भाषा (कविता)

  प्रकाश थाम्सुहाङ
105 Shares

प्रकाश थाम्सुहाङ

अलिकति वतासको गीत
अलिकति नदीको संगीत
अलिकति मेघको गर्जन
अलिकति ईश्वरको वचन
सापटी लिएर पुर्खाले
एउटा भाषा सृष्टि गरे
म त्यही भाषामा सपना देख्छु

मेरो इन्द्रीयलाई हरदम झन्कृत गर्ने
अवचेतनमा लिपिबद्द त्यही भाषामा
जब आफूलाई अभिव्यक्त गर्न खोज्छु
शब्द कमजोर हुन्छ
व्याकरणले शुद्धी हराउँछ
ध्वनि भित्र-भित्रै दब्छ

उहिले त
बोल्थेँ रे धाराप्रवाह
नानाओलि प्रश्न सोधेर
हत्तु- हैरान पार्थेँ रे ,
बोजु भन्नुहुन्थ्यो –
मेरो वाक्य फुट्दा
पहिलो बोली थियो रे आमा

यतिबेला
आमाको स्पर्शबाट विमुख
रित्तो – रित्तो म
मौलिक ज्ञानबाट बन्चित
हेर्नु त –
आवाज थुनेर
जिब्रो थुतेर
शरीर भरि
लघुताभाषको जालो बेरिरहेछु

कि त
जोगिन चाहेँ आरोपबाट
जस्तो लाग्ने गर्छ –
आतंककारी !
साम्प्रदायिक !
जंगली !

हे मेरा आदिम पुर्खा
तिमीहरूले दुखले बचाएर ल्याएको भाषा
बोल्न असमर्थ छु
कि भाषिक अतिक्रमण अघि पराजित म
भर्खरै बुझ्दैछु एउटा सत्य
भाषाको अस्तित्व शक्तिले निमार्ण गर्दोरहेछ

अलिकति पर्वतको गीत
अलिकति झरनाको संगीत
अलिकति हुरीको गर्जन
अलिकति आकाशको वचन
सापटी लिएर पुर्वजले
एउटा भाषा सृष्टि गरे
म त्यही भाषामा सपना देख्छु ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार