सिर्जनशील अराजक कवि ‘हाङयुग अज्ञात’ को एकल कविता वाचन हुँदै

इलाम : सिर्जनशील अराजकका अभियान्ता चर्चित कवि हाङयुग अज्ञातको एकल कविता वाचन कार्यक्रम शुक्रबार इलाम सदरमुकाममा हुँदैछ ।

फरक आयामको आयोजनामा दिउँसो १ बजेपछि अज्ञातको एकल कवविता वाचन हुने आयोजकले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक फरक आयामले जानकारी दिएको छ । कार्यक्रममा कवि हाङयुग अज्ञातका तीन दर्जनभन्दा बढी कविता वाचन हुने आयोजक फरक आयामले जनाएको छ ।

चर्चित रङ्गवादी कवि धर्मेन्द्र नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ कविता कृतिको विमर्श पश्चात कवि अज्ञातको कविता वाचन कार्यक्रम सुरु हुने फरक आयामका अर्जुन योङहाङले जानकारी दिए । कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द अनलाइन टिभिबाट हुनेछ ।

विगत लामो समयदेखि हङकङमा रही नेपाली कविता सिर्जनारत कवि हाङयुग अज्ञात विगत केही महिनादेखि गृहजिल्ला इलाममा रहेर साहित्यिक क्षेत्रमा क्रियाशील छ ।

उपन्यासकार राजन मुकारुङ र कथाकार उपेन्द्र सुब्बासँगै ‘सिर्जनशील अराजकता’ आन्दोलनमा कवि अज्ञात पनि सक्रियताका साथ लागेका छन् ।

कवि अज्ञातका ‘रंगीत आविष्कार’, ‘ढुंगामुढाको मन’, ‘करङको हिरासत’ लगायत सातवटा कविता कृति प्रकाशित छन् ।

कवि हाङयुग अज्ञात पचासको दशकको उत्तरार्धदेखि नेपाली कवितामा प्रवेश गरेका प्रयोगशील कवि हुन् । राजन मुकारुङ, उपेन्द्र सुब्बा र उनी मिलेर नश्लबोधसहितका प्रयोगात्मक कविता लेखनलाई नेपाली साहित्यमा गति दिएका छन् । अज्ञातले मूलतः उत्तरआधुनिक चिन्तनअनुसार काव्यविम्बमा सांस्कृतिक मिथकहरूको प्रयोग गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार