इलाम : इलाममा पनि दादुरा-रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । चैत २ गतेसम्म सञ्चालन हुने अभियानको इलाम अस्पतालमा आइतबार एक औपचारिक कार्यक्रम गरी सुभारम्भ गरिएको छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले अभियानको सुभारम्भ गरे । सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख राईल खोप अभियानमा कोही पनि छुट्न नहुने भन्दै अनिवार्य रुपमा खोप लगाई दादुरा-रुबेला निवारणका लागि योगदान गर्न जिल्लाबासीलाई आग्रह गरे ।
इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू (दाहाल) को अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख आदित्य शाक्य, इलाम अस्पतालका प्रमुख डा. प्रभु शाह, इलाम नगरपालिकाका प्रमुख प्रशाकसीय अधिकृत गणेशकुमार खड्का, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरीबहादुर थापासहित सञ्चारकर्मीहरुको उपस्थितिमा अभियानको सुभारम्भ गरिएको हो ।
इलाममा पौने १७ हजार सात सय २२ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । ९ महिनादेखि ५ वर्षमुनि उमेर समूहका बालबालिकालाई चैत २ गतेसम्म दादुरा-रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख शाक्यले जानकारी दिए ।
खोप अभियानका लागि जिल्लाभर ९३ स्वास्थ्य संस्थाका चार सय २४ खोप तीन सय जना स्वास्थ्यकर्मी र आठ सय ४८ जना स्वयमसेवक परिचालन गरिएको शाक्यले बताए ।
‘जिल्लाका ८१ वटै वडामा तोकिएको खोप केन्द्रमार्फत दादुरा-रुबेला विरुद्धको खोप लगाउन थालिएको छ,’ कार्यालय प्रमुख शाक्यले भने, ‘सरकारको दादुरा-रुबेला निवारण गर्ने लक्ष्य पूरा गराउन यो अभियान सफल बनाउन हामी सबै पक्षको भूमिका महत्वपूणर् हुनेछ ।’
यही अभियाका क्रममा ९ महिनादेखि ५ वर्षमुनिका नियमित खोप लगाउन छुट बालबालिकालाई समेत खोप लगाइने भएकाले खोप कार्ड लिएर तोकिएको खोप केन्द्रमा आउन आग्रह गरिएको उनले बताए ।
सरकारले सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्ने लक्ष्य लिएको खोप अभियानका फोकल पर्सन गंगाधर पण्डितले बताए । बालबालिकालाई पूणर् खोप नलगाउँदा बेलाबेलामा दादुरा-रुबेला महामारीका रुपमा देखा पर्दै आएकाले लक्ष्य हासिल गर्न चुनौती भने अझै रहेको उनको भनाई छ ।
सरकारले देशभर दादुरा-रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिहरेको छ । दादुरा-रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पहिलो प्राथमिकतामा राखेर गत फागुन १३ देखि आगामी चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । दादुरा-रुबेला सबैभन्दा बढी सङ्क्रमण रोग भएको तथा यो रोग लागेका एक बिरामीले १८ जनासम्मलाई सार्न सक्ने बताइएको छ ।