सम्झेर
कहिले सम्म ?
पट्याएर, दोबारेर
लाहा छाप सूर्य अंकित बनाइरहन्छौ ?
सोझा रैथानेको
आफ्नो अधिकार
निर्णयक मत ठानेर
सामन्ती बुथमा
कहिले सम्म
खसालि रहन्छौ ?
म यतिवेला
गाउँ फर्किएको छु
म खाडी जान्न् अब
गाउँमा उद्योग खोल सरकार ?
हामी आयौं भनी फर्किने छन्
खाडीमा क्रान्तिका श्रम गर्नेहरु
२० लाख सच्चा श्रमीक नागरिकहरु
ह्जुरको सामन्ती बुथ
ग्रामिण क्षेत्रलाई
सदा–सदा लागि उद्मोग बनाउन ।

नोट ः २०७६ मंसिर २२ गते (यस कविता लेखिसकेपछि के शिर्षक दिने भन्ने कुरामा धेरै कविहरुका प्रतिक्रिया साथै शिर्षकहरु पाए, गाउँ फर्कन्दा, पोष्टरलाई प्रश्न, सामन्ती बुथ, गाउँको चित्र अभि उभिएर । तपाईले पनि पढि सक्दा लागेका कुरा भन्दिनु होला ?)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार