घरघरमा पुगेर जेष्ठ नागरिकको उपचार

सुनसरी : बराहक्षेत्र नगरपालिकाले घरघरमा पुगेर जेष्ठ नागरिकको उपचार गर्दै आएको छ । नगरपालिकाले जेष्ठ नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि सो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख उमेश मेहेताका अनुसार पालिकाले गत आर्थिक वर्षदेखि नै सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । पाका उमेरका व्यक्तिको स्वास्थ्यमा समस्या हुँदा स्वास्थ्य संस्था जान नसक्ने भएकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको मेहेताले बताए ।

नगरपालिकाको स्वास्थ्यकर्मीसहितको टोली घरघरमा गएर जेष्ठ नागरिकको ज्वरो, प्रेसर तथा सुगरलगायत विभिन्न रोगको परीक्षण गर्ने गरेको उनले सुनाए । उपचार पश्चात आवश्यक औषधि वितरणसमेत गरिने उनको भनाइ छ ।

‘औषधिसहित स्वाथ्यकर्मीको टोली जेष्ठ नागरिकको घर घरमा जान्छौँ,’ उनले भने, ‘स्वास्थ्य परीक्षणपश्चात आवश्यक औषधि वितरण गर्छौँ ।’ पालिकासँग उपलब्ध भएको औषधि निःशुल्क वितरण गर्ने उनले पालिकाखबरलाई बताए ।

घरदैलो कार्यक्रममार्फत उपचार हुने सम्भव नभएमा स्वास्थ्य संस्थामा रिफर गरिने उनले सुनाए । कार्यक्रम सञ्चालन भएसँगै स्थानीय बासिन्दाको स्वास्थ्य उपचारमा सहज भएको उनले बताए । सो कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा सात लाख रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ ।

नगरपालिकाले घरदैलो स्वास्थ्य सेवासँगै सुत्केरी महिलालाई यातायात खर्च वितरण गर्दै आएको छ । स्वास्थ्य संस्थासम्म डेलिभरी गर्ने महिलालाई यातायात खर्चबापत् दुई हजार ५०० रुपैयाँ वितरण गर्दै आएको उनले बताए ।

‘संघीय सरकारले दिनेभन्दा दुई हजार ५०० रुपैयाँ थप गरी यातायात खर्च उपलब्ध गराउँदै आएका छौँ,’ उनले भने । पालिकाभित्र सुत्केरी हुन नसक्नेलाई एम्बुलेन्समार्फत अन्य अस्पतालमा पठाउनसमेत पालिकाले सहयोग गरिरहेको उनले जानकारी दिए । उनका अनुसार नगरपालिका क्षेत्रमा १३ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् ।

-पालिका खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार