
तिमी आएपछि संसार उज्यालो भयो
रात बिलायर गयो
सूर्य उडाएर आयो
बिस्तारै किरणहरु पुञ्जभै फक्रिदै जाादा
आकाश मात्रै खुलेन, चरा चुरुङ्गीको चिरविराहटले
जग गुञ्जायमान भएर आयो
हामी मुस्कुरियौँ तिम्रो बालसुलभ रुवाइमा
कोख साटासाट गर्दै
काखमा तिमी खिलेको क्षण
स्वप्न स्वप्न झैँ रहेन
स्वर्गानुभूतिको रस्स्वादनमा
हामीले भरपूर रसपान गर्यौं – आभू, तिम्रो जन्मदिनमा
नरुच्ने केही थिएनन्
नपच्ने केही थिएनन्
अमृतझैँ मानेर घुटुघुटु दूध पिउाथ्यौ तिमी
पिठो होस कि लिटो
कपाकप कुपुकुपु खान्थ्यौ तिमी
सन्तोषले सातु खाएर होला
तिमी मोटु बनेर गोलु कहलियौ
बडेमान अजीव अजङ्गको गोलुलाई
तिम्री आमाले गुन्द्रीमा बसाइदिँदा
तिमी ढुनमुन्न भै पछारिन्थ्यौ
पछारिँदा पनि नरुने गोलु देखेर
हामी पेट मिचिमिचि हाास्थ्यौँ
आज जेलको एकान्तले
यही सम्झिरहेछुा – आभू, तिम्रो जन्मदिनमा
हामी जन्मिदा जन्मदिन मनाउने चलन थिएन
केक त कलेज पढ्दा मात्रै खाइएको हो
तर तिम्रो जन्मदिन
हाम्रा लागि हर साल उत्सव बनेर आउाछ
एकदिनको भएपनि पर्व बनेर आउाछ
संयोग यस्तै भो एकवर्ष
तिमी दुईसालको थियौ क्या रे !
फूलवारी महोत्सवको उमङ्गमा
कलाकार बाटिकाभित्र
बरिष्ठ कालकार नीर शाह, कवि राजेन्द्र थापा, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी
महानायक राजेश हमाल, नायक आर्यन सिग्देलको बीचमा
तिम्रो जन्मदिनको केक काट्ने सुरसार गर्दैथियौँ हामी
रन्जिता र म आतिथ्यका लागि कतै अलमलिएको बेला
मैनबत्ती नबुताई, तारतम्यै नगरी
अगाडि राखेको केक बाल अन्जानले तिमी कपाकप खाइदिादा
मज्जाले हाासेका थियौँ हामी
आज त्यही सम्झेर डिल्लीबजार जेलमा
खितखितिइ रहेको छुा म – आभू, तिम्रो जन्मदिनमा
एक विहानी मर्निङ वाकमा
टीकापुरको खड्ग चोकमा अचानक ढल्यौ तिमी
श्रावणको महिना झरिले हिलाम्यै बाटोमा लड्दा
सकि नसकि समिपको अस्पताल पुर्याएा तिमीलाई
डाक्टरको प्रतिकृया आयो
जत्ति छिटो नेपालगञ्ज लैजाउ
आमाको कोखमा छटपटाउादै
तिमीले फुस्रो आाखा लगाउादा
हामी बाटोभरी डााको छोडी–छोडी रोयौँ
कुल देवता, इष्ट देवता, भएभरका देवता पुकार्यौँ
त्यस भयड्ढर दिन
दैवले पनि भयड्ढरै परीक्षा लियो, हामीसाग
श्रावणको भेलले बर्दिया राष्ट्रिय निकुञ्ज भेलमय थियो
त्यो भेलको भङ्गालोमा
तिमीलाई कोखमा बोकेर तार्ने शक्ति कहााबाट आयो कुन्नी ?
ईश्वरको भरोसामा अस्पताल पुर्याउादा
एक इन्जेक्सनले तिमी तङ्ग्रिएको सम्झिादा
आजपनि सिरक गुटुमुटु पारेर भक्कानिन्छु – आभू, तिम्रो जन्मदिनमा
समयको हुण्डहरुले झेल गर्यो
तिमी काठमाण्डौं रह्यौ, म प्रवासमा लागेँ
तिम्रो मागका अगाडि नतमस्तक हुने मेरो बानी
थाहा भएरै यतैबाट एकदिन
आफ्नो जन्मदिनको फर्माइसमा साइकल माग्यौ
प्रवासमा पनि तिम्रो वचन मैले कसरी टार्न सक्थेँ र ?
थाहा छ आभू ?
तिम्रो त्यो साइकल उपहार प्राप्तिका लागि
मैले कति गुहारेँ ?
कति साथीसाग हातपाउ जोडेँ ?
अन्तत: त्यो पुकार पनि मेरा दयालु मित्रले सुने
र तिम्ले साइकल पायौ
जन्मदिनको उपहारमा पाएको साइकल कुदाएको भिडियो पठाउादा
दिल्लीमा म कति भावुक भएा – आभू, तिम्रो जन्मदिनमा
आज म निर्दोष भएपनि सदरखोरमा छुा
तिमी कहिलेकाहीँ आउाछौ
बाबा ! घर जाउा भन्छौ
म जेललाई होष्टल भनेर ढााट्छु
पढाइ सिद्धियो भने आउाछु, भन्छु
कहिलेकाहीँ त बाबासागै सुत्छु भन्छौ
फकाइ फुल्याइ पठाउाछु
पठाएपछि तिम्रा ममत्वले कत्ति छाती चिरिन्छ, थाहा छ ?
जेलको जीवन न हो
न डााको छोडेर रुन सक्छुा
न हात समाएर तिमीसाग हिड्न सक्छुा
आखिर एक बाउ न हुा
ईश्वरसाग सदासर्वदा एउटै प्रार्थना गर्छुँ
प्रभु ! दशरथ भएर मर्न नपरोस्
यसपालीको तिम्रो जन्मदिनमा पनि
ताली बजाउन पाइन
हेप्पी बर्थ डे आभू भन्न पाइन
पुस्तक बेचेको पैसा थोरै सागालेर पठाइदिएको छुा
उपहार आफै किन्नु छोरा – आभू, तिम्रो जन्मदिनमा
आशीर्वाद
सदा कुशल, सक्षम रहनु धर्तीमा जुनी रहेसम्म
इच्छाएका मनोकामना पूरा होस् आफूले सधैं चिताएसम्म
दुबो झैँ जीवन होस् बेली झैँ सुगन्ध फैलोस्
जन्मदिनको शुभकामना आभूषण तिमीलाई
म, मेरो जुनी यस जगमा रहेसम्म !
शुभकामनाका लावा बनुन् मेरा यी अक्षर – आभू, तिम्रो जन्मदिनमा
सुख शान्ति समृद्धिको सदा आगमन होस् – आभू, तिम्रो जन्मदिनमा !!
सदरखोर, डिल्लीबजार, काठमाण्डौ
मिति : २०७६/९/१६


















































