नेपालको पत्रकारिता उँधो गतिमा छ कि उँभो ? म त अन्योलमै छु । हामी पत्रकार जहिल्यै संक्रमणकालबाट गुज्रिरहेका छौं कि भन्ने लाग्छ । राजनीतिक परिवर्तनले त असर ग¥यो नै त्यसमाथि आफ्नै क्षेत्रको विकास चरणले संक्रमणकाल नसकिएको होला । मैले थाहा पाएअनुसार एफएम सुरु हुँदा पत्रपत्रिकाको भविष्य छैन भन्थे । टीभीको बाढी आउँदा पनि यस्तै कुरा चल्थ्यो । अनलाइनले ठाउँ लिँदै गर्दा पनि त्यही भनिरहेका छौं । तर, न एफएमले पत्रपत्रिका विस्थापित गर्न सक्यो न त टीभीले नै । अब अनलाइनले के गर्ला भन्ने हेर्नु छ ।
यो आलेख छापा पत्रकारिता बचाउको पक्षमा बिल्कुलै होइन । मेरो ब्रह्मले देखेको विषय उठान मात्र गरेको हुँ । हुन त पत्रपत्रिका गाउँ–गाउँमा समयमा पुग्दैन । एफएम/रेडियोले नै समाचार फुक्ने हो । इन्टरनेटको पहुँच पुगेका ठाउँमा अनलाइन समाचार हेरौंला । तर, अनलाइनभन्दा पनि फेसबुकलगायत सामाजिक सञ्जालमार्फत समाचार थाहा पाउँछन् कि भन्ने लाग्छ । सामाजिक सञ्जाल अनलाइन समाचार प्रयोगका माध्यम बनेका छन् ।
अनलाइन न्युज पोर्टल जसले पायो उसले सञ्चालन गर्ने अवस्था थियो । सूचना विभाग र प्रेस काउन्सिलमा दर्ताको व्यवस्था भयो । विभागको तथ्यांकअनुसार माघमा मात्र २७ वटा दर्ता भए । यो संख्या जम्माजम्मी १ हजार ३ सयभन्दा बढी छ । यो लेख तयार पार्दा विभागका कर्मचारी नवीकरण नभएका र दर्ता दुवै प्रकारका अनलाइनको विवरण तयारीमा रहेछन् । यकिन तथ्यांक आउन एक साता लाग्ने एक कर्मचारीले बताए । प्रेस काउन्सिलमा १ हजार ६ सय ४० भन्दा बढी दर्ता रहेको एक कर्मचारीले सुनाए । उनका अनुसार विस्तृत विवरण मंगलबार सार्वजनिक गरिँदै छ । सरकारले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ जारी गरेको थियो । त्यसमा मन्त्रिपरिषद् बैठकले २०७४ जेठ १९ गते पहिलो संशोधन गरी दर्ता र नवीकरणको व्यवस्था मिलाएको थियो ।
सरकारी निकायमा दर्ता नभई सञ्चालनमा रहेका अनलाइन कति होलान् ? तिनलाई कसरी नियमनको दायरामा ल्याउने ? सरकारले कडाइ गर्न खोज्दा हामी पत्रकार नै विरोधमा उत्रिन्छौं । प्रेस स्वतन्ताका लागि चनाखो त रहनै प¥यो । तर, प्रेस स्वतन्त्रताका नाममा श्रमजीवी पत्रकारका संगठनले ‘मालिक’ का पक्षमा वकालत गरिदिन्छन् र पो त अप्ठेरो ! कसैलाई कार्ड भए पुगी गो ! यस्तो पनि छ । विकृति अनेक छन् । त्यसलाई निमिट्यान्न पारी पत्रकारितालाई दागरहित बनाउन अग्रसरता लिन जरुरी छ । विद्युतीय अपराधमा पत्रकारलाई तान्ने घटना पनि बढिरहेको छ । यो विषय हेर्न विभाग र काउन्सिल छन् । तर, घटना सिधै प्रहरीमा पुग्न थालेको छ ।
पत्रकारितामा निराशा होला, विकृति होला तर यसले राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छर्लंग छ । खासमा सामाजिक परिवर्तनको संवाहक नै सञ्चारमाध्यम हो । तर, त्यसकै गुणगानमा मात्र अल्झिने हो भने पत्रकारिता उँभो लाग्दैन । मन परेकालाई भगवान् र मन नपरेकालाई राक्षस बनाउन रोकिनुपर्छ हाम्रो कलम । पेसागत मर्यादासँगै सामाजिक दायित्व पनि निर्वाह गर्नुपर्छ भन्ने लाग्छ ।
हिजोआज सूचना त फेसबुकबाट आइहाल्छ । अधिकांश निकायले प्रेस विज्ञप्ति इमेलमा पठाइहाल्छन् । कतिपयले त समाचार बनाएर पठाउँछन् । यत्तिले मात्र धानिने पत्रकारिताको तुक छैन । खासमा अनलाइन पत्रकारिता चुनौतीका बीच अघि बढ्दै छ । अनलाइन जति अघि बढ्छ छापालाई उत्तिकै चुनौती थपिन्छ । त्यही भएर हाम्रा ब्रोडसिट दैनिकहरूले अनलाइन संस्करणलाई महत्व दिन थालिसकेका छन् । तर, पत्रिकाकै समाचारलाई महत्व दिएर सञ्चालित छन् ब्रोडसिटका अनलाइन । पत्रकार खेम भण्डारीले पुलेसो डटकम चलाउँदै गर्दा अनलाइनमा प्रकाशित समाचार छाप्ने दैनिक पत्रिका प्रकाशन गर्ने सोच सुनाएको सम्झन्छु । त्यसो त पाठकले पुलेसोलाई चाँडै माया गर्न थालेका थिए । अलेक्सा ¥याङकिङमा ५० को सूचीमा अटाइसकेको थियो । तर, हाम्रो टिमले निरन्तरता पाउन सकेन । खेम सर सुदूरपश्चिम फर्किनुभयो । म छापातिरै फर्किएँ । नयाँ–नयाँ अनलाइन खुलिरहेका छन् । अग्रज पत्रकारले नै यसमा हात हालेका छन् । पेसामा ‘ब्रान्ड’ बनिसकेकाहरू अग्रसर हुँदा त्यसले चाँडै विश्वास आर्जन गर्दो रहेछ । नयाँसँग हतपत विश्वास गरिहाल्दैनन् । जहाँसम्म इलामको सन्दर्भ छ, नयाँ बुलन्द डटकम लगायत अनलाइन धानिरहेको देख्दा खुसी लाग्छ । प्रगति होस् शुभकामना ।