दुई पालिका पूर्णखोप सुनिश्चितता एकैदिन, पाँचथर जिल्लालाई चैत २५ गते घोषणा गरिन्दै

  युद्धबहादुर बोहोरा
63 Shares

पाँचथरः एक नगरपालिकासहित आठ वटा स्थानीयतह रहेको पाँचथर जिल्ला चैत २५ गते पूर्णखोप सुनिश्चितता घोषणा हुने भएको छ ।  सबै पालिकाको प्रकृया पुगेको र चैत २५ गते घोषणा गरिने  स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेज बहादुर तुम्बापोले जानकारी दिए । कोशी प्रदेशकै पहिलो घोषणा गरिएको पाँचथरको हिलिहाङ गाउँपालिका रहेको छ भने अन्य पालिका अन्तिम चरणमा पुगेका छन् । शुक्रबार एकैदिन पाँचथरको दक्षिणी क्षेत्रमा रहेका फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरिएसंगै जिल्लाको तयारी गरिएको उनले बताए ।

यसै क्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक रामराज आङ्देम्बेको प्रमुख आतिथ्यता र स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तुम्बापोको उपस्थितिमा फाल्गुनन्द गाउँपालिकालाई  पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

फाल्गुनन्द गाउँपालिका भित्रका छ वटा स्वास्थ्य संस्थाबाट २५ वटा खोप केन्द्र मार्फत १५ महिना मुनिका ३८३ जना र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार १६१ जनालाई खोप लगाइएको तथ्याङ्क पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले प्रस्तुत गरेका छन् । २१ हजार ५२३ जना जनसंख्या रहेको यस पालिकामा पाँच हजार ५२३ घरघुरी रहेको र पूर्ण खोप प्राप्त शतप्रतिशत रहेको पालिका स्तरीय  खोप समन्वय समितिका संयोजक एवं पालिका अध्यक्ष आङ्देम्बेले घोषणा पत्र प्रस्तुत गरेका थिए ।

घोषणा कार्यक्रममा पूर्णखोपको अवस्था निरन्तर कायम होस् भन्ने अपेक्षा साथ पालिका अध्यक्ष आङ्देम्बे,उपाध्यक्ष ठाकुर सिं नेम्बाङ र प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकलाई स-धन्यवादसहित स्वास्थ्य कार्यालायका प्रमुख तुम्बापो र प्रमुख अतिथि आङदेम्बेले प्रमाणपत्र हस्तान्तरण गरेको पालिका स्वास्थ्य शाखा प्रमुख बेचन मण्डलले जानकारी दिए । पालिका भित्रका स्वास्थ्य संस्थाका कर्मचारी र महिला स्वास्थ्य स्वयं सेविकालाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

पालिकामा छ वटा स्वास्थ्य चौकी,एक आधारभूत स्वास्थ्य केन्द्र, दुई वटा सामुदायिक स्वास्थ्य एकाइ,दुई वटा आयुर्वेदिक औषधालय,एक सामुदायिक स्वास्थ्य ईकाइमा आयुर्वेद सेवा संचालन तथा चार वटा वडामा नागरिक आरोग्य क्लिनिक(गाउँघर क्लिनिक)संचालनमा रहेको छ । यस पालिककाले आयुर्वेद तथा अन्य स्वास्थ्य शिविर,खोप कार्यक्रममा नियमित रुपमा सरसफाई प्रवर्धन कार्यक्रम गर्दै आएको छ । पालिकाले खोप कार्यक्रमसंगै अभिभावकहरुको पनि स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै विभिन्न प्रकारका निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको  प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले बताए ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ‘स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ सरकारले १४ वटा सरुवा रोगहरु विरुद्ध खोप प्रदान गरेर भविष्यमा लाग्न सक्ने रोगबाट बचाउनका लागि बच्चालाई विभिन्न किसिमका खोप उपलब्ध गराएको छ ।

यसअघि २०७४ साल जेठ २७ गते पूर्णखोप सुनिश्चितता घोषणा गरिएको यस जिल्लामा खोप संचालन निरन्तरता भइरहेता पनि घोषणा भने भएको थिएन । गतसाल मात्रै छ वर्षपछि पुनःपूर्णखोप सुनिश्चितता घोषणा भए पश्चात् निरन्तर गर्न थालिएको हो ।पालिका स्वास्थ्य शाखा सहसंयोजक  बालकृष्ण दाहालले कार्यक्रम संचालक गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार