‘बाजे, सबै तन्त्र ठूलाठूला घरमा पहिला आउँछ हो ?
त्यसका नेताको सानो घर भए पनि छिटै ठूलै भैहाल्छ हो ?
किन सबै तन्त्रहरु पहिला जिम्वाल बाको मा आउँछ ?
अनि हाम्रो पालिमा खोसेलामाथि सुतेर चुँङ्गेमा ‘तु’ गरेर तपाँइलाई फ्याक्न लगाउने,
पुलिस आउँदा हजुरआमाको गुन्यू लगाएर पँधेरी जाने मान्छे
आज ठूला मान्छे भएका छन् रे हो ?
दरबारमा बस्छन् र टोपी खस्ने महलमा सुत्छन् रे, हो ?
अनि चिल्ला चिल्ला मोटरमा कुद्छन् रे,
तपार्इंलाई चिन्दैनन् रे, हो ?
अनि तपाईं चैं त्यस्तो नेता भई हराभरा नभएर
किन सेल्टरबा मात्र भएर सधैं सर्बहारा भएको त ?’
लामो सास फेर्दै सेल्टरबा भन्छन्–
‘सानो फूल टिपेर ठूलो पिपल पूजिन्छ नाति–यो स्वार्थी दुनियाँमा
झुपडीलाई महल बनाउने नै सपना देखाउछन् जहिले पनि
‘जय–नेपाल’ भन्नेहरु, ‘लाल–सलाम’ भन्नेहरु, ‘खण्ड–खण्ड’ भन्नेहरु,
‘अखण्ड’ भन्नेहरु अनि श्रीपेच लाउनेहरु,
तर यथार्थ,
शहीदका बाबुको कात्रो किन्ने पैसा नहुँदा सामन्तीका चिताभरि झण्डा ओढाइन्छ
झुपडीमा उज्यालो बिहानी ल्याउन शहीदले बलिदान गरे
तर,
बिहानी त्यही घरमा गएर पस्यो नाति
जहाँ चैते चिल्ला मान्छे अनि कुरा पनि चिल्ला थिए
जसले छेपारो झैं रङ्ग बदल्न सक्यो ।’
सेल्टर बाको चुनाबको विजय जुलुसको दिन धेरै चित्त दुखेको छ
जुन दिन सबैको खुसीको दिन उनको इतिहास मरेको थियो ।
अध्यक्षले आसनग्रहणमा सेल्टर बहादुर शेर्मा भनिदिए उनलाई
उनको ‘सेल्टरबा’ को नाम गुच्चा खेलेर आएको हैन,
फेदङ्गमा ले कुनै ज्योतिषीले राखिदिको पनि हैन,
अमर क्रान्तिले राखिदिएको हो ।
जुन नाम हिजोसम्म ‘जिउदो शहीद’ थियो ।
आज त्यो नाम इतिहासबिनाको, क्रान्तिबिनाको फोस्रो नाम भइदियो ।
उनी नाममा परिर्वतन हैन,
जनजीवनमा परिर्वतन चाहन्थे
सेल्टर बा
तप्प तप्प आँशु झार्दै भन्छन्
‘सधंै नयाँ बोत्तल, पुरानो रक्सी
यसैमा छ नेपालका नेताको लोकतान्त्रिक
रस्सा कस्सी ।
यसैगरी भइरहेछ योद्धाहरुको अपमान
अनि बेइमानहरुको आगमन
तर अझै पनि आश मरेको छैन
म यस्तो सन्तान खोज्दै छु नाति अब,
जसले आज नेपालको नाम लिएर गर्व गरोस्
अनि,
भोलि उसको नाम लिएर सिङ्गै नेपालले गर्व गरोस् ।’
खेमराज अधिकारी
इलाम



















































