
इलाम : चर्चित कवि धर्मेन्द्र नेम्वाङको कविता कृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ माथि शुक्रबार विमर्श हुँदैछ ।
फरक आयामको आयोजनामा इलाम सदरमुकाममा दिउँसो १ बजेदेखि नेम्बाङको कृतिमाथि विमर्श हुने आयोजकले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक फरक आयामले जानकारी दिएको छ ।
फरक आयामका अभियान्ता कवि जितेन मुस्कानले सहजीकरण गर्ने कार्यक्रमको वक्ताहरु कवि प्रकाश थाम्सुहाङ तथा साहित्यकारहरु डा. देवी क्षेत्री दुलाल र साहित्यकार कृष्ण बराल रहेका छन् ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द अनलाइन टिभिबाट हुनेछ ।
कवि नेम्वाङ रंगवादी साहित्यका एक अभियन्ता मानिन्छन् । कवि धर्मेन्द्र नेम्वाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ कविता कृति केही समय अघि काठमाडौंमा सार्वजनिक भएको थियो । सो कविता संग्रहमा कवि धर्मेन्द्रका नयाँ र पुराना गरेर कुल ३९ कविताहरु समावेश छन् ।
नेम्बाङको कविता कृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ लाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो । उनका रातो बाघ, सामान्य बहुरंगवादः एउटा ट्राभलिङ फिलोसोफीको परिकल्पना, युवा विचार युवा नेपालः आमूल परिवर्तनको एक अवधारणा आदि कृति प्रकाशित छन् ।


















































