इलाम : इलामको सूर्योदय नगरपालिकाले ‘नगरको इच्छा, छोरी-बुहारीलाई शिक्षा’ कार्यक्रम अन्तरगत १५ जना छोरी-बुहारीलाई सय दिनको रोजगारी उपलब्ध गराएको छ । कार्यक्रम अन्तरगत नगरपालिकाको छात्रवृत्तिमा स्नातक तह उत्तीणर् गरेका २७ मध्ये १५ जनाले रोजगारीका लागि आवेदन दिएका थिए । आवेदन दिएका सबैलाई रोजगारीमा संलग्न गराईएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए ।
‘छात्रवृत्तिमा स्नातक तह उत्तीणर् हुनुभएका १५ जना छोरी-बुहारीलाई हामीले सय दिनका लागि काममा खट्ने गरी पठाएका छौं, उहाँहरुले तोकिएको क्षेत्रमा सय दिन काम गर्नुहुन्छ, काम गरेबापत हामी पारिश्रमिक उपलब्ध गराउनेछौं’ नगरप्रमुख राईले भने, ‘स्नातक तह उत्तीणर् महिलालाई प्रोत्साहन गर्न छोटो समयका लागि भएपनि रोजगारी दिएका हौं ।’
सूर्योदय नगरपालिकाले विद्यार्थीले पढेको सङ्काय, विषय र योग्यताको आधारमा विभिन्न काममा रोजगारी दिएको छ । दुई जनालाई वडा कार्यालयमा, एक जनालाई नगर शिक्षा, युवा तथा खेलकुद शाखामा, एक जनालाई प्रशुति तथा बाल क्लिनिकमा र बाँकी ११ जनालाई विभिन्न विद्यालयमा खटाइएको नगरपालिकाले जनाएको छ । उनीहरुले स्वयमसेवी शिक्षकले पाउने सहरको सुविधा मासिक रु १८ हजार पाउनेछन् ।
सूर्योदयले नगरभित्रका छोरी-बुहारीलाई स्नातक तह पढ्न शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराई स्नातक उत्तीणर् भएपछि सय दिनको रोजगारी दिने कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यविधि बमोजिम सूर्योदयले हालसम्म एक सय ९३ जना छोरी-बुहारीलाई स्नातक तह पढ्न शतप्रतिशत छात्रवृत्ति दिइएको छ । स्थानीय करफोक क्याम्पसमा स्नातक तह अध्ययन गर्नका लागि सूर्योदयले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । गत वर्षसम्म एक सय ५३ जना छोरी-बुहारीलाई छात्रवृत्ति उपलब्ध गराएको सूर्योदयले यसवर्ष थप ४० जनालाई छात्रवृत्ति उपलब्ध गराएको हो ।
पहिलो चर०मा छात्रवृत्ति पाएका ४० मध्ये २७ जनाले स्नातक तह उत्तीणर् गरी रोजगारीको समेत अवसर पाएका हुन् । ‘यसअघि एक सय ५३ जनालाई छात्रवृत्ति दिएका थियौं । पहिलो लटको ४० मध्ये २७ जनाले स्नातक उत्तीणर् गरी इच्छुक १५ जनालाई सय दिनको रोजगारी नै दिएका छौं’ नगरप्रमुख राईले भने, ‘यस वर्षदेखि अध्यध्यन गर्नेगरी ४० जनाका लागि क्याम्पससँग सम्झौता भएको छ । उहाँहरुका लागि स्नातक तह अध्ययन गर्दा लाग्ने सबै खर्च नगरपालिकाले व्यहोर्नेछ ।’ विहे भएर घर आएपछि पनि बुहारीलाई पढाउनुपर्छ भन्ने सोच सबैमा विकास गर्न कार्यक्रम कार्यान्वयन गरिएको प्रमुख राईको भनाइ छ ।
नगरपालिकाबाट छात्रवृत्ति पाएका छोरी-बुहारीहरुले करफोक क्याम्पसमा बिबिए, बिबिएच, बिएड र बिए अध्ययन गरिरहेका छन् । छात्रवृत्तिमा अध्ययन गर्न पाउने र थप सय दिनको रोजगारी पनि पाउन थालेपछि छात्राहरुलाई पढ्नका लागि थप प्रोत्साहन मिलेको करफोक क्याम्पसका प्रमुख गोपाल कट्टेलले बताए ।