हे बाहुन तिमी कस्तो बाहुन ? (कविता)

  रचना विश्वकर्मा
0 Shares

रचना विश्वकर्मा

हे बाहुन तिमि कस्तो बाहुन ?

बिहानैदेखि भट्टीमा धाउने

झ्याप्प नभएको रातै नहुने

धोक्ने बेला तिम्रो जात नजाने

अनि उपनाम चै दलितको हुने

हे बाहुन तिमी कस्तो बाहुन ?

 

दलितले पालेको खसी चाँही चल्ने

पकाएको नचल्ने तिमिलाई

खाने बेला सोध्छौ कसले बनाएको ?

फेरि किन सोच्दैनौं कुन जातिले पालेको ?

उपनाम आफै दिन्छौ फेरि

दलितको जस्तो खुवाई भो भनेर

उपनाम आफै दिन्छौ

हे बाहुन तिमी कस्तो बाहुन ?

 

भैंसीको म:म छोयलाले भाग पुग्दैन तिमीलाई

भट्टीमा रक्सीको माग पुग्दैन तिमीलाई

दलितले पालेको अनि दलितकै दिसा खाई हुर्केको

सुँगुर नि स्वादले पचाउँछौ

फेरि दलितले छोएको पानी नचल्ने तिमीलाई

हे बाहुन तिमी कस्तो बाहुन ?

 

जनै लाउँछौ, गीता भागवत पढ्छौ

चोरिएको वेदको मन्त्र नि जप्छौ

दलितले नै सिएको बस्त्र लाउँछौ

खुब शुद्ध ठान्छौ आफैंलाई

हे बाहुन तिमी कस्तो बाहुन ?

 

अस्पतालमा तिमीलाई सलामपानी चल्छ

दलितले दिएको रगत नि चल्छ

भट्टीमा पिउने तीनपाने नि चल्छ

दलितले छोएको पानी नचल्ने तिमिलाई

अन्तरजातीय बिहे गर्दा एक लाख नि चाहिने तिमीलाई

तर उही दलितको छोरीलाइ घर भित्र्याउन नसक्ने

हे बाहुन तिमी कस्तो कायर बाहुन ?

हे बाहुन तिमी कस्तो लाछी बाहुन ?

 

जवानी नशामा न देख्छौ काली, नेप्टी

न भन्छौ लुलो लङग्डो ?

न देख्छौ सानो ठुलो जात

मेट्न पाए पुग्छ तिम्लाई यौवनको प्यास

बिहे गर्दा चाँही मिलाउन पर्ने रे

रुप, रङ,गोत्र अनि जात

हे बाहुन तिमी कस्तो भद्र बाहुन ?

 

 

यौवन चल्छ बिहे चल्दैन तिमीलाई

भाँडो चल्छ भान्सा चल्दैन तिमीलाई

दलितले नै बनाएको दियो चल्छ पुजा चल्दैन तिमीलाई

धारो चल्छ पानी चल्दैन तिमीलाई

उही दलितले नै बनाएको सुन चल्छ

तर, दलितले छोएको धारो (पानी) भन्दै

उही सुनपानीले चोख्याउँछौं

हे बाहुन तिमी कत्ति छुत ठान्छौ आफैलाई

कि,जहाँ छुत भनौदाहरुले

दलिएका, हेपिएका, थिचिएका मिचिएकालाई

राज्यले सम्मान स्वरुप दिएको दलितको

संज्ञालाई तिमी भने हिन्दु वर्नाश्रम अनुसार

छुट्याएको दलित शब्दलाइ नै अछुत भनी बुज्छौ

हे बाहुन तिमि कस्तो ज्ञानी बाहुन ?

हे बाहुन तिमि कस्तो बाहुन ?

 

सिन्धुपाल्चोक चौतारा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार