सिद्ध सरस्वती आविमा ‘स्व.टंक प्रसाद स्मृति अक्षयकोष’ स्थापनासंगै शैक्षिक सामाग्री हस्तान्तरण

  युद्धबहादुर बोहोरा
112 Shares

पाचँथरः फागुनन्द गाउँपालिका ५ नाङ्देरास्थित सिद्ध सरस्वती आधारभूत विद्यालयमा स्व.टंकप्रसाद गर्तौलाको स्मृतिमा दुईलाख एक हजार रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । उनका छोराहरु समाजसेवी दुर्गा प्रसाद, केशवराज र राजन गर्तोलाद्वारा एक कार्यक्रमका बीच विद्यालयलाई रकम हस्तान्तरण गरेको विद्यालयका शिक्षक नवीन आचार्यले जानकारी दिए ।

२०१३ सालमा स्थापना भएको वडाको सबै भन्दा जेठो विद्यालयको शैक्षिक उन्नतीमा सहयोग पुर्याउने उदेश्यले यस स्कुलमा लामो समय शिक्षण पेश पश्चात अवकाश भइ विगत दुई वर्ष अघि निधन भएका स्व. गर्तौलाको नाममा अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ । अक्षयकोषसंगै साना सहयोग समुह नेपालका अध्यक्ष समेत रहेका जेठा छोरा दुर्गा र भाई केशवराजले विद्यालयका २० जना बालवालिकालाई स्कुल पोशाक ,व्याग वितरण तथा अन्य शैक्षिक सामाग्री प्रदान गरिएको प्रधानध्यापक भीम कुमारी सम्बाहाम्फेले बताइन् । झापाको दमकमा २०७४ सालमा स्थापना भएको यस संस्थाले ग्रामीण भेगमा रहेका साना कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ । हालसम्म ४८ वटा विद्यालयमा सामाग्री वितरण गरेको अध्यक्ष गर्तौलाले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर चेम्जोङ अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ५ नम्बर वडाध्यक्ष बिष्णुकुमार चेम्जोङको उपस्थिति रहेको थियो । जनकल्याण मावि कोल्बुङका प्रधानध्यापक पूर्ण कुमार सदेम्बा,स्थानीय समाजसेवी बलीराज नेम्बाङ,पूर्वशिक्षक डिगम्वीर नेम्वाङ साथै यसै विद्यालयका पूर्व प्रधानध्यापक कविन्द्र नेम्बाङले अक्षयकोष दाता परिवारलाई धन्यवाद दिए ।

१-५ कक्षासम्म पठनपाठन हुने यस विद्यालयमा ४ र ५ कक्षाका विद्यार्थी नभएकाले हाल १-३ मात्रै संचालनमा आएको छ । दुई जना स्थायी शिक्षक,एक भाषा शिक्षक र एक जना बालविकासको शिक्षक गरी जम्मा चार जना रहेको विद्यालयमा विद्यार्थीलाई निरन्तर विद्यालय आने वातावरण बनाइदिन अभिभावक समक्ष अतिथिहरुले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार