राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको धरौटी जफत

  नयाँ बुलन्द
483 Shares

इलाम : इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा १६ जना उम्मेद्वारको जमानत जफत भएको छ । मङ्गलबार विहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूसहित १६ उम्मेद्वारको जमानत जफत भएको हो ।

निर्वाचनमा मतदान गरिएको जम्मा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेद्वारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मत मात्र पाएका थिए ।

जमानत जफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टिका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली रहेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार सुहाङ नेम्बाङ निर्वाचित हुनुभएको छ भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्का र पहिचानवादी स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले भने जमातन जोगाएका छन् । निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउन पर्ने कानुनी व्यवस्था ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेद्वारको धरौटी जफत हुनेछ’ भन्ने उल्लेख गरिएको छ । तर निर्वाचित उम्मेद्वारहरुको हकमा भने व्यवस्था लागू नहुने ऐनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार