बाबा चहिन्न नाइस टुक्रे फेमेली !!(कविता)

  नयाँ बुलन्द  203 पटक हेरिएको

खेम अधिकारी

बाबा चहिन्न नाइस टुक्रे फेमेली !!
शीर्षक राखिन्छ
‘मेरो सानो खुसी परिवार’
अनि,
फोटो अपलोड हुन्छ ।
छोरा, छोरी, श्रीमान्, श्रीमतीको
लाइक आउँछन् ।
कमेन्ट आउँछ –
‘सुन्दर परिवार,
जोडी त यस्तो होस्’ आदि आदि
प्रति उत्तरमा ‘धन्यवाद, थ्याङ्क्यू’
छोरोले बाबुको फेसबुक तन्कदै हेर्छ र छक्क पर्छ ।
सामु आउँछ र भन्छ–‘बाबा अब त फोटो हजुरबाको फेसबुक खोलेर अपलोड गर्ने है’
‘किन’
‘बाबाको खुसी परिवारमा त कोही अटेनन् नी
हजुरबाको खुसी परिवारमा त हेर्नु त भित्ताको तस्विरमा
बुढी आमा, हजुरबुबा, हजुरआमा, फुपूदिदी, बाबा, मामु, म, बहिनी…..
इट इज नट अ ह्यापी फेमेली
जति म तपाईंको खुसी परिवारको सदस्य हुँ ।
सायद त्यति नै महत्वपूर्ण सदस्य तपाईं पनि त हुनुहुन्छ, बुढीआमा हजुरबाका लागि

अनि किन तपाई||का लागि उहाँहरु महत्वपूर्ण हुनुभएन
अनि मेरो एल्वममा पनि त पछि यस्तै टुटेको फोटो राख्नु पर्ने होला नि हैन बाबा
नाइँ, मलाई चाहिएन यस्तो टुक्रे नाइस फेमेली
तपाईं जेलाई सुन्दरता ठान्नु हुन्छ, त्यहाँ परिवार छैन
जहाँ सुन्दरता छ, त्यहाँ तपाईं परिवार ठान्नुहुन्न
फरक यही छ बाबा, आज हजुरबा र तपाईंको
भोलि तपार्इं र मेरो ।
देवकोटाको कविता र मोनालिसाको तस्वीरजस्तो बान्की परेको न जीवन हुन्छ, न परिवार
अनि किन लजाउनुहुन्छ आफ्नो धरातलमा स्वाभिमानले उभिन
कति चाँडै भूल्नु भएछ है–आफ्नो बिगत !
तपाईंले मलाईजस्तै औंली समाएर घुमाउने बाबा
जो संसारमा “कसैले जितोस् त छोराले मात्र जितोस्” भन्छ,
आफू रित्तिएर तपाईंलाई बलिष्ठ जीवन दिने आमा
त्यति मात्र हैन बाबा,
मैले गूगलमा सर्च गरेको विश्वमा
सबै भन्दा बढी मृगौला दान दिने व्यक्ति त्यही आमा र लिने तपाईंजस्तै छोरा
अनि ती बुढी बजु
जसले तपाईंलाई सेक्दा तेलले पोलेको खत लिएर जिउँदै हुनुहुन्छ
हजुरबा तपाईंको पुरानो कोट लगाउँदै भन्दै हुनुहुन्थ्यो –
“हिजो छोरो नाङ्गो थियो र टालेको लगाउँथे,
आज छोरो सुकिलो छ र म टालेको लगाउँछु ।”
बहिनीलाई ऐंसेलु टिपिदिँदा प्वाँलैप्वाँल पारेर काँडाले घोचेको हजुरआमाको हात
अनि त्यही काँडाले घोच्न नसक्ने गरि हजुरबाको फुटेका खुट्टा
तपार्इंलाई देखाउन लाज भयो हैन बाबा
तपाईं यस घरको असल नाति, छोरो, श्रीमान्, बाबु
कि बृद्धाश्रमको कर्मचारी
भो, यो फोटो हटाइदिए
एक पटक त्यो भित्ते घडीमा हेर्नु त
यस घरमा हजुरबा आमाको हालत त्यस भित्रको पेन्डुलम भन्दा के फरक छ
अब, बाह्र वर्षपछि मैले त्यहाँ घडी फेर्नुपर्छ
कसरी र कस्तो राख्ने,
त्यो तपाईंको भोलिको व्यवहारले जनाउँछ ।
माफी माग्छु बाबा, हजुरलाई सम्झाउन खोजें ।
एउटा असल छोराले बाबुसँग सयौंपटक माफी माग्न तयार छ ।
अब, माफी माग्ने पालो तपाईंको
माग्ने नमाग्ने मर्जी पनि तपाई कै ।’
                                                 खेम अधिकारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार