१९६ जना महिलाले लिए निःशुल्क स्वास्थ्य शिविर मार्फत उपचार सेवा

  युद्धबहादुर बोहोरा
231 Shares

घुर्बिसे पञ्चमीः फाल्गुनन्द गाउँपालिकामा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । गाउँपालिका र स्वास्थ्य कार्यालय पाँचथरको संयुक्त आयोजनामा शिविर संचालन गरेको हो । शिविरमा १९६ जना महिलाले स्वाथ्य परीक्षण गराउनुका साथै उपचार तथा परामर्श लिएका छन् ।

टाढा गएर आफ्नो समस्याको उचार गर्न नपाएका ग्रामीण क्षेत्रका महिलाहरुलाई घरपायक सेवा दिने उदेश्यले पालिकामा शुक्रबार एक दिने स्वास्थ्य शिविर संचालन गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । दुर्गम भेगका अधिकांश महिलाहरुले सामाजिक कारणले आफ्नो समस्या खुलेर व्यक्त गर्न नसक्दा रोग लुक्ने र भविष्यमा जटिल बन्ने भएकाले महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविरको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्वाङले बताए ।

शिविरमा प्रजनन स्वास्थ्य समस्या,पाठेघरको मुखको क्यान्सर स्कृनिङ (भिआईए टेष्ट),आङ खस्ने समस्या,परिवार नियोजन ,सेतोपानी बग्ने,स्तन क्यान्सर,दिशापिसाव चुहिने सम्बन्धी रोगको परीक्षण गरिनुका साथै औषधी वितरणसमेत गरिएको पालिका स्वास्थ्य सह-संयोजक लक्ष्मी देवी श्रेष्ठले जानकारी दिइन् । बेलैमा उनीहरको स्वास्थ्य परीक्षण गर्दा समस्या न्युनीकरण हुने भएकाले आगामी दिनमा पनि आवश्यकता अनुसार शिविर संचालन गरिने पालिका स्वास्थ्य शाखा प्रमुख बेचन मण्डलले बताए ।

स्वास्थ्य चौकी फाक्तेपमा सम्पन्न भएको स्वास्थ्य शिविरमा छिमेकी जिल्ला इलामको फाकफोकथुम र फाल्गुनन्द ४ र ५ नम्बर वडा साथै  घुर्बिसे पञ्चमी बजारबसीले लिएको सेवामा १८ वर्षदेखि ७० माथिका बृद्धहरु पनि सहभागीता थिए । प्राविधिक टिममा जिल्ला अस्पताल पाँचथरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर  बुद्धि बहादुर थापा,स्थानीय क्षेत्रका डा.उपेन्द्र पोख्रेल,आयोजक स्वास्थ्य कार्यालय पाँचथरका फोकल पर्सन राजेश मिश्र,पालिकाका स्वास्थ्यकर्मी, कर्मचारीसहितको

टोलीले दिएको सेवामा पालिकाले अपेक्षा गरे भन्दा पनि बढी सेवाग्राहीले सेवा लिएको पालिका स्वास्थ्य सह-संयोजक बालकृष्ण दाहालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार